
काठमाडौं, ६ माघ । मन्त्री फेरिएसँगै तीनको पहिलो ‘टार्गेट’ परिषद्का सदस्यहरुलाई घोक्रेठ्याक लगाउनु । अनि परिषद्का सदस्यहरुको ‘ड्युटी’ हुन्छ अदालत धाउनु । मन्त्रीबाट आफूलाई गलहत्याएको निर्णय उल्टाउनु अर्थात त्यस्को विरुद्ध अदालतबाट स्टे अर्डर ल्याइवरी फेरि नियुक्ती पाउनु/आफ्नो कुर्सी जोगाउनु ।
यस्तै गलफत्तिका कारण ४ वर्ष कार्यकाल रहने परिषद्का अधिंकाश सदस्यहरुको ६ महिना आफ्नो कुर्सी बचाउने मुद्धा लड्दैमा वित्ने रहेछ । कुकुर र विरालोको जस्तो खेलाई र लखेटाई हेर्ने टाढा पुग्नै पर्दैन, लैनचौरमा रहेको समाजकल्याण परिषद्तिर आँखा दौडाए पुग्छ ।
समाजकल्याण मन्त्रालय मातहतको परिषद्मा, मन्त्री र सदस्य सचिव बीचको जुहारी चाँही ०३४ सालमा स्थापना भएको परिषद्मा प्रजातन्त्रको पुर्नस्थापना भएदेखिकै हो । यो वीचमा १६ सदस्य सचिव फेरिसकेका छन । ६० साल यता मात्र खड्ग बहादुर विश्वकर्मा, सर्वदेव ओझा, दान बहादुर चौधरी, बद्रि प्रसाद न्यौपाने, रिद्धि बहादुर प्रधान, निलम खड्का केसी हुँदै सिपी मैनाली सम्म मन्त्री बन्न आइपुगेको छ । समाज कल्याण मन्त्रालयमा लहरै फोटो झुण्डिएका यो मन्त्रालय सम्हाल्ने मन्त्री कुनै न कुनै कारण वदनाम बन्न पुगेका छन ।
यो वीचमा परिषद्को सदस्य सचिव १६ जना फेरिएका छन । मन्त्री फेरिएसँगै हटाउन खोजिएको भन्दै आधा भन्दा बढि सदस्य सचिवले अदालतबाट स्टे अर्डर ल्याइवरी जागिर बचाएको उदाहरण यतै देख्न पाइन्छ ।
प्रभा बस्नेत, डा टीका पोखरेल, छेवाङ नाम्गेल शेर्पा, प्रभा ठक्कर, ऋतु प्रसाद गड्तौला लगायतका सदस्य सचिव हुन यसरी अदालतबाट स्टे अर्डर ल्याइवरी जागिर बचाउने । वर्तमान मन्त्री सिपी मैनाली भन्दा पूर्व यो मन्त्रालय उनकै पत्नी निलम केसीको भागमा परेको थियो । गत भदौ २२ गते परिषद्को वैठक बसेकोमा त्यसको दुइ दिन पछाडि नै परिषद्का सदस्यहरुलाई जानकारी नदिई अवैधानिक वैठक बसि यीनै सदस्यहरुलाई हटाउन मन्त्री केसीले हात हालिन । अहिले त्यहि प्रकरण सीपीका लागि टाउको दुखाइको विषय बन्न पुगेको छ ।
सदस्य सचिव रविन्द्र कुमार यादव सहितका परिषद्का सदस्यहरुलाई हटाउन अड्डी कसेसँगै यो प्रकरण समेत अदालतमा पुगेको छ । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवका भाई हुन रविन्द्र कुमार यादव र परिषद्का उपाध्यक्ष छन प्रमोद कुमार महता, कोषाध्यक्ष कुञ्जविहारी यादव । यी तिनै सदस्यलाई माले पार्टीबाट मन्त्री बनेका सिपी मैनालीले हटाउने सोचबाट पछाडि नहटेसँगै परिषद्का सदस्यहरुले भने यसलाई सिंगो मधेश माथिकै दमन ठानेका छन । परिषद्का एक पदाधिकारी भन्दैथिए ‘अहिलेको सरकारमा सबैभन्दा ठूलो मधेश विरोधी भनेकै सिपी मैनाली हुन ।’












प्रतिक्रिया