१४ कार्तिक २०८३, शनिबार

भक्तपुरमा जग्गाको नक्कली लगत तयार गरी जालसाजी गर्नेहरुमाथि कारबाही

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhaktpur– लक्ष्मी गारु
भक्तपुर, ६ माघ । मध्यपुर थिमि नगरपालिका–१५, साविक दिव्यश्वरी गाविस–३, कुशल भैरबथलीको जग्गाको किर्ते लगत तयार गरी जालसाजी गर्ने खरिदार देवराज केसी धरौटीमा रिहा भएका छन् । मालपोत कार्यालय भक्तपुरमा रहेको असुली तर्फको सक्कल लगतमा सि.नं.९४३÷४३३ लगायतका नम्बरहरु किर्ते गरी पछि थप गरेको अभियोगमा जेल परेका तत्कालीन मालपोत कार्यालय भक्तपुरका खरिदार केसी भक्तपुर जिल्ला अदालतले माग गरे बमोजिम ८५ लाख बराबरको जायजेथा धरौटी राखी रिहा भएका हुन् ।

अदालतले देवराजसँगै दोलखा नाम्दु गाविस ४ घर भई हाल काठमाडौं महानगरपालिका ८, पशुपति बस्ने बर्ष ५६ का मोति प्रसाद घिमिरेसँग ५० लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकी घिमिरे भने डिल्लीबजार कारागारमा रहेका छन । सो मुद्दाका अन्य प्रतिवादी संखुवासभा जिल्ला खाँदवारी नगरपालिका–९ घर भई हाल कामनपा–३५ कोटेश्वर बस्ने अधिवक्ता युवराज कोइरालालाई भने प्रहरीले अन्य व्यक्तिलाई समेत ठगेको हुन सक्ने आशंकामा थप अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

अभियुक्त केसी र घिमिरेले मोही बुरमाया प्रजापति र रतन बहादुर कुमालको हकभोग लाग्ने हालको मूल्यमा ७ करोड ८४ लाख ५० हजार पर्ने जिल्ला भक्तपुर साबिक दिव्यश्वरी गा.बि.स.वडा नं.३ ख कि.नं. ३५ को क्षेफ ०–३–२–०, कि.नं.४९ को क्षेफ ०–१२–०–०, कि.नं. ५१ को क्षेफ.०–५–२–०, कि.नं. ५८ को क्षेफ १–११–०–० र डा नं.४ ख को कि.नं.३१९ को क्षेफ १–६–१–० भएको ५ कित्ता जग्गाहरुको असुलीतर्फको सक्कल लगत ठेलीमा ‘सि.नं.९४३÷४३३ न नं.१८३३ ३१ नं.हरु कनक शम्शेर बालुवाटार’ भन्ने अङ्क र अक्षरहरुपछि थप गरी किर्ते गरी हिमाद्री शम्शेर जवराको नाममा दर्ता गर्ने प्रयास गरेका थिए ।

स्रोतका अनुसार केसीले लगत किर्ते गरी कनक शम्शेरको हक कायम हुने अङ्क र अक्षर थप गरेको स्विकार गरेको भ्वाइस रेकर्ड समेत अदालतमा पेस गरिएको थियो भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले पनि लगतमा पछि थपघट गरेको प्रमाणित गर्दै लगतमा उल्लिखित अक्षर र मसी फरक फरक भएको प्रतिवेदन दिएको थियो ।

सो जग्गा साविक दिव्यश्वरी गाविस कुशल भैरवथली लगतको सुवर्ण शम्शेरको हक लाग्ने तर बिर्ता उन्मूलन अन्तरगत सुवर्ण शम्शेरले सो जग्गाको हकभोग त्याग गरेको हो । सो बेहोराको जानकारी भुमिसुधार विभागले मिति २०३६ साल असोज ९ गतेको आदेशमा उल्लेख गरिएको छ । सो आदेशमा सुवर्ण शम्शेरले काठमाडौँ जिल्लाका केही कित्ता जग्गा बाहेक नेपाल अधिराज्यका ७४ जिल्लाका जग्गाको हक भोग त्याग गरेको उल्लेख छ । उक्त आदेशमा हकभोग त्याग गरेका जग्गाहरुको विवरणमा उल्लिखित जग्गाका कित्ताहरु पनि समावेश छ ।

सुवर्ण शम्शेरका तीन भाइ छोराहरुमध्ये जेठा कनक शम्शेर र माहिला कञ्चन शम्शेरको मृत्यु भइसकेको र कान्छा नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष र भारतका लागि नेपालका पूर्व राजदुतसमेत रहेका रुक्म शम्शेर जीवित भएपनि उनलाई समेत थाहै नदिई कनकका छोरा हिमाद्री शम्शेर जबरा र कञ्चनका छोरा हातक शम्शेर जबराले मोती प्रसाद घिमिरे र युवराज कोइरालामार्फत उक्त जग्गा दर्ता गरी एकलौटी उपभोग गर्ने मनसुवाले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारी नक्कली लगत खडा गर्ने कार्य गरेको अनुसन्धानका क्रममा खुल्न आएको स्रोतले बताएको छ ।

घिमिरे र कोइरालाले सो जग्गा एकलौटी रुपमा हिमाद्रीको नाममा दर्ता गर्न विभिन्न प्रयास समेत गरेको खुल्न आएको छ । उनीहरुले नापी कार्यालयका कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारी जग्गाको हालसाविक गर्न सर्जमिन गर्ने प्रयास समेत गरेका थिए । स्थानीय नगरपालिकाका वडा सचिव समेतलाई प्रभावमा पारी मुद्दाको हद म्याद नघाउने, सर्जमिन गर्ने प्रयास समेत भए ।

हिमाद्रीले सो जग्गा आफ्नो नाममा दर्ता गर्न नापी कार्यालयको २ नं. नापी टोलीलाई समेत परिचालन गरेको थियो । उनले केही वर्ष अघि तत्कालिन २ नं. नापी टोली कौशलटारमा कार्यरत कर्मचारीहरुलाई सो जग्गाबाट चार आना जग्गा दिने सर्तमा दर्ता प्रक्रिया अगाडि बढाएको बुझिएको छ ।

उनीहरुले मालपोत कार्यालय भक्तपुरमा हरि बखती प्रमुख हुँदा विभिन्न शक्ति केन्द्र गुहारेर मालपोतमा विचाराधीन मुद्दाको पेसी तोक्न दवाव दिएका थिए । तत्कालीन प्रमुख बखतीले लगतमा शंका लागी छानविन समिति समेत गठन गरेको थियो । तत्कालीन मालपोत अधिकृत डिल्लीराम पोख्रेलको संयोजकत्वमा गठित नायव सुब्वा नारायण प्रसाद भट्टराई र खरिदार झमक प्रसाद कट्टेल सहितको समितिले २०७१ साल जेठ २२ गते छानविन प्रतिवेदन पेश गर्दै सक्कल लगतको पानाको सि. नं. ९४३÷४३३ मा लेखिएको अक्षर र मसी समेत फरक देखिएको प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवादीहरु हिमाद्री, मोति प्रसाद घिमिरे, देवराज केसी, कागजातहरु प्रमाणित गरिदिने नासु नेत्र प्रसाद पोखरेल, पार्वती बस्नेत घिमिरे र अधिवक्ता युवराज कोइराला समेतका मानिसहरुले मोहीको हकभोग मेटेर हिमाद्रीको एकलौटी बनाउने प्रयास गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

सो सम्बन्धमा मोही रतन कुमार कुमालकी छोरी पूर्णमाया कुमाल खड्काले अख्तियारमा सप्रमाण उजुरी गरेपछि आवश्यक छानविनसहित भक्तपुर प्रहरीलाई प्रतिवादीहरु पक्राउ गरी आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको र सोही बमोजिम अभियुक्तहरुलाई पक्राउ गरी कारबाही गरिएको हो ।

मालपोत अधिकृतलाई ज्ञापनपत्र

नेकपा (एमाले) भक्तपुर नगर कमिटीले भक्तपुर मालपोत अधिकृतलाई आज चारबुँदे ज्ञापनपत्र बुझाएको छ ।

एमाले केन्द्रीय सदस्य सोम मिश्रको नेतृत्वमा गएको टोलीले प्रमुख मालपोत अधिकृत मुक्तिप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउँदै मालपोत कार्यालयमा सेवाग्राहीको काम छिटो हुनुपर्ने माग गरेको थियो । मालपोतको काममा पारदर्शिता ल्याउन, कर्मचारी इमान्दार हुन र सर्वसाधारणको गुनासो न्यूनीकरण गर्न यथाशक्य छिटो कार्य फछ्र्यौट गर्न पनि टोलीले आग्रह गरेको थियो । टोलीले मालपोत कार्यालयमा आर्थिक अनियमितता बढेको गुनासो आएको उल्लेख गर्दै सुशासन कायम गर्दै भक्तपुर मालपोत कार्यालयलाई नमुना कार्यालय बनाउन आग्रह गरेको थियो ।

टोलीले बुझाएको ज्ञापनपत्रमा नापी नक्सा तथा जग्गाधनी पुर्जामा घर कायम रहेको तर भूकम्पले बस्न नमिल्ने गरी भत्केको चर्केको घरजग्गा नामसारी र रजिस्टे«सन पारित गर्दा मालपोत कार्यालयले घर नभएको भनी धनीपुर्जामा घर काटिएकाले सो कार्य कानुनसङ्गत नभएकोतर्फ पनि ध्यानाकर्षण गरेको थियो ।

ज्ञापनपत्र बुझाउने टोलीमा लेखापढी व्यवसायी, युवासङ्घ नेपाल उपत्यका सचिवालय सदस्य रामचन्द्र दथेपुथे, एमाले विशेष नगर समन्वय कमिटी भक्तपुरका संयोजक विष्णु सुवाल, एमाले भक्तपुुर नगरका रामचन्द्र प्रजापतिलगायतको सहभागिता रहेको थियो । रासस