ललितपुर, २३ पुस । कृषि विकासमन्त्री हरिबोल गजुरेलले कृषि पेसालाई मर्यादित बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको आठौँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले देश विकासका लागि कृषि क्षेत्रमा आवश्यक लगानी गरिनुपर्नेमा जोड दिनुभयो । कृषि पेसालाई सम्मान गरेर यसैको माध्यमबाट जीविकोपार्जन गर्न सकिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कृषिलाई परम्परागत रुपमा नभई आधुनिकीकरणबाट यसको उपयोग गरेर देशलाई आत्मनिर्भर बनाउन सकिने उहाँको भनाइ रहेको छ । कृषकलाई उन्नत जातको बीउ वितरण गर्ने, आधुनिक औजार दिने, तालिमलगायत उपलब्ध बनाएर देशको अर्थतन्त्रलाई अग्रगतिमा लैजान सकिनेमा उहाँको जोड रहेको छ ।
नेपालको संविधानमा समाजवादउन्मुख अर्थतन्त्र राखिएकाले यसको कार्यान्वयनका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने मन्त्री गजुरेलले बताउनुभयो । राज्यले लिएको तीनखम्बे अर्थनीतिअनुरुप कृषि क्षेत्रले आर्थिक पक्ष सवल बनाउन महत्वपूर्ण भूमिका खेल्न सकिनेमा उहाँको विश्वास थियो ।
सांसद पशुपति चौलागाईंले कृषि क्षेत्रबाट उत्पादन हुने खाद्यान्नबाट देश आत्मनिर्भर बन्न सकिने बताउनुभयो । यस क्षेत्रबाट उत्पादित वस्तु निर्यात गर्न सकेमा देशको अर्थतन्त्र मजबुत हुन सक्ने उहाँको भनाइ थियो । सो अवसरमा कृषि क्षेत्रमा लागेका तीन युवालाई नगद रु पाँच हजारका दरले पुरस्कार वितरण गरिएको थियो । पुरस्कार पाउनेहरुमा रञ्जु बोम्जन, श्यामकुमार शाह र महेश चौलागाईं रहेका छन् ।
सङ्घअन्तर्गत ६८ जिल्लाबाट ७१५ सदस्य आबद्ध रहेका छन् । देशभरिमा एक हजार १५ वटा गाविसमा सेवा पु¥याइरहेको र यसबाट करिब रु ४५ लाख जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित भएको बताइएको छ । रासस















प्रतिक्रिया