
काठमाडौं, २ माघ । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले मधेसवादी दलका एक एक नेताको नागरिकता छानविन गर्नुपर्ने बताउनुभएको छ ।
‘विकास निर्माण र सिर्जनाका लागि युवा अभियान, समग्र सिन्धुपाल्चोकको समृद्धिका लागि व्यापक युवा परिचालन’ भन्ने नाराका साथ आजबाट सुरु भएको युवा संघ नेपाल सिन्धुपाल्चोकको ९ औं जिल्ला अधिवेशनलाई मेलम्चीमा सम्बोधन गर्दै पहारीले २०११ सालदेखि १३ सालसम्मको अवधिमा मधेसमा बनेका एक एक नागरिकताको छानविन गर्न सरकार माग गर्नुभयो ।
उहाँले शुक्रबार बारामा भारतीय प्रहरीले नेपाल पसेर गरेको ज्यादतिको विरोध गर्दै तत्काल कुटनीतिक पहलबाट दोषीलाई कारवाही गर्न सरकार माग गर्नुभयो ।
मधेसका राजनीतिक दलका नेताले प्रतिशोधको भावनाले माधवअधिकार, बोल्न पाउने अधिकार हनन गरेको पहारीको आरोप छ । उहाँले भन्नुभयो– ‘नेपाललाई सिक्कमरण, भुटानीकरणको डिजाइन्मा मधेसका नेताहरु आन्दोलन गरिरहेका छन् । राष्ट्रियता, अखण्डता आँच ल्याउनेलाई कारवाही गर्नुपर्छ ।’
उहाँले कालोबजारी नियन्त्रणमा सरकारको ध्यानाकर्षण गर्नुभयो । युवाहरुलाई उत्पादनमा जोड्ने कार्यक्रममा चाँडै नै युवाहरुको विकाससम्बन्धि २० वर्ष रणनीति सार्वजनिक गरिने पहारीले बताउनुभयो ।
कार्यक्रमलाई नेकपा एमालेका नेता अरुण नेपाल, सभासद शेरबहादुर तामाङ लगायतले सम्बोधन गर्नुभएको युवा संघका केन्द्रीय प्रचार विभाग सदस्य सञ्जीव रोकाले जानकारी दिनुभयो ।












प्रतिक्रिया