७ कार्तिक २०८३, शनिबार

नेपालको चार गोलसँगै यसरी आयो सागरको रोदन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagar-thapaकाठमाडौं, ७ माघ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा नेपाल पुगेपछि निराशाजनक अवस्थामा पुगेका फुटबल प्रेमीहरु एक पटकफेरि उत्साहित भएका छन् ।

किनकी, नेपाली फुटबलको इतिहासमै महानगरीय प्रहरी अपराध महाशाखाले म्याच फिक्सिङ जस्तो संगठीत अपराधको पहिलो पटक पर्दाफास गरेपछि सम्पूर्ण फुटबल प्रेमीहरुमा निराशा छाएको थियो ।

खेल मिलेमतोको लफडापछि नेपाली फुटबलको रंग केही फेरिन थालेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ । नेपालको साख बचाउनकै लागि नयाँ खेलाडीहरुलाई भित्र्याएसँग नेपाली टोलीले बंगबन्धुमा सफलता हात पारेको छ ।

फिफा बरियतामा खस्कदै गएको नेपाली श्रेणीबाट आजित फुटबल समर्थकलाई बंगबन्धु गोल्डकप प्रदर्शनले केही आशा पलाएको छ ।

मंगलबार बंगबन्धु राष्ट्रिय रंगशालामा भएको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

नेपाललाई जिताउन मोफसलका नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । अब यतिखेर राज्यलाई फुटबलमा लगानी गर्न र म्याच फिक्सिङ जस्तो विकृति हटाउन चुनौती पनि थपिएको छ ।

नेपालले बंगबन्धु कपमा सनसनीपूर्ण फुटबल खेलिरहँदा म्याच फिक्सिङका नाइके पूर्व कप्तान सागर थापाको मन भने विष्फोट हुने अवस्थामा पुगेको थियो ।

नेपालले राम्रो खेल खेलेपछि अत्तालिएका उनी यतिखेर आफूलाई चोखो सावित गर्ने प्रयासमा छन् । त्यसका लागि उनी अरुलाई दोष दिएर पानी माथिको ओभानो बन्न खोजिरहेका छन् ।

तर, थापाले अरुलाई जति दोष दिएपनि एशियाली फुटबल महासंघ (एएफसी) ले म्याच फिक्सिङको पुष्टि गर्दै उनीसहित गोलरक्षक रितेश थापा, सन्दीप राई, पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई आजीवन प्रतिबन्ध लगाइसकेको छ ।

एएफसी र म्याच फिक्सिङको अनुसन्धान संलग्न स्पोर्ट र्‍याडरको अनुसन्धान र सूचनाका आधारमा नेपाल प्रहरीले उनीहरुलाई पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनीहरु धरौटीमा छुटिसकेका छन् । म्याच फिक्सिङ प्रकरणमा बलियो प्रमाण भनेको खेलाडीले म्याच फिक्सरहरुबाट लिएको पैसा नै हो ।

तर, त्यसलाई थापाले अस्वीकार कसरी गर्न सक्छन् ? खेलाडीको नाममा बिदेशबाट पटक–पटक पैसा आएको अनुसन्धानबाट खुलेको थियो, जुन उनीहरुले स्वीकारेका थिए ।

वेष्टन यूनियन मनि ट्रान्सफरबाट अञ्जन केसी, रितेश थापा तथा फरार रहेका तत्कालिन फिजियो डेजिब थापाको नाममा पैसा आएको थियो ।

६ वटा अन्तराष्ट्रिय खेलमा उनीहरुले म्याच फिक्सिङ गरेका थिए । जसमा खेलाडीले एउटा खेलबाट ५ हजार अमेरिकन डलरसम्म लिएका थिए ।

सन् २००८ देखि गत वर्ष सम्मका खेलमा म्याच फिक्सिङ भएको अपराध महाशाखाले गरेको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

सन् २००८ मा मोर्डेका कपमा अफगानिस्तानसँग म्याच फिक्सरको निर्देशनअनुसार २–२ को बराबरी खेलेका थिए ।

त्यस्तै २००९ को साग च्यामपियनसीप, सन् २०११ म मलेसियासँगको मैत्रीपूर्ण खेल, फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतसँग भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको साफ गेमको फुटबलमा म्याच फिक्सिङ भएको थियो । सबै खेलमा थ्रिस्टार क्लबका पूर्वप्रशिक्षक रहेका अन्जन केसीले नै पैसाको डिल गर्दै आएको खुलेको थियो ।