
नेपालमा पत्रकारिता गरिरहँदा मलाई आमसञ्चार अध्ययनका लागि पाकिस्तान आउने अवसर मिल्यो । स्नातकमा पत्रकारिता नपढेकोले त्रिभुवन विश्वविद्यालयमा पत्रकारितामा स्नातकोत्तर गर्ने बाटो खुल्ला थिएन । मसँग विकल्प थिए– काठमाण्डौ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय । मैले तत्काल पत्रकारिता अध्ययनलाई थोरैपछि सुरुवात गर्ने सोच बनाएर राजनितिशास्त्र अध्ययन गर्न थालेँ, त्रिभुवन विश्वविद्यालयमा ।
प्रमाणपत्र तहको समाप्तिसँगै सुरुवात भएको पत्रकारिता पेशालाई निरन्तरता दिइरहेको थिएँ । राजनीति बिज्ञानको सबै परिक्षा सकिएका थिए र म अब पत्रकारितामा स्नातकोत्तर गर्ने सोच्दै थिएँ । यहि अवस्थामा पाकिस्तानमा पत्रकारिता अध्ययन गर्ने अवसर जुर्यो ।
जब मेरो पाकिस्तान जाने निश्चित भयो, तब मैले यो कुरा परिवार, केही नातेदार र वरिपरिका साथीहरुलाई सुनाएँ । तर, उनीहरुको अनुहारले पाकिस्तानलाई फरक रुपमा व्यख्या गरेको प्रष्ट देख्न सकिन्थ्यो । दैनिक सञ्चारमाध्यममा आउने समाचार र साथीभाइको यस्तो प्रतिक्रियाले मलाई पनि केही फरक अनुभुति त गरायो नै, यद्यपि अध्ययनका लागि जाने बिषयमा मेरो सोच परिवर्तन गराउने अवस्था थिएन, म त झनै उत्सुक हुँदै थिएँ ।
पाकिस्तान राजदूतावासले हरेक बर्ष दुई जनालाई अध्ययनका लागि पाकिस्तान पठाउने गरेको थियो । यहि क्रममा म भन्दा अघिल्लो बर्ष अध्ययनका लागि आएका दुई जना नेपाल फर्केको बेलामा भेट भयो । मलाई पाकिस्तानका बिषयमा धेरै जिज्ञासा थियो, मैले सबै उनीहरुको अगाडि राखेँ र उनीहरुले सबैको उत्तर दिन थालेँ । उनीहरुको निष्कर्ष थियो ‘जसरी सबैले व्यख्या गर्छन् त्यस्तो अवस्था छैन, तर पनि पूर्ण समान्य पनि होइन’ ।
….अब मलाई समस्या पर्यो, मेरो नाम नै शिबप्रसाद लामिछाने छ, नाममा नै हिन्दू धर्म झकिन्छ, नाम नै परिवर्तन गर्ने कुरा त भएन नि ! यो बिषयले मलाई अलिकता दुःखी बनायो । …. मुस्लिम बिचारधारामा आधारित भएर निर्माण भएको र भारतीय हिन्दूहरुसँगको बैचारिक बिबादपछि निर्माण भएकोले पनि पाकिस्तानले भारत र हिन्दूलाई त्यति राम्रो नजरले नहेर्ने अवस्था थियो । र, केही हदसम्म अझै पनि छ ।
सन् १९४७ मा ब्रिटिस साम्राज्यले आफ्नो अधिपत्य छोडेपछि धार्मिक बिचारमा आधारित भएर निर्माण भएको राज्य अर्थात ‘इस्लामिक रिपब्लिक अफ पाकिस्तान’ । मुस्लिम बिचारधारामा आधारित भएर निर्माण भएको र भारतीय हिन्दूहरुसँगको बैचारिक बिबादपछि निर्माण भएकोले पनि पाकिस्तानले भारत र हिन्दूलाई त्यति राम्रो नजरले नहेर्ने अवस्था थियो । र, केही हदसम्म अझै पनि छ ।
हामीबीचको कुराकानीमा धर्मको प्रबेश भयो । उनीहरुले मलाई भने ‘हिन्दूलाई राम्रो मान्दैनन्, त्यसैले जति पनि नेपाली छन् सबैले आफ्नो धर्म बौद्ध भएको बताउने गरेका छन्’ । उनीहरुले थपे ‘यो हाम्रो मात्र हैन् हामी भन्दा अगाडि आएकाहरुले पनि यस्तै गर्थे’ । अब मलाई समस्या पर्यो, मेरो नाम नै शिबप्रसाद लामिछाने छ, नाममा नै हिन्दू धर्म झकिन्छ, नाम नै परिवर्तन गर्ने कुरा त भएन नि ! यो बिषयले मलाई अलिकता दुःखी बनायो ।
बिबिध किसिमका कागजीय काम पूरा गर्न म निरन्तर जसो पाकिस्तान राजदुताबासमा जाने गर्दथेँ । दूतावासमा रहेका कर्मचारी जो जो सँग मेरो निरन्तर कुराकानी हुन्थ्यो उनीहरुले मलाई ‘प्रसाद भाई’ या ‘लामिछाने’ भनेर बोलाउने गर्थे । यो बिषयले पनि, पुराना बिद्यार्थी जो पाकिस्तान पढ्न गएका थिए, उनीहरुले भनेको कुरालाई थप पुष्टि गरेजस्तो लाग्थ्यो ।
पाकिस्तान राजदूतावासको आयोजनामा एक हप्ते औद्योगिक मेला हुँदै थियो ‘मेड इन पाकिस्तान’ । मेरो पाकिस्तानी दुतावासमा निरन्तर आउने जाने हुने गरेको र मिडियामा काम गरिरहेकोले मलाई चिनजानका सञ्चार माध्यमका साथीहरुलाई निमन्त्रणा गर्न र उपस्थित हुन दुतावासले अनुरोध ग¥यो ।
दुतावासको अनुरोध अनुरुप मैले मेरो चिनजानका मिडिया सहकर्मीहरुलाई बोलाएँ । वल्र्ड ट्रेड सेन्टरमा ‘मेड इन पाकिस्तान’ उद्घाटन हुनुपूर्व एकजना मिडियाकर्मी र कुनै एक बिद्यालयमा पत्रकारिता अध्यापन गराइ रहनुभएका एक अग्रजसँग भेट भयो । मसँगै अध्ययनका लागि पाकिस्तान आउने मित्रको शिक्षक भएको नाताले उहाँसँग हाम्रो केही समय गफ भयो ।
उहाँसँगको वार्तालापको क्रममा हामीले पाकिस्तान अध्ययनका लागि जान लागेको बतायौँ । उहाँले पनि केही समय अघि एक हप्ताको पाकिस्तान भ्रमण गर्नुभएको, पाकिस्तानका बिभिन्न शिर्ष व्यक्तिहरुसँगको भेटघाटका बारेमा आफ्नो अनुभव सुनाउनु भयो । यो क्रममा उहाँले भन्नुभयो– आफ्नो धर्म हिन्दू हो भनेर नभन्नु उता । उहाँले अँग्रजीमा भन्नुभयो– ‘वी आर बुद्धिस्ट एण्ड वी रेस्पेक्ट इस्लाम भन्नु’ । अब मेरो मनमा भएको बिबादलाई यसले झनै मलजल ग¥यो । आफ्नो धर्म बताउनु पूर्वपाकिस्तानीहरुको आफूहरुप्रतिको व्यवहार र आफ्नो धर्म भनेपश्चात आफूहरुमाथिको व्यवहारमा आएको परिवर्तनको बारेमा उहाँले बेलीबिस्तार लगाउनुभयो । यो बिषयले मलाई झनै दोधार बनायो ।
पाकिस्तान अध्ययन गरिरहेका बिद्यार्थी, आफ्ना अग्रजले भनेका कुरा र पाकिस्तानी दूतावासका कर्मचारीको बोलाउने नाम यी सबै कुराले एक कुरा के पुष्टि गथ्र्यो भने हिन्दू भएर पाकिस्तानमा रहन सहज छैन । म अध्ययनका लागि जाने त निश्चित नै थियो तै पनि अब आफ्नो पहिचान के बनाउने भन्ने बारे बिभिन्न प्रश्न मेरो मनमा खेल्न थाल्यो । मनको एक पक्ष भन्दै थियो जे होला होला आफ्नो पहिचान परिवर्तन गर्दिन तर अर्को मन भन्दै थियो- छेपारोले आफ्नो शरिरको रंग फेर्छ वातावरण सुहाउँदो बन्नको लागि म किन नगर्ने ? परिस्थितिलाई पाकिस्तान पुगेर नै वरपरको वातावरण हेरेर मिलाउँला । यस्तै सोच आयो र अन्ततः लागियो पाकिस्तान ।
पाकिस्तान आएपश्चातः सुरुवातमा जो जो सँग भेट भयो सबैलाई आफ्नो धर्म बौद्ध भएको बताएँ । अब नामको कुरा थियो, जुन मैले परिवर्तन गर्न सक्ने कुरा थिएन । मेरो फेसबुक आइडी थियो ‘लामिछाने कान्छा’, म साहित्यकार नै त हैन तर कहिले काहिँ कविता, कथा प्रकाशित गर्दा आफ्नो नाम ‘लामिछाने कान्छा’ लेख्ने गरेको थिएँ ।
मलाई अन्तिम बर्षहरुमा सञ्चारगृहमा रहँदा पनि यहि नामले बोलाउने गर्थे । मैले यहि नामलाई उल्टो बनाएर आफ्नो नामलाई कान्छा लामिछाने बनाएँ । यो नाम मैले बाहिर सबैलाई भन्न त सक्थेँ तर आफ्नो अध्ययन क्षेत्रमा आफ्नो बास्तविक नाम भन्नु पर्ने बाध्यता थियो, किनभने कुनै न कुनै समयमा मेरो कागजात हेरे भने मैले झुट बोलेको थाहा पाउँथे र झनै समस्या हुने निश्चित थियो ।
जब म पहिलो पटक आफ्नो अध्ययन क्षेत्र पञ्जाव विश्वविद्यालयको आमसञ्चार अध्ययन शाखामा गएँ र आफ्नो बारेमा बताएँ तब नेपालमा रहेको पाकिस्तानी राजदूतावासबाट विद्यालयमा आएको पत्र हाम्रो हातमा आयो । उक्त पत्र पढ्दै गर्दा म झनै दोधारमा परेँ । उक्त पत्रमा मेरो नाम ‘लामिछाने सहिब प्रसाद’ लेखिएको थियो । अर्थात मेरो थरलाई अगाडी ल्याइएको थियो भने मेरो नामको हिज्जेलाई परिवर्तन गर्दै अन्तिमको ए लाई ई बनाइएको पाएँ । यस कुराले वातावरण सहज नरहेको कुरा झनै पुष्टि गर्यो । अब म मेरो परिचय के गराउँ भन्ने संकट झन थपियो ।
अन्ततः कक्षाकोठामा परिचयका क्रममा आफ्नो शिब भन्ने परिचयलाई परिवर्तन नगरिकन केही पछाडी राख्दै मैले आफ्नो परिचय लामिछाने शिबप्रसाद भनेँ । धेरैलाई यो नाम उच्चारण गर्न गाह्रो भयो र मैले पनि मौका पाएँ र तत्काल उनीहरुलाई भनेँ मलाई ‘लामिछाने कान्छा’ भन्दा पनि हुन्छ यो लामो भयो भने ‘कान्छा’ मात्र भनेर बोलाउँदा हुन्छ । अब मेरो नाम कान्छा भयो सहपाठीहरुको बीचमा ।
करिब २/३ महिना यसरी नै बित्यो । यो बिचमा धेरै व्यक्तिहरु भेट भए, धेरैलाई मैले आफ्नो नाम कान्छा बताएँ र आफ्नो धर्म बौद्ध बताएँ । धेरैले नाममा भन्दा पनि धर्ममा धेरै चासो राख्ने गरेको कुरा मैले बुझिसकेको थिएँ किनभने म जो पनि नयाँ व्यक्तिलाई भेट्थेँ– तपाईको नाम के हो ? भन्दा पनि तपाईँको धर्म के हो भनेर सोध्ने धेरै भेटेँ । अझै धर्मलाई दुई भागमा विभाजित गरेर मुस्लिम कि ननमुस्लिम भनेर सोध्नेको संख्या पनि अत्याधिक थियो ।
भेटिएका एक दुई व्यक्ति यस्ता पनि थिए कि धर्मका बिषयमा पूर्ण खुल्ला । आधा जस्तो धर्ममा बिषयमा कट्टर र केही व्यक्ति सामान्य । व्यक्ति जस्तोसुकै होस् नाम भन्दा पहिला धर्म सोध्ने गर्दथे । २/३ महिना पश्चात मैले आफ्नो नामको बास्तविकता सबै सहपाठीहरुलाई बताएँ र शिब भनेर बोलाउन भन्न थालेँ तर फेरी नयाँ नाम कण्ठ गर्नुभन्दा प्रायःले कान्छा भनेर नै बोलाउने गर्छन् ।
केहीले शिब भन्न थाले यद्यपि आफ्नो धर्मका बिषयमा प्राय चुप रहन्छु भने बोल्नै परे बौद्ध धर्म मान्ने परिवारमा जन्मे पनि कुनै धर्ममा समाहित नभएको र धार्मिक व्यक्ति नभएको बताउने गरेको छु । यसको कारण आफ्नै छ । जोसँग भेट हुन्छ, उसँग धर्मको कुरा नभएको दिन हुँदैन । सबैलाई बौद्ध धर्म के हो ? कस्तो हो ? व्यख्या गर्नुपर्ने हुन्छ । केही समय त अध्ययन गरेर बताउने गरेपनि बिस्तारै त्यो सम्भव हुन छोड्यो र आफूलाई धर्ममा कुनै रुची नभएको बताउन थालेँ ।
पाकिस्तान आइपुगेको तीन महिनामा मैले विश्वबिद्यालय भित्रका र बाहिरका बिभिन्न किसिमका व्यक्तिहरुसँगको भेटमा अवस्था हामीहरुले सोचे जस्तो नरहेको पाएँ । र, बिस्तारै मलाई फरक अनुभुति हुन थाल्यो, किन म आफ्नो वास्तविकता नबताउने ? किन लुकाउने आफ्नो परिचय ? परिचयको कारणले आई पर्ने समस्या के हुन् त त्यो मैले अरुको मुखबाट सुनेको मात्र थिएँ, भोगेको थिईनँ भोगाइ नै जीवन हो । त्यो कुरा पनि अनुभव गरौँ न त भन्ने भावना म मा बिकास हुँदै गयो ।
आफ्नो अध्ययन क्षेत्रमा मैले बास्तबिकता भनेँ भने साथीहरु माझ झनै नराम्रो सन्देश जाने डरले पनि मैले आफ्नो बास्तबिकता भन्न चाहिन । तर त्यो बाहेकको हरेक अवस्थामा मैले आफ्नो बास्तविकता भन्न थालेँ अर्थात म हिन्दू परिवारमा जन्मेको कुरा बताउन थालेँ । तर कँही पनि आफू हिन्दु भएको कारणले फरक महसुस गर्न परेन । सायद निरन्तर भेटघाट नभएको कारणले पनि त्यति धेरै समस्या नभएको हो कि जस्तो पनि लाथ्यो ।
पत्रकारिता अध्ययनको तेस्रो सेमेस्टरमा इन्टनशीप गर्नुपर्ने भएकाले एक टेलिभिजनको कार्यालयमा गएँ । पहिलो दिन व्यूरो प्रमुखसँग भेट भयो । उक्त दिन मैले उनीलाई आफू हिन्दु भएको बताएँ । उनको व्यवहारले मलाई चकित बनायो । यति धेरै सकारात्मक । मलाई यो कुराले खुसी बनायो । भोलिपल्टबाट कार्यालयमा रहेका झण्डै ३० जना कर्मचारीसँग निरन्तर भेटघाट हुन्थ्यो । सबैलाई मैले आफ्नो धर्म हिन्दू भएको बताउँथे । उनीहरुसँग झण्डै एक महिनादेखि सँगै छु तर अहिलेसम्म कुनै फरक अनुभुति भएको छैन्, मलाई । उनीहरुको माझ मलाई कहिल्यै पनि लाग्दैन कि उनीहरु फरक धर्मका हुन् र म फरक धर्मको ।
एकदिन डिएसएनजी भ्यान लिएर रिपोटिङमा निस्कँदै थियौँ । हामी रमाइलो गर्दै घटनास्थलतर्फ जाँदै गर्दा रिपोर्टर साथीले भने– ‘म मुस्लिम, शिब हिन्दू’ अनि चालकतर्फ ईसारा गर्दै ‘उ क्रिष्चियन । हामी तीन जनासँगै छौँ हर समय साथ छौँ, सँगै खान्छौँ, बस्छौँ केही समस्या छैन, मान्छेहरुलाई धर्मका कारणले किन समस्या हुन्छ ।’
हुन त नेपाल रहँदा पनि म हिन्दू हुँ भन्ने भावना कहिल्यै आएको थिएन । मतलब म आफूलाई कुनै धर्मको घेराभित्र साँघुर्याउन चाहने सोच थिएन । परिचय त्यहीँ आवश्यक हुन्छ, जहाँ हामीले कसैलाई आफू को हुँ भनेर चिनाउनु पर्छ । जब सबै जना प्रश्न गर्छन् तब उत्तरको आवश्यक्ता पर्दछ । जबसम्म नेपालमा थिएँ मैले कहिल्यै आफू कुन धर्मको भनेर पहिचान गराउन आवश्यक थिएन । आज यहाँ आवश्यक्ता प¥यो र पो मैले आफूलाई हिन्दू भनेर परिचित गराउने अवस्था आयो ।
आजसम्म पनि पाकिस्तानमा मेरै नजिकमा बस्दै आएका दुई दर्जन हिन्दू नेपालीहरु आफूलाई बौद्धधर्म मान्ने परिवारमा जन्मेको भनेर बसिरहेका छन् । नेपाली मानिसको जीवनमा आउने हरेक घटनाले कुनै न कुनै पाठ सिकाएको हुन्छ । मेरो पाकिस्तान बसाईले मलाई धेरै कुरा सिकाएको छ । ती धेरै मध्यका एक यो पनि हो की समस्या आईपर्छ भनेर आफ्नो परिचयत तोडमरोड गर्नु आवश्यक छैन । अरुको अनुभव सधैँ सत्य नहुन सक्छ, त्यसैले सुनको भन्दा भोगेको ज्ञान विश्वसनीय हुन्छ ।
न्यूज २४ टेलिभिजनका पूर्वपत्रकार लामिछाने अहिले पाकिस्तानमा पत्रकारितामा अध्ययनरत छन् ।















प्रतिक्रिया