काठमाडौं, ३१ असार । नेकपा एमालेका महासचिवमा ईश्वर पोखरेल निर्वाचित हुनुभएको छ ।
प्रत्यासी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल दोस्रोपटक महासचिवमा निर्वाचित हुनुभएको हो । यसअघि उहाँ वुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट महासचिव निर्वाचित हुनुभएको थियो ।
महासचिव पोखरेल पाण्डेको भन्दा २२ मत बढी ल्याएर विजयी हुनुभएको हो । पोखरेलले १ हजार ४९ ल्याउँदा पाण्डेले १ हजार २७ मत पाउनुभयो ।
को हुन ईश्वर पोखरेल ?
स्कूल जीवनमै प्रगतिशील राजनीति लाग्नुभएका इश्वर पोखरेलको जन्म वि सं. २०१० साल फागुनमा ओखलढुंगाको मामखा गाउँमा भएको हो । शिवराज र रामकुमारीकाको किसान परिवारमा जन्मिएका पोखरेलले स्नातकसम्म अध्ययन गर्नुभएको छ । उहाँले २०२७ सालमा पार्टी सस्यता प्राप्त गर्नुभएको हो, भूमिगतकालमा उहांको नाम थिए, सीताराम, नवीन, मिलन पाण्डे, विश्वास, संवत्सर । २०३२ सालदेखि कोअर्डिनेशन कमिटिको भूमिगत पेशेवर कार्यकर्ताको रुपमा पोखरेल कम्युनिष्ट राजनीतिमा सक्रिय हुनुभयो । २०३३ सालमा कोडिनेशन केन्द्रका केन्द्रीय सदस्य बन्नुभएका पोखरेल २०३५ सालमा मालेको संस्थापक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । २०४६ सालको चौधो महाविधेशनबाट उहाँ केन्द्रीय कमिटि सदस्य निर्वाचित हुनुभयो । यसैगरी २०४७ सालमा माले र माक्र्सवादी एकताबाट बनेको एमालेमा पनि केन्द्रीय सदस्य हुनुभयो । २०५९ सालको सातौं महाधिवेशनपछि पोखरेललाई पार्टीको पोलिटब्युरो सदस्य र केन्द्रीय संगठन विभाग प्रमुख बनाइयो । २०५६ सालको उपनिर्वाचनमा काठमाडौं ३ बाट प्रतिनिधिसभा निर्वाचित भएका पोखरेल २०६१ सालको शेरबहादुर देउवाको नेतृत्वको सरकारको उद्योग तथा आपूर्ति मन्त्री बन्नुभयो । २०६५ सालमा वुटवलमा भएको आठौं महाधिवेशनबाट महासचिव बन्नुभएका पोखरेल एमालेका गतिशील, भिजनरी नेता हुनुहुन्छ । कार्यकर्ताको भावनालाई नजिकबाट छाम्न सक्ने खुबी राख्ने पोखरेललाई यसै महाधिवेशनमा अध्यक्षका लागि प्रस्ताव गरिएपनि शीर्ष नेता केपी ओलीलाई अवसर दिनुपर्ने भन्दै त्यो पद त्याग्नुभएको थियो ।
















प्रतिक्रिया