२८ आश्विन २०८३, बुधबार

एमाले राष्ट्रिय महाधिवेसन: ओलीले जिते के हुन्छ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep bhattarai

एमालेको नवौं राष्ट्रिय महाधिवेसनले एमाले अध्यक्ष को हुने भन्ने? प्रश्नको उत्तरमा एमालेलाई मात्र हैन, मुलुक, मुलुकबासी र नेपालका हितैसी विदेसी मित्र राष्ट्र हरुका लागि पनि छनौट दियो, केपी शर्मा ओली वा माधवकुमार नेपाल । यो छनौट गर्ने अधिकार एमाले नेता कार्यकर्ताको मात्र भए पनि उनीहरुको छनौट यस्तो भैदिए हुन्थ्यो भन्ने सोच र कोणमा सारा मानिसहरु ध्रुवीकरण हुनु स्वभाविक थियो । त्यही धु्रवीकरणको एक कित्तामा यो पंक्तिकार पनि थियो । तथ्य र तर्कका आधारमा उसले लेख्यो, अवको एमाले माधव नेपालले हैन, केपी ओलीले नेतृत्व गर्नुपर्छ । ओलीको पक्षमा मात्र दुईवटा तर्क थिए, मालेको संस्थापक नेता जीवनभर त्यही पार्टीमा रहदा पनि के उनका लागि अध्यक्ष पद पाउँनै नहुने हो ? त्यही पार्टीमा लागेर रोग लाग्यो, के त्यही रोग उनका लागि पार्टी नेतृत्व गर्न अभिसाप हुने हो ? माधव कुमार नेपालका विपक्षमा पनि मूलतः दुइवटा तर्क थिए, पार्टी महासचिव भएर १५ वर्ष पार्टी र प्रधानमन्त्रीका रुपमा परीक्षण भैसकेको नेपाल नेतृत्व अब फेरि के का लागि ? अझ, पार्टीकै काममा लाग्दा रोग लागेका ओलीलाई रोगी भनेर अमानवीय टिप्पणी गर्ने र नेतृत्व गर्न नै नदिने यो कुन किसिमको राजनीतिक चरित्र हो ? यिनै प्रश्नहरुको सेरोफेरोमा पछिल्लो विलोमको शीर्षक जुरेको थियो, कुखुराको पित्त र माकुनेको चित्त ।

शायद फाइदा हुने देखेर होला, ओली पक्षले यो आलेखलाई सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पार्यो । यसबाट नेपाल पक्षधरको टाउको दखेछ क्यारे, एकजना नेपाल पक्षधर कार्यकर्ताले त सामाजिक सञ्जालमै लेखे, प्रदीप भट्टराई के को डाक्टर हुन्थ्यो, डाका हो । पंक्तिकारको आरोप थियो, माधवकुमारको चित्त कुखुराको पित्त उस्तै हो नानू । के खोज्छस् कानो ? आँखा भनेझैं उनका कार्यकर्ताले त्यही पुष्टि गरी दिए, जस्तो नेता उस्तै कार्यकर्ता । आफ्नो नेताका लागि जावो त्यति आलोचना त पचाउन नसक्ने मान्छेको चित्त कुखराको पित्त नभएर के हात्तिको जत्रो हुन्छ त ?

प्रसंग एमालेको नवौं राष्ट्रिय महाधिवेसनको हो । नेपालको सानो चित्तबाटै उप्काऔं । यो महाधिवेसनमा नेपालले आफ्नो सानो चित्त हरेक ठाउँमा देखाए, एमाले महाधिवेसनलाई हाइटेक हुन दिएनन् । यस क्रममा विधुतीय मतदानलाई अस्वीकार गर्दै मतदान र मतगणना प्रक्रियालाई नै बोझिलो बनाइ दिए । प्रतिनिधिलाई दिएको बारकोडसहितको परिचयपत्र सम्बन्धितको हस्ताक्षर नभएको अड्को थापेर फेरि अर्को बनाउन लगाए । पार्टीको मुखपत्रमा आफ्नो सामग्री नपरेको भनेर महाधिवेसनस्थलमा बाँड्नै दिएनन् । आफ्नै पार्टीका उपाध्यक्ष वामदेव गौतम सरकारमा रहेर सत्ता दुरुपयोग गरेको आरोपमात्र लगाएनन्, मत खरीद गरेकोसम्म पनि भन्न भ्याए । के यी सबै मुलुकको नम्बर १ कम्युनिष्ट पार्टी एमालेको १५ वर्ष महासचिव मात्र हैन, मुलुकको प्रधानमन्त्रीसमेत भैसकेको माधव नेपालजस्तो हाइप्रोफाइल व्यक्तित्वका लागि भन्न सुहाउने कुरा थिए ? अवश्य पनि थिएनन् । यी त केही सामान्य प्रसंग मात्र हुन् माधव नेपालको चित्त कुखुराको पित्तभन्दा पनि सानो छ भनेर पुष्टि गर्ने । अनेकौं तथ्य र तर्कहरुको लामो फेहरिस्त नै प्रस्तुत गर्न सकिन्छ । चिनीया समाजमा एउटा उखान छ, बाख्रा बाख्रासँग, भेडा भेडासँग । शायद, त्यही भएर होला, नेपाल समूहका अधिकांश व्यक्तित्वहरुको सोच र कोण त साँघुरो छ नै, उनीहरुको मन पनि त्यही कोटीको छ । यसलाई अंग्रेजहरुले भन्ने गर्छन्, वेभलेन्थ मिलेको । अपवाद जहाँ पनि हुन्छ, केही सोच, कोण र मन फराकिलो भएका व्यक्तित्वहरु पनि नेपाल समूहमा होलान् । यो टिप्पणी उनीहरुका लागिचाँहि पटक्कै हैन ।

मुलुककै दोस्रो र कम्युनिष्ट पार्टीमा पहिलो एमालेको नवौं महाधिवेसन अनेकौं कोण र जोडबाट चर्चित रह्यो । पहिलोपटक पार्टीले मुलुक पूँजीवादमा प्रवेश गरेको निष्कर्ष निकाल्यो । एमाले जस्तो कम्युनिष्ट पार्टी मुलुकको यथार्थभन्दा फरक धरातलमा उभिएर यो निष्कर्षमा पुग्नु पनि आफैंमा पेन्डोरा बक्सको थेसिसभन्दा फरक हैन । यसले एमाले नेताको वर्गीय सोच र आम जनताको जीवन कोणमा आनको तान फरक मात्र परेको पुष्टि गर्ने मात्र हैन कि एमाले कुन जनाधारमा उभिने भन्ने अहम् प्रश्नको जन्म पनि गराउँछ । यो एक किसिमको यथार्थवोध भए पनि आफूलाई अझै पनि कम्युनिष्ट पार्टी ठान्ने एमालेका लागि भने सैद्धान्तिक रुपमा ठूलो विचलन नै हो ।

महाधिवेसनको दोस्रो महत्वपूर्ण पक्ष भनेको एमाले अव नीतिप्रधान पार्टीभन्दा पनि नेताप्रधान पार्टीमा औपचारिकरुपमै रुपान्तरित भयो । हुन त कम्युनिष्ट पार्टीका अनेकौं खोल्सीहरु जम्मा भएर बनेको एमालेमा पहिलेदेखि नै चरम गुटबन्दी त थियो नै, यसपटक त्यसको चरमोत्कर्ष मञ्चन भयो । अब एमालेमा शायदै कोही एमाले मात्र भएर रहन सक्छ, ऊ कुनै न कुनै नेताको मान्छे नभई ऊ एमाले नै हुन सक्दैन । जसरी कांग्रेसमा कोइराला या देउवाको मान्छे हुनुपर्छ, राप्रपामा सूर्यबहादर या लोकेन्द्रबहादुरको मान्छे हुनुपर्छ, एमालेमा पनि यो महाधिवेसनमार्फत् त्यो रोग संक्रमणका रुपमा रहेको पुष्टि भयो । अब एमाले स्थायी रुपमै नेपाल र ओली भंगालामा बाँडियो । हुन त यसलाई विचार समूह भनेर प्रतिरक्षा पनि गरिएला, त्यो बेग्लै कुरा हो । अझ यसलाई चुनावी प्रयोजनको लागि मात्र थियो पनि भनिएला तर यो चुनावले एमालेभित्रको हेट पोलिटिक्स यति गहिरो पारिदियो कि त्यसको प्रभाव आगामी चुनावहरुमा समेत प्रष्टसँग देखिनेछ । त्यसको सानो झल्को कृष्णगोपाल श्रेष्ठको काठमाडौं २ नम्बर क्षेत्रको उपनिर्वाचनमा भएको लज्जास्पद पराजय थियो । यो त टेलर मात्रै हो, एमालेले आउने दिनमा यस्ता फ्लप चलचित्रहरु हरेक निर्वाचन क्षेत्रमा मञ्चन गर्ने सम्भावना बढ्दो छ । त्यसले एमालेको ग्रास रुट राजनीतिमा ठूलो नकारात्मक प्रभाव मात्र छोड्ने हैन कि, वर्गीय रुपमा अर्को कम्युनिष्ट पार्टीलाई भुइँ पनि प्रदान गर्नेछ । यो क्रम कुनै विन्दुमा पुगेर नरोक्ने हो भने एमालेका लागि यो आफैंमा भष्मासुर प्रवृति सावित हुने छ ।

यो आलेख तयार गर्दैगर्दा नेपाल पक्षधर अगाडि रहे पनि पश्चिम नेपालको अंकगणित ओलीको पक्षमा रहेकाले उनको जीत लगभग निश्चित छ । प्रश्न पूरै प्यानलको हुने हो कि हैन भन्ने मात्र हो । यो नतिजाले ओली पक्षको उन्मादी पारो ह्वात्तै बढाइ दिनेछ भने नेपाल पक्षधर हारको हतासाले कुण्ठित बन्नेछ । अनि, यसले पार्टीभित्रै एक किसिमको शीतयुद्धको स्थिति पनि सिर्जना गरिदिने छ । यो अवस्थाको सहज व्यवस्थापन गर्न कुनै पनि नेतृत्वको लागि सहज हुँदैन । त्यसमा पनि ओली क्याम्पमा बदलाको भावनाले ओतप्रोत हुने खालका उन्मादीहरुको ठूलै भीँड छ । खासमा ओली क्याम्प पनि कुनै विचार, सोच र कोणभन्दा पनि जीतको प्रपञ्चका लागि मिलाइएको अंकगणीतिय गठजोड मात्र हो । यो कोणबाट भनाइमा तुक्काबन्दी आए पनि गराइमा त्यही किसिमको उदारता प्रस्तुत होला भन्न सजिलो छैन ।

जे होस्, एमालेको नवौ महाधिवेसन भिरमा फलेको चिण्डो सही, सफलतापूर्वक सम्पन्न हुनेछ । यसले एमालेका संस्थापक नेता ओलीका लागि अवसर त सिर्जना गर्छ नै, त्योभन्दा पनि धेरै चुनौतिहरु थपिदिने छ । सधैंभरि स्थायी प्रतिपक्षको भूमिका मात्र निर्वाह गर्दैआएका नेता ओलीलाई पार्टीको संस्थापन पक्षको भूमिका निर्वाह गर्न आउँछ कि आउँदैन, त्यो हेर्नका लागि केही समय पर्खनैपर्छ । आमसञ्चारको कोणबाट हेर्दा डिअन्टोलजिकलबाट टेलियोलजिकलमा प्याराडाइम सिफट भैसकेको पार्टीका लागि स्वभाविक रुपमा मोटाउन सजिलो हुन्न, सुन्निएर मोटाएको देखाउन मात्र सम्भव हुन्छ । यो थेसिसभन्दा फरक एन्टी थेसिसमा उभिन सके मात्र एमालेको डुंगा तार्न सकिने छ । अन्यथा, समयको भड्खालोबाट एमालेलाई कसैले पनि वैतरणी तार्न सक्ने छैन । आगे, उनीहरु नै जानुन् ।