काठमाडौँ, ३० असार । नयाँ नेतृत्वका लागि भएको नेकपा (एमाले) को दशरथ रंगशालामा जारी मतगणनामा अहिले पदाधिकारीको गणना स्थगित गरेर केन्द्रीय सदस्यको गणना मात्र अघि बढाइएको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार पदाधिकारीतर्फ एक हजार ३०० को हाराहारीमा मतगणना भएपनि आज साँझ पदाधिकारीको गणना रोकिएको हो ।
साँझसम्मको विवरणमा अध्यक्षका प्रत्याशी माधवकुमार नेपालको ६६६ र केपी शर्मा ६०१ मत प्राप्त भएको छ । राति ८ बजेबाट गणना गर्ने भनिएपनि सदस्यको गणनामा समय लागेको देखिएको छ ।
पदाधिकारीतर्फ अब गण्डकी, लुम्बिनी, धौवलागिरि, भेरी, राप्ती, सेती, महाकाली र प्रवासका गरी ९६७ मत गणना हुन बाँकी छ ।
अहिलेसम्म अध्यक्षमा करिब २५ मत खाली परेका छन् केही मत बदर भएका छन् । अन्य पदमा पनि नेपाल समूहकै अग्रता छ । आइतबारको गणनामा ओली समूहले केही मतअन्तरले अगुवाइ गरेको थियो ।
गणना हुन बाँकी क्षेत्रमा ओलीले केही मतले अगुवाइ गर्ने अनुमान गरिएको छ । दुई समूहबीच कडा प्रतिस्पर्धा भएकाले अन्तिममा कसको विजय हुन्छ यकीन अनुमान गर्न कठीन भएको छ ।
यद्यपि, दुवै समूहमध्ये सचिवका उम्मेदवार गोकर्णराज विष्ट र प्रदिपराज ज्ञवालीलाई सबैभन्दा बढी अनुपातमा मत प्राप्त भएको छ । सदस्यको संख्या धेरै भएका कारण मत परिणाम आउन समय लागेपछि पदाधिकारीको मात्रै अन्तिम परिणाम सार्वजनिक नगर्न दुवै समूह सहमत भएपछि यस्तो निर्णय भएको हो ।
सदस्यको एक हजार ३०० मत गणना गरिसक्न आज राति ११÷१२ बजेसम्म लाग्नसक्ने र त्यसपछि पुनः सबैको गणनासँगै हुने पोखरेलले बताउनुभयो ।
यही असार १९ गतेदेखि काठमाडौँमा भएको एमालेको नवौं महाधिवेशनमा २६ गते निर्वाचन भएको थियो । निर्वाचनमा २१७६ प्रतिनिधिमध्ये २१५२ प्रतिनिधिले भाग लिएका थिए ।
















प्रतिक्रिया