
रामकुमारीजी, तपार्इंले ‘महँगो भए पनि टन्न धेरै भट्ट्मास खाएर पेटमा ग्याँस बनाउने र पेटमा जम्मा भएको बायु मार्फत प्रधानमन्त्रीको योजना सफल बनाइदिने’ फेसबुक स्टाटस राखेको देख्द्दा तपाईंप्रति टिठ लागेर आयो।
तपार्इँले त बरु प्रधानमन्त्रीज्यू अहिलेको प्राथमिकता घरघरमा ग्याँसपाइप लाइन होइन्, तपार्इँप्रति दुर दराजमा गाउँमा बस्ने गरिब, सुकुम्बासी र मेहनतकस जनताले गरेको आशा र बिश्वास फरक छ, गाउँका निमुखा जनताहरुको लागि तपाईले यो–यो सुबिधा दिनुपर्छ भनेर प्रधानमन्त्रीलाई युवाहरुको नेतृत्व गर्दै सरकारले गर्ने कामको लागि अल्पकालीन र दिर्घकालिन योजना दिन सक्नुपर्थ्यो, सरकारमा पुगेपछि नेताहरुले जनताको अप्ठ्यारो भुल्ने तरिकाप्रति सरकारलाई झकझकाउन सक्नुपर्थ्यो, शहरको जनता त दुःखसुख साथ बाँचेको छ, ग्याँस पाइपलाइनको सट्टा गाउँमा सस्तोमा मट्टितेल देऊ, वायोग्याँस र सोलर देऊ भन्नुपर्थ्यो। तपाई गाउमै जन्मे हुर्केर राजनीतिमा बामे सरेको मान्छेले न गाउँप्रतिको माया देखाउन सक्नुभयो, न अहिले आफू बसेको शहरी इलाकामा ग्याँसको पाइप जोड्ने कुराको वकालत गर्नुभयो।
प्रधानमन्त्रीले यो बकबास मात्र गरेका होइनन् र निकट भबिष्यमा यो काम सबैले देख्ने गरी गर्दैछन्, यो काम गर्न सरकारले खास लगानी पनि गर्नुपर्दैन र नीजि क्षेत्रको सहयोगमा यो काम हुन सक्छ । शहरमा अर्कोको घरमा डेरा गरेर बस्ने मान्छेले दाउरामा खाना पकाउन पाउँदैन, उसले ग्यास किन्नै पर्छ, बिजुली नभए टुकी मैनवत्ती बाल्ला, शुध्द पानी नपाए फिल्टर गरेर खाला । तर ग्यास त बाल्नैपर्छ, किन्नैपर्छ । सरकारले नीजि र उपभोक्ताहरुसंगको साझेदारीमा २ बर्षभित्र घना बस्ती भएको शहरी इलाकामा यो काम सजिलो गरी गराउन, गर्न सक्छ। यस्तो साफ सपाट प्रधानमन्त्रीको योजनालाई तपार्इंले पेटबाट निस्कने बायुसंग तुलना गर्नु तपाईँले नेकपा एमालेले गरेका ९ महिने सरकारको पालाका कामको अवमुल्यन गर्नुभयो । एमालेले त्यसबेला गर्न थालेका जनपक्षीय कामलाई बिरोधीहरुले अहिले तपार्इंले गरेका बिरोध जस्तै बोलेका थिए, कनिका छर्यो भन्थे गाउँमा ५ लाख पैसा पठाउँदा ।

बरु तपाइले भन्न सक्नुपर्थ्यो– प्रमज्यू ! शहरमा ग्यास लाइन बाड्ने मात्र होइन्, गाउँमा जनतालाई गर्ने बिकासका अरु योजना के छन् ? तपाईका अब आगामी २ बर्षको सम्पन्न गर्ने दीर्घकालीन र बीचमा सम्पन्न हुने अल्पकालीन योजना के छन् ?’ तर तपाइँले भन्नुभएन । बरु प्रधानमन्त्री र आफू केन्द्रीय सदस्य भएको पार्टीको अध्यक्षले आफूले गर्नसक्छु भनेर गरेको प्रतिबद्दताप्रति तपार्इंले अपानवायु (पेटबाट निस्कने ग्यास) सँग तुलना गर्नुभयो । के तपाईंको चाहना एमालेले नेतृत्व गरेको सरकारले चलते चलाते हिसाबमा मात्र चलोस, कुनै जनताको हितको लागि कुनै राम्रो र नयाँ काम नगरोस भन्ने हो ? यस्तो कुरा त बिरोधी पार्टीले मात्र गर्छन् । तपाई एमाले पार्टीकै कार्यकर्ताले कसरी यो हिम्मत गर्नुभयो, म अचम्म परेको छु ।
धेरै युबा जमातले प्रम केपी ओलीले जनताको घरघरमा ग्यास पाइप लाइन जोड्ने कुरालाई पत्त्याएनन् । ग्यासको सिलिन्डर नपाएर हैरान परेको बेला पाइपलाइनको कुरा उनीहरुलाई चित्त नबुझ्नु स्वभाबिक हो । जनताले आलोचना, गाली, बिरोध गर्न अधिकार छ, तर एमाले पार्टीभित्र तपार्इंले गरेको यो बिरोधको तरिका ठिक भएन। पार्टी कमिटीभित्र प्रधानमन्त्रीजी यो काम कसरी ,कहिले र किन गर्दै हुनुहुन्छ, सरकारले यस कामको लागि निर्णय गरेर प्रधानमन्त्री बोल्नु भएको हो कि आफुखुशी भनि प्रश्न उठाउन सक्नु हुन्थ्यो । मधेसमा भड्किएको अराजकताबिरुद्द युवा संघको अध्यक्षले छाती थापेर प्रतिकार गर्दा तपाईले उनलाई हौसला पो दिनुपर्थ्यो। तपार्इंलार्इं लाग्यो होला, केपी ओलीलाई धेरै मान्छेहरुले बोलेको कुरालाई हावामा उडाए, मौका यही हो म पनि युबाजमातको प्यारो हुन यही बेला बोली हालौं – के समाजका अरु खुला मान्छे जस्तै तपाइँ फुक्काफाल हुनुहुन्छ ? तपाइँलाइ जस्तै हामीलाई पनि पार्टीको केन्द्रीय समिति, पार्टी केन्द्रका बडेबडेमान नेताप्रति आकोश छ, आलोचना छ । के हामी पनि तपार्इंहरुको काम क्रियाकलापप्रति खुला बहस गरौ ? हामी अझै त्यो हदसम्म पुग्दैनौँ । भोलि तपाइँ हामी बसेर हाम्रो पार्टीमा अहिलेसम्म गर्दै गरिदै आएका परम्परा ठिकै या गलत जे भए पनि भयो, अब हामी नेतालाई बिरोधीहरुले जस्तै लखेट्ने छौँ, हामीमा बिगतदेखि परिकल्पना गरिएको लक्ष्य उद्देश्यप्रति कुनै जिम्मेवारी छैन, हामी बुर्जुवा भन्दा पनि अगाडि निस्क्यौ भनेर यौटा छिनोफानो गरौला, घोषणा गरेरै गर्दा इमान्दार भईन्छ ? तपार्इंले गरे जस्तै सबै मान्छेहरुले गर्दै जाने हो भने यो पार्टी बच्ला ? कि तपाइले भन्नु पर्यो– मेरो र यो पार्टीमा काम गर्ने अरुको बिचमा फरक छ । फरक केमा छ भने म हिजो ६२–६३ को आन्दोलनमा टाउकोबाट रगत बगेको छ ’ मलाई पार्टीले एउटा सभासद् पनि बनाएन । म अखिलको सभापति भएँ, अरु महिला हुन सकेनन।’
हो ’ तपार्इंलार्इ सभासद बनाउनुपर्थ्यो, त्यसमा कमजोरी यसकारण देखियो कि तपाइँ भन्दा कम योगदान रहेको मान्छे सभासद बने । तर नेत्रीज्यु ! एमालेको सांसद हुने अन्तिम समय तपाइँहरुले नै नबिगार्ने हो भने अन्तिम होइन डेढ बर्षभित्रै फेरि आउँदैछ । फेरि त्यति बेला पार्टीमा योगदान दिएको तर सभासद नभएको मान्छे तपाइँ एक्लो भने होइन्, तपाइँ भन्दा सयौ गुणा बढी योगदान दिएका मान्छे पनि छुटेका छन्।
हुन त राजनीतिमा लागेको जोगी हुन होइन भन्ने नयाँ सुत्र एमालेमा पनि शुरु भएको छ ,मान्छेले मैले राजनीतिमा लागेर देश र जनतालाई के दिएँ भन्ने होइन कि मैले यति बर्ष पार्टीमा काम गरेर के पाएँ ? भन्नेमा छलफल हुन् थालेको छ । मैले आन्दोलनमा टाउको फुटालेँ तर मलाइ पार्टीले मन्त्री, सांसद केही बनाएन भन्ने मात्र एकातिर सुनिन थालेको छ भने अर्कोतिर नेताहरुले दुख पाएको पार्टीमा योगदान पुर्याएको कार्यकर्ता भन्दा पनि आफ्नो आफन्त नातेदारहरुको कुरो सुन्ने र आफूलाई हाइ हाइ गराउने कार्यकर्ताको खोजी हुन थालेको छ । कार्यकर्ता पनि नेताको गलत कृयाकलापको बिरोध आलोचना गर्नु भन्दा पनि एउटा नेतालाई बोकेर हिड्ने , आफ्नो स्वतन्त्र र बिशिष्ट क्षमता नचिन्ने र नेताको गोटी बन्ने मात्र बाटोमा अग्रसर हुने गरिएको छ । तथापि गलत कामहरु जहिले र जस्तो सुकै परिस्थितिमा गलत नै हुन्छन्, गलत बाटो पक्रेर कहिल्यै पनि गन्तव्यमा पुग्न सकिन्न । तथापि एउटा आन्दोलन र प्रक्रियाबाट आएको एउटा जिम्मेवार मान्छेले आउने पुस्तालाई पनि त्यो बाटोमा लाग्ने प्रेरणा दिनुको सट्टा अझ गैरजिम्मेवार तिरको यात्रामा धकेलीदिने प्रयास गर्नु भएकोमा दुःख लागेर यो सानो चिट्ठी लेखेको हूँ। कृपया अन्यथा नसोचिदिनुहोला । तपाईं पार्टीको होनाहार भविष्य बोकेको नेतामात्र होइन, एउटा चेलीको नाताले पनि शुभचिन्तक पनि हुँ ।
(शिकागो, अमेरिका)















प्रतिक्रिया