२८ आश्विन २०८३, बुधबार

एमालेसँग जनताको अपेक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shambhu-shrestha

नेकपा एमालेको नवौं महाधिवेशन चर्चाको शिखरमा छ । एमाले, कम्युनिस्ट पार्टी भएर पनि यसले अंगिकार गरेको लोकतान्त्रिक विधिका कारण यस महाधिवेशनले सबैको ध्यानाकर्षण गरेको हो । कम्युनिस्ट भनेका तानाशाही हुन्, यसले लोकतन्त्रमा विश्वास गर्दैन भन्नेहरूका लागि एमाले महाधिवेशन एउटा उदाहरण बन्न पुगेको छ ।

खासगरी जननेता मदन भण्डारीले पाँचौ महाधिवेशनबाट कम्युनिस्टहरूले अन्य बुर्जुवा पार्टीहरूसँग मात्र प्रतिस्पर्धा गर्ने होइन, आफ्नै आन्तरिक जीवनमा पनि लोकतान्त्रिक पद्धति अपनाउनु पर्छ भन्ने धारणा ल्याएपछि निरन्तर एमालेले पार्टीभित्र नेतृत्व चयन गर्दा लोकतान्त्रिक विधि अवलम्वन गर्दै आएको छ ।

लोकतन्त्र आफैँमा सम्पूर्ण कुरा होइन । त्यसलाई पार्टी र नेतृत्वले आफ्नो जीवनमा कसरी प्रयोग गर्छन् भन्ने कुरा प्रमुख कुरा हो । जस्तो भाँडोमा पानी राख्यो त्यस्तै आकार लिन्छ भनेझै लोकतान्त्रिक विधिलाई कस्तो बनाउने भन्ने कुरा नेतृत्वको योग्यता र क्षमतामा भर पर्छ । यदि नेतृत्वमा क्षमता भएन भने लोकतान्त्रिक विधिबाट चुनिएर पार्टीको सर्वोच्च पदमा पुगे पनि त्यसले पार्टी हाँक्न सक्दैन ।

लोकतन्त्रको विशिष्ट गुण भनेको सहमति, सहकार्य र सर्बसम्मति नै हो । त्यो सम्भव नभए मात्र प्रतिस्पर्धामा जाने अन्तिम विकल्प हो । यदि एमालेले यस महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न सकेको भए, एमालेको जीवनमा त्यो अनुकरणीय हुन्थ्यो । आम कार्यकर्ताको चाहना पनि त्यही नै थियो । तर, दुर्भाग्य पन्ध्र वर्षसम्म पार्टीको कार्यकारी पद सम्हालेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कार्यकर्ताको भावनामा ठेस पुर्‍याए ।

पार्टी जीवनमा आफूबाहेकका सहयोद्धाको पनि उत्तिकै योगदान छ भन्ने कुरा नेपालले बिर्सिए । अरुको योगदानको मूल्यांकन नगर्नु भनेको आफ्नै अवमूल्यन गर्नुु हो । नेताहरूले आफ्नो कमी, कमजोरीलाई समयमै ठम्याउन नसक्दा त्यसले आफूलाई मात्रै होइन, सिंगो कार्यकर्तालाई पनि पीडा दिन्छ भन्ने कुरा अहिले एमाले नेता कार्यकर्ताहरूले भोगिरहेका छन् ।

मुलुक संक्रमणमा छ । संविधान निर्माणको टुंगो छैन । जातीय पहिचान सहितको संघीयता माग्नेहरू संविधान बिथोल्न एकजुट भएका छन् । यस्तो अवस्थामा एमालेजस्तो सशक्त पार्टीको महाधिवेशन सर्वसम्मत भैदिएको भए, त्यसले सिंगो देश र जनतालाई आशावादी बनाउने थियो । देशप्रतिको दायित्वलाई बिर्सिएर जसरी एमाले नेतृत्व प्रतिस्पर्धाको नाममा नांगो सडकमा ओर्लियो, त्यसले उग्रदक्षिणपन्थी र उग्रवामपन्थीलाई मलजल गरेको छ ।

हिजो गणतन्त्रका लागि कृत्रिम एकतामा बाँधिएका सबै दलहरू गणतन्त्र संस्थागत नहुँदै टुक्रिएका छन् । सबैलाई पद नै चाहिएको छ । देश बनाऔँ, जनतालाई सुख दिऔँ भन्ने भावना कसैमा देखिएको छैन । संविधान निर्माण गर्न जनताले चुनेर पठाएका सभासद्का करोडौं काण्डले जनताबीच नराम्रो सन्देश गएको छ ।

यस्तो अवस्थामा नेकपा एमालेको काँधमा सबैलाई मिलाएर लैजाने र समयमै संविधान जारी गर्नुपर्ने दायित्व आइपरेको छ । त्यसका लागि एमालेको नयाँ नेतृत्वले सबैभन्दा पहिला पार्टीभित्रको एकतालाई मजबुत बनाउनु पर्छ । पार्टी जीवनमा नीति, सिद्धान्त र विचारको जति महत्व छ, त्यति नै महत्व कार्यकर्ताहरूबीचको भावनात्मक एकताको खाँचो छ । विचार मिल्ने, तर मन नमिल्ने भयो भने त्यसले आफूलाई मात्र होइन, सिंगो पार्टीलाई क्षति पुर्‍याउँछ । यो कुरालाई नयाँ नेतृत्वले आत्मसात गरेर अघि बढ्नुपर्छ । यही शुभकामना ।