७ कार्तिक २०८३, शनिबार

के गर्दै छन् यी चार नेता ?, घर भाडाको झमेलामा पूर्वराष्ट्रपति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4 Netaकाठमाडौं, १ माघ । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भएर सात वर्ष देशको नेतृत्व गरेका डा। रामवरण यादव अहिले आफ्नो डेराको झमेलामा छन् ।

ललितपुरको बागडोलमा सरकारले उनका लागि लिएको घरको भाडा कति हो भन्ने विवादले उनी तनावमा छन् । बागडोलमै छोरीको नाममा घर छ, तर सरकारले नजिकै अर्को घरमा एक लाख ३० हजार तिरेर उनलाई राखेको छ ।

शीतलनिवासबाट सर्ने वेलामा उनलाई सरकारले ५० हजार मासिक घरभाडा दिने तयारी गरेपछि उनले मन दुखाएका थिए । ‘पाटीमै राख्छन् भने पनि ठीक छ’ भनेर उनले दुस्खेसो गरेपछि सरकारले बागडोलमा हतारहतारमा एउटा घर व्यवस्था गरिदिएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ

त्यतिवेला एक लाख ३० हजार भाडा तय गरिएको थियो, तर अहिले घरभाडा कर कसले तिर्ने भन्नेमा सरकार र घरबेटी विवादमा छन् ।

तलनिवासबाट १४ कात्तिकमा बागडोल सरेका उनको बस्ने ठेगान अझै लागेको छैन । स्थायी बसोवासको कुनै प्रबन्ध नभएपछि तत्काल के गर्ने भन्ने अन्योलमै रहेको तत्कालीन राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहाल बताउँछन् ।

‘घरमा बस्नुहुन्छ । नेता–कार्यकर्ता आउँछन्, गफ गर्नुहुन्छ,’ दाहालले भने, ‘सेटल हुन केही समय लाग्छ । बसोवासको टुंगो लागेपछि उहाँले केमा कसरी काम गर्ने टुंगो लगाउनुहोला ।’

यादव २९ जनवरीमा ब्रह्मकुमारी (माउन्ट आबु) र महात्मा गान्धीको जन्मस्थल जाने कार्यक्रम छ । उनी एक हप्ता भारतमै रहनेछन् ।

यसबीचमा उनी जनकपुरलगायतका स्थानमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रपति हुँदा र पदबाट हटेपछि पनि यादवको चासो चुरे क्षेत्रमा छ ।

चुरे क्षेत्रमा भएका ढुंगा, गिटी, बालुवा, माटोको अनियन्त्रित दोहनप्रति सधैँ चिन्तित यादवले यसलाई रोक्न आफू क्रियाशील हुने बताएका छन् ।

कोइराला प्रधानमन्त्री भएपछि राष्ट्रपतिको उपेक्षा भयो : डा. यादव

फास्ट ट्रयाकबाट संविधान बनाउने पद्धतिप्रति त्यतिवेलै असन्तुष्टि व्यक्त गरेका डा. यादवले निवृत्त भइसकेपछि यो विषयमा खुलेरै विरोध गरे ।

‘राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला’ शीर्षकको पुस्तक विमोचन गर्न १६ पुसमा आयोजित कार्यक्रममा उनका मुख्य भनाइ : खासमा कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भएपछि मलाई संविधान निर्माणबाट बाहिर राख्ने काम भएको हो ।

फास्ट ट्रयाकबाट संविधान अहिलेसम्म संसारका कुनै मुलुकमा बनेको छैन । संविधान निर्माण गर्ने आफ्नै प्रक्रिया हुन्छ । सबै विषयहरूमा यथेष्ट डिस्कसन हुनुपर्छ भन्ने सुझाब मैले नेताहरूलाई दिएको थिएँ ।

फास्ट ट्रयाकबाट संविधान जारी भए दुर्घटना हुन्छ भनेर मैले राष्ट्रप्रमुखको रूपमा दिएको चेतावनी सुनिएन । त्यसले अहिले समस्या चर्किएको हो । अहिलेसम्म मधेस देशभित्रै छ । तर, मधेसको समस्या लोकतान्त्रिक विधिबाट समाधान गरिएन भने पोखिने खतरा बढेको छ ।

नेम्वाङको विवादास्पद चयन

लगातार १० वर्ष सभामुख रहेका सुवास नेम्वाङलाई अहिले एमालेले स्थायी समिति सदस्य मात्र होइन, संसदीय दलको उपनेता बनाएको छ ।

तर, उपनेतामा व्यक्ति ठीक भए पनि छनोट प्रक्रिया गलत भएको भन्दै पदाधिकारीले नै असन्तुष्टि जनाएका छन् ।

पार्टीभित्र छलफल नै नगरी माधव नेपाल, झलनाथ खनाललगायतका फरक खेमाका नेताहरू उपस्थित नै नभएको संसदीय दलको बैठकबाट नेम्वाङलाई उपनेता बनाइएको थियो ।

एक दशक पार्टीको गतिविधिबाट बाहिर रहेका उनी अहिले भने सक्रिय छन् । उपत्यकास्तरीय प्रशिक्षण, गण्डकी अञ्चल भेला, बागमती अञ्चलस्तरीय भेलामा सहभागी भए पनि उनले खासै राजनीतिक प्रतिक्रिया दिएका छैनन् ।

राष्ट्रपति जनकपुर जानु गलत : रेग्मी

चुनावी सरकारका प्रमुख खिलराज रेग्मी सार्वजनिक कार्यक्रममा खासै देखिन्नन् । तर, उनका सहयोगी राजेन्द्र पाण्डे भन्छन्, ‘महिनामा कम्तीमा ६ वटा सार्वजनिक कार्यक्रम भ्याउनुहुन्छ ।’ अध्यक्षबाट हटेपछि रेग्मीले पाँचपटक विदेश भ्रमण गरिसकेका छन् ।

मध्यबानेश्वस्थित घरमा नेता–कार्यकर्ता, कानुन व्यवसायीसँग उनी नियमित भेट गर्छन् । प्रधानन्यायाधीश र सरकारप्रमुखको रूपमा प्राप्त अनुभवलाई टिपोट गरिरहेका रेग्मीले आत्मकथा लेख्ने तयारी गरेका छन् ।

रोजगार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औा वार्षिक साधारणसभामा भने उनले राष्ट्रपति विद्या भण्डारीको खुलेरै आलोचना गरे । उनको भनाइ थियो, ‘राष्ट्रको एकताको प्रतीकको रुपमा रहने राष्ट्रप्रमुखजस्तो व्यक्ति विवादित ठाउँमा नगएको भए राम्रो हुन्थ्यो ।

जानाले अनावश्यक विवाद भयो ।’ रेग्मीले भ्रष्टाचारमा शंका लागेका व्यक्तिमाथि छानबिन गर्ने अख्तियारको प्रयासलाई निरुत्साहित गर्ने गरी प्रतिक्रिया आउनु ठीक नभएको धारणा पनि राखे ।

‘आयोगले पनि निष्पक्ष र न्यायपूर्ण निर्णय गर्नुपर्दछ, त्यसका लागि सम्बन्धित पक्षहरूबाट सकारात्मक नै सहयोग हुनुपर्दछ,’ उनको भनाइ थियो ।

वामदेवको दैनिकी घरमै

तीनपटक गृहमन्त्री भएका र सधैँ चर्चामा रहेका वामदेव गौतम नयाँ सरकार गठन भएपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

पछिल्लो समय चिसोको संक्रमणका कारण पाँच दिन अस्पताल बसेका गौतम घर त फर्किएका छन्, तर बाहिरका कार्यक्रममा गएका छैनन् ।

कृषि तथा सहकारी क्षेत्रका केही कार्यक्रममा सहभागी भए पनि धेरैजसो उनी घरमै बस्छन् । आगामी महाधिवेशनसम्म ७० वर्ष पुग्ने गौतम पार्टीको विधानअनुसार रिटायर्ड हुनुपर्नेछ ।