१४ कार्तिक २०८३, शनिबार

नेपाली सेनाद्धारा ऐतिहासिक तालको संरक्षण कार्य सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Sena (2)रौतहट, ५ माघ । नेपाली सेनाको अगुवाइमा गौर नगरपालिकामा रहेको ऐतिहासिक महत्व बोकेको बरहवातालको मुहार फेर्न पहिलो चरणको काम तीव्र गतिका साथ भइरहेको छ ।

उक्त ताल गौर नगरपालिका–७ देखि १२, ९, २, १ हुँदै भारतको सीमासम्म फैलिएको छ ।

उचित संरक्षण र सम्वद्र्धनको अभावमा ओझेलमा पर्दै आएको उक्त तालको सौन्दर्यकरणका लागि राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिबाट प्राप्त रु दुई करोड ३० लाख बजेटमा पहिलो चरणको काम दु्रत गतिका साथ भइरहेको बरहवा ताल सरोकार समितिका संयोजक अजय गुप्ताले बताउनुभयो ।

उहाँका अनुसार उक्त तालको प्रचारप्रसार र प्रवद्र्धन गर्नसके पर्यावरण संरक्षणका साथै बाह्य तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने अपेक्षा लिइएको छ ।

प्राकृतिक रुपमा रहेको तालको संरक्षण र यसलाई दिगो विकास गर्नसके सदरमुकाम गौरलाई नै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताइएको छ ।

उक्त तालको पहिलो चरणको काम असार मसान्तसम्ममा सकिने जानकारी दिँदै बरहवा ताल सरोकार समितिका संयोजक गुप्ताले तीन चरणमा बरहवा तालको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।

गौर नगरपालिका, जिल्ला विकास समिति, बरहवा ताल सरोकार समिति तथा स्थानीय बासिन्दाको प्रत्यक्ष अप्रत्यक्ष सहयोगमा हाल बरहवा तालको उत्तरतर्फबाट काम सुरु गरिएको छ ।

उक्त कार्यमा नेपाली सेनाले विभिन्न उपकरणको माध्यमबाट तालको पानीको निकास गरी तलाउ सफा गर्ने र तालको दुवैतर्फको जग्गामा तारबार गर्ने कार्य गरिरहेको छ ।

तालको सौन्दर्यकरण भई विकास भए गौरको पनि विकास हुन्छ भन्दै स्थानीयले सरोकारवाला निकायलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने बताएका छन् ।

उक्त योजनाअन्तर्गत तालको दुवैतर्फ शौचालय निर्माण गर्ने, डुङ्गा सञ्चालन गर्ने, वजभोज स्थल निर्माण गर्ने, लाइटिङको व्यवस्था गर्ने लक्ष्य रहेको छ ।

तालको प्रचारप्रसार र विकास गर्नसके पर्यटकीय क्षेत्रका रुपमा विकास हुने र यसले स्थानीयको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

बहुआयामिक उद्देश्यका साथ पूरा गर्न सुरु गरिएको उक्त योजनाको संरक्षण र सम्वद्र्धनमा नेपाली सेनालाई स्थानीय बासिन्दाले पनि सक्दो सहयोग र साथ दिएका छन् । रासस