
– नवदीप श्रेष्ठ
त्रिशूली (नुवाकोट), १ माघ । हरेक माघे सङ्क्रान्तिको अवसरमा तारूकाको गोरू जुधाई पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको छ ।
तारूकालाई पछ्याउँदै जिल्लाका अन्य तीन स्थानमा समेत गोरू जुधाइने कार्यक्रम आयोजना गरेर दर्शकलाई मनोरञ्जन दिलाइएको छ ।
जिल्लामा फैलँदै गएको गोरु जुधाउने परम्परालाई तारुकाले पछिल्लो ११ वर्षदेखि व्यवस्थित रुपमा निरन्तरता दिँदै आएको छ ।
आफ्नै शैलीमा टोल र गाउँमा दुई/चार हल गोरु जुधाउन गरिएकोमा व्यवस्थित गर्न भन्दै तारुकावासीले २०६२ सालबाट एकैस्थानमा गोरु जुधाउन थालेपछि बेत्रावतीमा पनि पछिल्लो ८ वर्षदेखि एकै स्थानमा गोरु जुधाएर दर्शकलाई मनोरञ्जन गराउन थालिएको हो । यो वर्षदेखि पञ्चकन्या गाविसको घलेभञ्ज्याङमा पनि गोरु जुधाउने परम्पराको थालनी गरिएको छ ।
कृषि कर्मको लागि पालिएको गोरुलाई हिउँदमा फुर्सदको समयमा जुधाएर मनोरञ्जन दिने र पर्यटन आकर्षण गराउने परम्परा सुरु भएको हो । तारुका–५ चन्दनीमा यो वर्ष १४ हल गोरु जुधाइएको छ भने बेत्रावतीमा ८ र पञ्चकन्याको घलेभञ्ज्याङमा ४ गरी गरी आज २६ हल गोरू जुधाइएको छ ।
तारुकोको गोरु जुधाइ मोलको सिंचाई मन्त्री उमेश यादवले उद्घाटन गर्दै हरेक मेलाको सांस्कृतिक महत्व हूने र यसको संरक्षण गर्दै जानु पर्ने बताउनुभयो । उहाले गोरु जुधाउने परम्परा पनि संस्कृतिको रुपमा आन्तरिक र बाह्य पर्यटन विस्तारमा भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा सांसद राममाया बोगटी, सांसद राज्यलक्ष्मी श्रेष्ठसहित जिल्लामा विभिन्न पार्टीका नेता पुग्नु्भएको थियो ।
मेलामा जुधाइएको गोरुधनीलाई पुरस्कृत समेत गरिएको थियो । विजेता गोरुको धनीलाई ३ हजार रुपैयाँ र हार्ने गोरुको धनीलाई १५ सय रुपैया रकम उपलब्ध गराइएको माघे संक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुङ्गानाले बताउनुभयो ।
तारुकामा गोरु जुधाएको हेर्न धादिङ, काठमाडौ, चितवन, हेटौडा, रसुवालगायतका जिल्लाबाट समेत दर्शक आएका थिए भने बेत्रावती र चारघरेमा पनि मानिसको घुइचो लागेको थियो ।
ऐतिहासिक प्रमाण नभेटिए पनि यहा“को गोरु जुधाई परम्परा डेढ सय वर्षभन्दा पुरानो मानिन्छ । तारुकामा बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली खलकको घर रहेको र उनी मामाघर आउदा भाञ्जालाई मनोरञ्जन गराउन पहिलो पटक गोरु जुधाएको यहाका बुढापाकाहरुको बताउछन् । तर यसको प्रमाण भने कतै फेला परेको छैन । भनाई जे जे भए पनि यो यहाको वर्षौ पुरानो परम्परा भएकाले अहिले पनि निरन्तरता दिदै तन्नेरी पुस्तालाई रमाइलो परम्पराले मनोरञ्जन गराउदै आएको मेला व्यवस्थापन समितिका अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।
गोरु जुधाइ मेलालाई थप मनोरञ्जन दिलाउन राजधानीबाट लोकदोहोरी गायक टोली र स्थानीय भजन समूहले दर्शकलाई साङ्गीतिक प्रस्तुति गरेका थिए ।












प्रतिक्रिया