काठमाडौं, ३२ असार । पहिलो संविधानसभामा सदस्य र आठौं पार्टी महाधिवेशनमा पार्टी अध्यक्षमा पराजय भएपछिको प्रतिकूल राजनीतिक र स्वास्थ्य अवस्थाका बाबजुद केपी शर्मा ओलीले आफूलाई राजनीतिक मूलधारमा स्थापित गरेका छन्। एमाओवादीसँग निरन्तर संघर्षमा जोड दिँदै आएकैले ओलीको फरक पहिचान बन्यो। प्रमुख राजनीतिक दलबीच हुने वार्तामा उनी निर्णायक बन्दै गए।
पहिलो संविधानसभा बिनासंविधान विघटन भएपछि गरिएको दोस्रो संविधानसभा निर्वाचनमा ओली विजयी भए। त्यसयता उनले एकपछि अर्को सफलता पाउँदै आएका छन्। दोस्रो संविधानसभामा उनी तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै संसदीय दल नेता भए। नवौं महाविधेशनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै पार्टी अध्यक्ष भएका छन्।
पार्टीभित्र फरक धार र समीकरण मिलाएकैले ओलीले सफलता प्राप्त गर्दै गएको नेताहरूको भनाइ छ। ‘दाउपेचको समकालीन राजनीतिमा समेत आफ्नो अडानमा ओली सधं डटेर लाग्नुभयो,’ एमालेका युवा नेता रवीन्द्र अधिकारीले भने, ‘झापा संघर्षका बेलादेखि नै ओलीले उग्रवामपन्थको विरोध गर्दै आउनुभएको हो।’
ओलीको राजनीतिक इतिहास झापा विद्रोहसँग जोडिएको छ। २०२७ सालमा वर्गशत्रु समाप्त गर्ने भन्दै सुरु गरिएको त्यस विद्रोहलाई सरकारले चर्को दमन गरेर दबाएको थियो। ओलीका समकालीन केही नेतालाई तत्कालीन पञ्चायती व्यवस्थाले हत्या गरेको थियो भने विद्रोहमा संलग्न ओलीसहित धेरै नेताले लामो समय जेलमा बिताएका थिए। ओली १४ वर्ष जेल बसे।
झापाबाट इलाम जेल सार्ने बहानामा भाग्न लागेको भन्दै २०२९ फागुन २१ गते सुखानीमा मारिएका रामनाथ दाहालको प्रेरणाबाट ओली राजनीतिमा आएका हुन्। ‘पहिलेदेखि नै राजनीतिमा ओली चर्चामै रहनुभयो। जनताको नेताका रूपमा स्थापित हुनुहुन्छ। २०६४ सालको संविधानसभाबाहेक कुनै पनि निर्वाचन नहार्नुको कारण पनि त्यही हो,’ अधिकारीले भने। एमालेका नवनिर्वाचित उपमहासचिव घनश्याम भुसाल ओलीलाई ‘मनमा लागेको कुरा स्पष्टसँग राख्ने स्वभाव भएकोु नेताका रूपमा लिन्छन्। नागरिक दैनिकबाट















प्रतिक्रिया