
गोदावरी (कैलाली), २ माघ । कैलालीको गोदावरी अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेलामा हिन्दू धर्मालम्वीहरुको ठूलो जमघट भइरहेको छ ।
आगामी एक महिनासम्म सञ्चालन हुने कुम्भ मेलामा सुदूरपश्चिमका नौ वटै र मध्यपश्चिमका वाँके, वर्दिया लगायतका जिल्लाबाट दर्शनाभिलासीहरु आउने गरेका छन । आयोजक नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीको अनुसार भारतको उत्तरप्रदेश र उत्तराञ्चल क्षेत्रबाट पनि कुम्भ मेलामा ठूलो सहभागिता हुने गरेको छ ।
शुक्रवार माघे संक्रान्तीका दिन दश लाखले कुम्भ मेला भरेको दावी नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका माहसचिव टिएन जोशीले वताउनुभयो । संक्रान्तीमा तीन कुण्डहरुमा लाखौ भक्तजनले महास्नान गरेको पनि जोशीले वताउनुभयो । कुम्भ अवधीमा माघ १ , माघ १०, माघ २१, माघ २५ र फागुन १ लाई पनि महास्नानका दिन घोषणा गरिएको छ ।
संक्रान्तिका दिन अत्तरियादेखि गोदावरीसम्मको छ किलोमिटरमा विहान ३ वजेदेखि साँझ ५ वजेसम्म मानवसागर उर्लिएको कुम्भ मेलाको प्रचार प्रसार समितिका संयोजक गोविन्द रोस्याराले वताउनुभयो । एक महिनाको अवधीमा ५० लाख दर्शनार्थी आउने अनुमान आयोजकले गरेका छन ।
पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल मानस क्षेत्र उत्तरधाम मानिने गोदावरीमा शिव पार्वतीले तपस्या गरेको जनविश्वास छ । गोदावरीमा विगतमा पनि माघे संक्रान्ती, शिवरात्री लगायतका हिन्दु धर्मका विषेश चाडमा मेला लाग्ने गर्दछन भने धेरैले विहेवारी, व्रतवन्द र दाहसंस्कार लगायतका कर्म पनि गर्दे आएका छन ।
कैलालीको गोदावरी अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेलाको विहीबार राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्नु भएको थियो ।












प्रतिक्रिया