३० आश्विन २०८३, शुक्रबार

भक्तपुरको गुण्डु सडक विस्तार सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadakभक्तपुर, २२ पुस । भक्तपुरको सूर्यविनायकबाट अनन्तलिङ्गेश्वर नगरपालिका गुण्डु जाने सडक विस्तार कार्य सुरु भएको छ ।

पुरानो सडकलाई भिभिआई मार्गको रुपमा आठ मिटर चौडा गरी दुई चरणमा सडक विस्तार आयोजना र टेवा पर्खाल लगाउने काम सुरु भएको हो ।

आयोजनाको पूर्व उद्योग मन्त्री महेश बस्नेतले आज शिलान्यास गर्नुभयो । उहाँले संविधान जारी भएसँगै सुरु भएको नाकाबन्दी र मधेस आन्दोलनका कारण सरकारले प्रभावकारी काम गर्न नपाएको बताउनुभयो ।

उहाँले संविधान संशोधन भएलगत्तै नाका खुल्ने र मधेस आन्दोलनसमेत स्थगित हुने अवस्था आएकाले सरकारले अबका दिनमा जनताले देख्ने र महसुस गर्ने गरी प्रभावकारी काम गर्ने विश्वास गर्नुभयो ।

काठमाडाँै उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त कार्यालय भक्तपुरका प्रमुख करुणारत्न शाक्यले डिभिजन सडक कार्यालयको सडक विस्तार कार्यक्रमसँगै गुण्डु सडकको टेवा पर्खाल लगाउने काम तीव्र पारिएको बताउनुभयो ।

विकासमा स्थानीयको सहयोगको प्रशंसा गर्दै उहाँले स्थानीयको सहयोग रहेमा कुनै पनि ठाउँको विकासमा अवरोध नहुने र विकास गतिशील हुने बताउनुभयो ।

स्थानीय सीमाङ्कन समितिको संयोजक मनकराम थापाले आठ मिटर चौडा सडक विस्तारको सुरुमै पूर्व मन्त्री बस्नेतले आफ्नै घर कम्पाउण्डको पर्खाल भत्काइ दिएपछि स्थानीयले पनि कतै अवरोध नगरी बाली लगाएको जग्गासमेत सडकलाई दिएको बताउनुभयो ।

सडकको टेवा पर्खाल निर्माणको जिम्मा पाएको गुण्डु युवा समाज विकास संस्थाका अध्यक्ष सुमन थापाले काठमाडौँ उपत्यका विकास प्राधिकरणको रु ३४ लाखको बजेट र बाँकी जनश्रमदानबाट एक महिनाभित्र काम सम्पन्न गर्ने बताउनुभयो ।

गुण्डु सडकलाई भिभिआई सडक शीर्षकमा सडक डिभिजन कार्यालयले सूर्यविनायकदेखि कृष्ण मन्दिरसम्म रु चार करोडको लागतमा सडक विस्तार सुरु गरेको छ । त्यसैगरी गुण्डु चोकदेखि गुण्डु बसपार्कसम्म थप रु चार करोडमा सडक विस्तार सुरु भएको छ ।

सूर्यविनायक–गुण्डु सडक विस्तार सम्पन्न गर्न थप रु १० करोड आवश्यक पर्ने भएकाले बजेटको माग भइरहेको र चालु आवमै बजेट विनियोजन भएर आउने सम्भावना रहेको पूर्व मन्त्री बस्नेतले बताउनुभयो । रासस