
काठमाडौं, ५ माघ । लमजुङ जिल्ला चिति हटिया निवासी समजसेवी श्याम सुन्दर श्रेष्ठले स्थानीय चिति तिनपिप्ले स्थित श्री जनसेवा प्राथमिक विद्यालयलाई झण्डै दुई रोपनी जग्गा दान गरेका छन् ।
लायन्स क्लव अफ काठमाण्डौं कलंकी सेण्ट्रल भ्यालीको आयोजनामा भएको कार्यक्रममा श्रेष्ठले उक्त जग्गा दान गरेका हुन् ।
विद्यालयको भौतिक तथा पूर्वाधार विकासको लागि सहयोग पुर्याउने उद्देश्यले आफ्नो र परिवारको तर्फबाट जग्गा दान गरिएको श्रेष्ठले बताए । लायन्स क्लवमा समेत सक्रिय श्रेष्ठले विद्यालयको भवन तथा खेलकुद मैदानका लागि अति आवश्यक करिब डेढ रोपनी भन्दा बढीको जग्गा निःशुल्क रुपमा उपलब्ध गराएको स्कूलकी प्रधानाध्यापक भगवती थापाले जानकारी दिइन् ।
कार्यक्रममा लायन्स क्लवको तर्फबाट तृतीय उपाध्यक्ष उज्वल खनालले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि स्कुल युनिफर्म तथा न्यानो फोम वितरण गरेका थिए ।
उक्त अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै सो स्कुलकी प्रधानाध्यापक थापाले प्राप्त सहयोगबाट विद्यार्थी, शिक्षक र अविभावकहरुमा हौसला बढेको कुरा व्यक्त गरिन् । लायन्स क्लवको तर्फबाट एम जे एफ लायन यमकुमार श्रेष्ठले अनेक चुनौतीका बावजुद प्रदान गरिएको यस प्रकारको सहयोगको पूर्ण सदुपयोग हुनुपर्ने कुरामा जोड दिए । उक्त विद्यालयको अध्यक्षबाट अध्यक्षता गरेका सो कार्यक्रममा जग्गा दाता लायन श्याम सुन्दर श्रेष्ठले ग्रामीण क्षेत्रका न्युन साधन स्रोत भएका यस्ता स्कुलको लागि गरिएको यस प्रकारको सहयोगले सकारात्मक सन्देश जाने कुरा व्यक्त गरे ।
उक्त कार्यक्रममा सो क्लबका अध्यक्ष एम जे एफ लायन राजेन्द्र पौडेल, लायन रोशन श्रेष्ठ, लायन सन्तोष शर्मा, लायन वाङचुङ तामाङ, लायन सन्जिब अधिकारी, लायन प्रकाश ढुंगाना, लायन प्रकाश न्यौपाने, लायन बद्रिनाथ न्यौपानेलगायतका उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन एम जे एफ लायन प्रदीप लामिछानेबाट भएको थियो । जिल्ला शिक्षा स्रोत केन्द्रका प्रतिनिधि तेजनारायण मण्डललको उपस्थितिमा जग्गा दान कार्यक्रम सम्पन्न भएको थियो ।












प्रतिक्रिया