
काठमाडौं । सरकारमा सहभागी आफ्ना मन्त्रीले प्रभावकारी काम गर्न नसकेपछि एमाओवादीले सर्वसाधारणबाट सुझाब माग्न थालेको छ । सँगै मन्त्रीका गलत कामविरुद्ध उजुरी दिनसमेत छुट्टै पेटिका राखिएको छ ।
सरकार सञ्चालन सहयोग तथा समन्वय समितिले मन्त्रीहरूले गर्नुपर्ने नयाँ कामको योजनाबारे सुझाब दिन सर्वसाधारणलाई आग्रह गरेको हो । त्यसका लागि २१ पुसबाट सुझाबपेटिका पनि राखेको छ, जहाँ सर्वसाधारणले मन्त्रीले गर्नुपर्ने कामबारे लिखित सुझाब दिन सक्छन् ।
पार्टीको तर्फबाट सरकारमा सहभागी आठ मन्त्रीले केही गलत काम गरेको भए तिनका बारेमा उजुरी दिन पनि पेटिका राखिएको छ । त्यस्तो उजुरीलाई गोप्य राखिने छ ।
एमाओवादीको कार्यालय सचिवसमेत रहेका सरकार सञ्चालन सहयोग तथा समन्वय समितिका सचिवालय सचिव प्रकाश पोखरेलले मन्त्रीका गलत कामबारे उजुरी र सुझाबका लागि पेटिका राखिएको बताए ।
पोखरेलका अनुसार उजुरीपेटिका समितिको प्रत्येक बैठकमा खोलिनेछ । उजुरी र सुझाब सम्बन्धित मन्त्रीलाई देखाइनेछ । उजुरीबारे मन्त्रीहरूसँग जवाफ मागिने र गलत गरेको भए सच्याउन निर्देशन दिइने उनले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।















प्रतिक्रिया