२८ आश्विन २०८३, बुधबार

एमाओवादीमा कसको दाबी केमा ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadiविराटनगर, १९ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हेटौंडा महाधिवेशनले अघि सारेका पुँजीवादी जनवादी क्रान्तिका आधारभूत काम पूरा भएको बताएका छन् । उनले यसका बाँकी काम पूरा गरी समाजवादी क्रान्तिको तयारीमा लाग्नु राष्ट्रिय सम्मेलनको औचित्य भएको उल्लेख गरे ।

‘पुँजीवादी जनवादी क्रान्तिका आधारभूत काम पूरा भए । अब माथि र तलबाट हस्तक्षेप गर्दै जानुपर्छ भनेका छौं,’ उनले भने, ‘पार्टीको कार्यशैली पनि त्यही कार्यदिशाअनुसार हुनुपर्छ । हामी त्यसमै बहस गर्दै छौं । यो रणनीतिक महत्त्वको कुरा हो ।’ एमाओवादीले पछिल्लो समय आर्थिक क्रान्तिलाई बढी जोड दिँदै आएको छ ।

अध्यक्ष दाहाल, नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले सहिद मैदानमा बिहीबार संयुक्त रूपमा राष्ट्रिय सम्मेलन उद्घाटन गरेका थिए । भट्टराई र श्रेष्ठले पनि पुँजीवादी क्रान्ति पूरा हुनै लागेको बताए ।

दाहालले संविधान निर्माणका लागि बृहत् संयुक्त मोर्चा बनाउने पनि बताए । राष्ट्रिय सम्मेलनबाट बृहत् मोर्चा बनाउने निर्णय गर्ने उनले जानकारी दिए ।

‘संविधान बन्ने ग्यारेन्टी अझै भएको छैन । संविधानसभा सफल पारेर जनताको भावना अनुसारको संविधान बनाउने अभिभारा हाम्रो छ,’ उनले भने, ‘राजनीतिक एजेन्डाका दृष्टिकोणले सम्पूर्ण प्रतिनिधि पार्टीको संयुक्त मोर्चा बनाउने सम्मेलनमा छलफल गर्दै छौं । हिमाली, मधेसी, मुस्लिम लगायतको पक्षमा संविधान बनाउने ग्यारेन्टी गर्न सकिन्छ भन्ने विश्वास छ ।’

पुँजीवादी क्रान्तिको कार्यदिशामा टेकेर पार्टीलाई नयाँ गति दिन राष्ट्रिय सम्मेलन आयोजना गरेको उनले जनाए । ‘हेटौंडा महाधिवेशनले पारित गरेको कार्यदिशामा टेकेर, संविधानसभा निर्वाचनको परिणामलाई मध्यनजर गर्दै फेरि पार्टीलाई नयाँ गति दिनुपर्छ भन्ने सन्दर्भमा राष्ट्रिय सम्मेलन गरिएको हो,’ उनले भने, ‘महाधिवेशनको कार्यदिशा परिमार्जन गर्ने, सँगै पार्टी पुनर्निर्माण गर्ने हो । कार्यदिशा पार्टीको प्राण हो, संगठन शरीर हो । दुवै चाहिन्छ । तर मुख्य कुरा कार्यदिशा हुन्छ ।’

विगतमा आफ्नो पार्टी जनताको सेवा गर्नबाट वञ्चित भएको भन्दै नेता तथा कार्यकर्ता प्रतिक्रियावादीसँग लागेको बताए । ‘जनताको सेवा गर्ने कामबाट संगठन विचलित भयो । जनताको कामभन्दा व्यक्तिगत काम गर्न नेता/कार्यकर्ता पुगे,’ उनले भने, ‘जनताका वैरीसँग, प्रतिक्रियावादीसँग रमाउने कमिटी हुन थाले । यो राष्ट्रिय सम्मेलनबाट पार्टी बदल्नुपर्छ ।’

उनले मुलुकमा एउटै कम्युनिस्ट केन्द्र बनाउने प्रस्ताव पारित गर्ने समेत जनाए । ‘कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याउनेबारे यो सम्मेलनमा ठोस प्रस्तावमाथि छलफल गर्दै छौं,’ उनले भने, ‘राष्ट्रिय सम्मेलनपछि संविधानसभाभित्र र बाहिर एउटा मोर्चाबन्दी, नयाँ विश्वास तरंग ल्याउनेछ ।’

संविधानसभामा तेस्रो भएपछि अवसरवादीले पार्टी छोड्न लागेको दाहालले बताए । ‘संविधानसभा निर्वाचनअघि ह्वारह्वार पार्टी प्रवेश भएको थियो,’ उनले भने, ‘संविधानसभामा तेस्रो भएपछि ह्वारह्वार जाने हो कि रु अहिलेसम्म त्यस्तो भएको छैन ।’

समारोहमा नेता भट्टराईले राष्ट्रिय पुँजीको विकासका लागि नयाँ शक्ति आवश्यक भएको उल्लेख गरे । ‘हामीले नयाँ शक्तिको विकास गर्नैपर्छ,’ उनले भने, ‘हामी जे छौं, ठिकै छौं भनेर हुँदैन । पुरानो विचारले अब क्रान्ति सम्पन्न हुन सक्दैन ।’ उनले राष्ट्रिय सम्मेलनमा नयाँ विचारका साथ अघि बढ्ने जनाए ।

अर्का नेता नारायणकाजी श्रेष्ठले एमाओवादी वाम संसदीय पार्टी बन्ने खतरा भएको उल्लेख गर्दै विचलन आएको जनाए । ‘यो बिस्तारै पुँजीवादी संसदीय पार्टी हुने खतरा छ,’ उनले भने, ‘यसलाई क्रान्तिकै नयाँ दिशामा अघि बढाउन जरुरी छ ।’

उनले राष्ट्रिय सम्मेलनले राष्ट्रियता, दृष्टिकोण  गुटबन्दीको प्रश्न हल गर्नुपर्ने बताए । उद्घाटन समारोहको समापन गर्दै दाहालले सम्मेलनपछि जनताका भावना समेट्न हावाहुरी बनेर आउने दाबी गरे ।

कसको दाबी केमा ?

सम्मेलनले पुष्पकमल दाहाललाई पुनः अध्यक्ष चयन गर्ने निश्चित छ । उपाध्यक्षमा पनि पहिलेझैं नेता बाबुुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चयन हुनेछन् । हेटौंडा महाधिवेशनपछि पदका लागि नेताहरूबीच हानथाप भएपछि भट्टराईले उपाध्यक्ष पद त्यागेका थिए ।

महासचिवमा पुनः पोष्टबहादुर बोगटी चयन हुने सम्भावना छ । कृष्णबहादुर महरालाई महासचिवमा चयन गर्ने अवस्थामा बोगटी उपाध्यक्ष हुनेछन् । उपाध्यक्ष आवश्यकता अनुसार राख्ने विधानमा व्यवस्था छ । सचिवका दाबेदार वर्षमान पुन र टोपबहादुर रायमाझी हुन् । गिरिराजमणि पोख्रेल र जनार्दन शर्माले पनि सचिवको दाबी गर्ने मनस्थिति बनाएका छन् ।

कोषाध्यक्षमा हिसिला यमी प्रस्तावित हुनेछिन् । यद्यपि उनले आफूलाई आर्थिक मामलामा बदनाम गरेको भन्दै कोषाध्यक्षमा रुचि देखाएकी छैनन् । स्थायी समितिका दाबेदारहरूमा हरिबोल गजुरेल, अग्नि सापकोटा, रामचन्द्र झा, शक्तिबहादुर बस्नेत, हेमन्तप्रकाश ओली, हितराज पाण्डे, गोपाल किराँती, विश्वभक्त दुलाल छन् ।

केन्द्रीय समितिमा युवा र महिला बढाउन माग

नयाँ केन्द्रीय समितिमा युवा ५० प्रतिशत र महिला २५ प्रतिशत समेट्न दबाब परेको छ । नेता शक्ति बस्नेतले ३० देखि ४० वर्षभित्रका युवालाई केन्द्रीय समितिमा बढी स्थान दिनुपर्ने बताए ।

‘युवालाई नेतृत्वमा ल्याउँदा संगठनको काममा गजबको गति आउँछ’ उनले भने, ‘त्यसैले ३० देखि ४० वर्षका युवालाई किन नसमेट्ने ?’

केन्द्रीय सदस्य सत्य पहाडीले महिलाको सहभागिता बढाउन सम्मेलनमा दबाब सृजना गर्ने बताइन् । नेतृ शशि श्रेष्ठले सम्मेलनमा सहभागी महिलाले कम्तीमा २५ प्रतिशत सहभागिताका लागि लिखित माग राख्ने बताइन् । ‘हामी महिला प्रतिनिधिले कम्तीमा २५ प्रतिशत महिलालाई केन्द्रमा लान लिखित माग राख्ने तयारी गरेका छौं,’ उनले भनिन् ।

प्रवक्ता दीनानाथ शर्माले सहमतिका आधारमा केन्द्रीय समिति चयन हुने बताए । ‘सहमतिका आधारमा अघि बढ्न मूल नेतृत्व सहमत छ,’ उनले भने । सम्मेलनको पहिलो चरणमा राजनीतिक दस्तावेज विधान पारित, दोस्रो चरणमा नेतृत्व चयन र त्यसपछि समापन गरिने उनले जनाए । कान्तिपुर दैनिकबाट