
‘गुरुत्वाकर्षण शून्य भएको स्थान
अन्तरिक्षमा सलाई कोर्दा कसरी बल्छ?’
‘अन्तरिक्षयात्री बिरामी पर्छन् कि पर्दैनन्?’
‘काठमाडौंमा केही घन्टामै कपडा फोहर हुन्छ? तपाईं कति दिनमा लुगा धुनुहुन्छ?
‘उत्तरी र दक्षिणी ध्रुवतिर सूर्यको किरण पर्दाको पृथ्वीको दृश्य अति सुन्दर देखिन्छ,’ टिमोथीले जवाफ दिए, ‘पृथ्वीबाटै बिरामी भएर गए मात्र, अन्तरिक्ष यात्रामा कोही बिरामी पर्दैनन्।’
पृथ्वीबाट करिब ४ सय ५ किलोमिटरमाथि रहेको अन्तरिक्षकेन्द्रबाट उनको जवाफ तुरुन्तै बृहस्पतिका विद्यार्थीका कानमा परिहाल्थे।
‘यहाँ फोहर हुँदैन, एक सातासम्म एउटै कपडा लगाउँछौं, त्यसपछि फालिदिन्छौं,’ टिमोथीले अर्काे प्रश्नको जवाफ दिए, ‘पृथ्वीमा जस्तो गुरुत्वाकर्षण नभए पनि यहाँ सूक्ष्म गुरुत्वाकर्षण भने हुन्छ। सलाई कोर्दा पृथ्वीमा जस्तो ज्वाला माथितिर फर्केर बल्दैन, सूर्यजस्तो गोलो गरी ज्वाला फैलन्छ।’
नेपालमा पहिलोपटक आयोजना गरिएको अन्तरिक्षकेन्द्र– विद्यार्थी सीधा संवादमा विद्यार्थी उत्सुकता राखिरहेका थिए टिमोथीलाई।
नेपालबाट अस्ट्रेलियामा टेलिफोन र त्यहाँबाट एमेच्योर रेडियोमार्फत अन्तरिक्षयात्री समूहसँग सम्पर्क गराउने चाँजापाँजो मिलाएको थियो नासाले। यस्तो प्रविधिलाई ‘टेलिब्रिज कन्ट्याक्ट’ भनिन्छ। केन्द्रमा अहिले दुई अमेरिकी, दुई रुसी, एक बेलायती र एक युक्रेनी वैज्ञानिक छन्।
अन्तरिक्षयात्रीसँग कुरा गर्न २४ विद्यार्थीले तयारी गरे पनि निर्धारित १० मिनेटमा १७ जनाले आफ्ना प्रश्न सोधेका थिए। ठीक १० मिनेटमा अन्तर्राष्ट्रिय केन्द्रसँग सम्पर्क टुट्यो, जिज्ञासा राख्न तम्तयार मिमांशा ढुंगेलले भ्याइनन्।
‘अब कुरा गरौंभन्दा पाइने होइन, ऐतिहासिक अवसर थियो, भ्याइनँ,’ ढुंगेलले भनिन्, ‘साथीहरुले सोध्न पाए, त्यसैमा खुसी छु।’
एक सेकेन्डमा ७.८ किलोमिटर यात्रा गर्ने अन्तरिक्षकेन्द्रमा रेडियो वेब एन्टेनाले भेट्न छाडेपछि अन्तरिक्षयात्री पिकसँगको सम्पर्क टुटेको थियो ।
‘अन्तरिक्षकेन्द्र क्षितिजलाई काटेर पृथ्वीको अर्को भागतिर लागेपछि सम्पर्क टुट्यो,’ कार्यक्रमको संयोजन गरेका बृहस्पतिका निर्देशक प्रवीणराज जोशीले भने ।
अन्तरिक्ष केन्द्र अस्टेलियाको ब्रिजटाउनमाथि पुगेपछि सम्पर्क सुरु भएको थियो । नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया