
काठमाडौं, २९ पुस । हिमपात र चिसोले कष्टकर जीवन विताइरहेका भूकम्प पीडितलाई नेपाली सेनाले राहत वितरण गरेको छ ।
मंगलबार र बुधबार सेनाले भूकम्प अति प्रभावित गोरखा, दोलखा र नुवाकोट जिल्लाको बिभिन्न क्षेत्रहरुमा न्यानो कपडा र खाद्यान्न सामग्री बाडेको सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले जनाएको छ ।
‘बैशाख १२ को विनाशकारी भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुमा बिगत केही दिन देखी परिरहेको हिमपातको कारण भूकम्प अति प्रभावित गोरखा, दोलखा र नुवाकोट जिल्लाको बिभिन्न क्षेत्रहरुमा चिसोको कारण भूकम्प पीडित जनताहरुको दैनिकी कष्टकर बन्दै गईरहेकोले नेपाली सेनाले मंगलबारबाट न्यानो कपडा तथा खाद्यन्न वितरण कार्य शुरु गरेको छ ।’ सेनाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैकार्य अन्तर्गत सेनाले बुधबार गोरखाको केरौजा गाविसस्थित केरौजागाउँमा चिसोद्वारा प्रभावित स्थानीय भूकम्प पीडित ४६५ घरधुरीलाई मण्डी ३०० गोटा, टाटपोलिन ८५ गोटा, बिस्कुट २७ कार्टुन, ड्राई राशन १२ कार्टुन, जर्किन १०० गोटा र औषधी ५० प्याकेट वितरण गरेको छ ।
त्यसैगरी सोही जिल्लाको चुम्चेत गाविस वडा नं. २ चिप्चेतमा ३८ घरधुरीलार्ई मण्डी ५० गोटा, टाटपोलिन ४० गोटा, बिस्कुट ८ कार्टुन र जर्किन ५० गोटा वितरण गरेको छ भने घ्याच्चोक गाविस वडा नं. ६ मा ४८१ घरधुरीलाई मण्डी ३५० गोटा, टाटपोलिन २०० गोटा, बिस्कुट २५ कार्टुन, ड्राई राशन २७ कार्टुन र जर्किन ४ गोटा वितरण गरेको छ ।
नेपाली सेना हाल चिसोको कारण उत्पन्न मानवीय संकटको घडी एवम् जस्तोसुकै परिस्थितिमा समेत संवेदनशिल भई निस्वार्थ भावनाले देश र जनताप्रति उत्तरदायी एवं अनवरत रुपमा समर्पित रहने विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया