एक दशकअघिसम्म एक कल फोन गर्न घण्टौं धाउनुपथ्र्यो । लाइन बस्नुपथ्र्यो । एउटा चिठ्ठी पठाउन र पाउन महिनौंसम्म हुलाकी कुरेर वस्नुपथ्र्यो । तर, अहिले समय बदलिएको छ । सहर बजारमा मात्रै होइन, गाउँगाउँमा समेत इन्टरनेटको पहुँच पुगेको छ । अन्य सुविधाका लागि नभए पनि केवल मोवाईलमै भए पनि फेसबुक एकाउन्ट खोलेर धेरै युवा र प्रौढहरु इन्टरनेटमा मस्त हुन थालेका छन् ।
फेसबुकमौ झेटेर बिहे भएको देखि फेसबुकबाट नै सहयोग मिलेका थुप्रै घटनाहरु छन् । को, कहाँ, के गरिरहेको छ ? र, कुनै घटनाको विषयमा कसैको धारण के छ ? भनेर बुझ्न पनि फेसबुक प्रभावकारी भएको छ । एक हिसाबमा फेसबुकले मानिसको दुरी घटाएको छ । विश्व साँघुरो बनाइदिएको छ । अरब वस्ने छोरासँग गाउँकी आमाले स्काइपमा छोराको फोटो हेर्दै कुरा गर्न पाएकी छन् ।
तर, फेसबुकको उपयोगसँग उत्तिकै दुरुपयोग भएका घटनाहरु पनि छन् । फेसबकमा कसैको नग्न तस्विर राखिदिएर ज्यानै गुमाउनु परेको सम्मका उदाहरण छन् । र, फेसबुकमा कमेन्ट गरेकै कारण जेल जानु परेका घटना ताजै छ । कसैलाई फेसबुक लत भएको छ । कसैलाई सूचनाको सरल माध्यम । यसर्थ, फेसबुक अहिले सूचना आदानप्रदानको सबैभन्दा छिटो, सस्तो र सरल माध्यमको रुपमा परिचत छ ।
को कतिबेला के गरिरहेको छ ? हरेक कुरा फेुसबुकका स्ट्याटस र म्यासेजले नै बताउने गरेका छन् । कतिबेला के खाएको, आज क–के काम गरियो, अब के गर्ने लगायतका याबत कुराहरु पनि साँट्ने उपयुक्त माध्यम समेत फेसबुक बन्न थालेको छ । त्यति मात्र हैन, को मान्छे कस्तो छ बुझ्नलाई समेत फेसबुकमै उसलाई खोज्ने गरिएको छ । अझ युवापुस्ताले त फलाना केटीको फलाना केटासँग बिहे ‘फिक्स’ भयो रे भनेपछि चिनजानका केटा वा केटी कस्तो वा कस्ती रहेछन् भनेर नाम सर्च गरिहाल्छान् । कस्ता फोटोहरु हालेको रहेछ, उसका बिचारहरु फेुसबुकमा कसरी प्रस्तुत भएका रहेछन आदि–इत्यादि कुराहरु त आफ्नो ठाउँमा छदैछन ।
साँच्चै कति सजिलो बनाएको छ है फेसबुकले जीवन ? फेसबुकले संसारलाई यति सरल बनाउनु के साँच्चै राम्रो कुरा हो त ? एकैछिन अगाडि भेटेका मानिसहरु, साथीभाईहरु, आफन्तहरुसँग फेरि फेसबुकमै एकैछिनमा गफ हुनु केही मान्यता होला र ? हुनतः फेसबुकबाट मानिसहरुका ठूलाठूला कामहरु बनेका छन् । जीवनमा धेरै सकारात्मक परिवर्तन ल्याउने खालका कामहरु पनि फेसबुकबाट नभएका होइनन् । फेसबुकका आफ्नै धेरै फाइदाका कुराहरु आफ्नो ठाउँमा छ । तर, पनि फेसबुकको सहज उपलब्धताले मानिससँगको सम्बन्धमा केही मुल्य चाँहि घटाएका अनुभूत भएको छ ।
फेसबुकले युवायुवती र स्कुले भाइबहिनीहरुलाई अति गलत बाटोतर्फ डोर्याइरहेको छ । केहि दिनअघिको कुरा हो– मेरो छिमेकी दिदीको घरमा केही काम परेर म उहाँको घर गएको थिएँ । काम कम्प्युटरमै थियो । गएर कुर्सीमा बसिहालें । कम्प्युटर खोल्नासाथ छिमेकी दिदीको भाईले केही समय अघि फेसबुक खोलेका रहेछन् । फेसबुक बन्द भएको रहेनछ, उनको । छिमेकी दिदी अरु काम गर्दै हुनुहुन्थ्यो । मैले उहाँको भाईको फेसबुकको म्यासेज चेक गरें । हुनतः कसैको फेसबुक जस्तो निजी कुरामा मैले चासो दिनु ठीक थिएन, तर मनै त हो । हेरिहालेँ ।
च्याटमा दुईचार जना साथीभाईहरुसँग चुरोट कहाँ बसेर खाने अनि आज कस्ले खुवाउने बिषयमा कुराकानी भैरहेको रहेछ । मैले त्यति नै बेला छिमेकी दिदीलाई सबैकुरा देखाइदिए । भाइले खानु कुटाई खाएछ, त्यो दिन । उदाहरण यो मात्र हैन, धेरै छन् । धेरै मानिसहरुको राम्रा सम्बन्धहरु फेसबुकले नै बिगारेको हामी धेरैले सुनेका पनि छौ । बिग्रने–सप्रने सबैको आ–आफ्नै कारण होलान् तर फेसबुकले पनि त्यसमा मद्दत गरिरहेको छ । हुनतः हरेक पक्षका सबल र दुर्बल पक्षहरु हुन्छन् । त्यसको सही पहिचान र सदुपयोग गर्ने जिम्मेवारी त मानिस आफंैको हो । फेसबुकले सूचना, मनोरञ्जन र अभिप्रेरणाको काम गरिरहेको हुन्छ । तर स्कुले भाईबहिनीका लागि यो उमेरमा शिक्षा स्कुल हो, मनोरञ्जन बिभिन्न खेलकुद सामाग्री र टेलिभिजन नै पर्याप्त छ । फेसबुक मानिसको अनिवार्य आवश्यकता पनि हैन । त्यसैले अभिभाबकहरुले आफ्ना छोराछोरीहरुलाई फेसबुकबाट टाढा नै राख्नु राम्रो हो । हुनतः यो संसारमा शतप्रतिशत राम्रो र शतप्रतिशत नराम्रो भन्ने केही छैन । भनिन्छ नि, उपयोग गर्न जान्यो भने विषले पनि ओखतीको काम गर्छ । हरेक चिजको मूल्य सदुपयोगमा छ । त्यसैले, फेसबुक जस्तो सामाजिक सञ्जालबाट भरपुर फाइदा लिऔं । कसैले दुरुपयोग नगरौं । र, कसैले दुरुपयोग गर्दैछ भने सम्झाऔं ।














प्रतिक्रिया