२९ आश्विन २०८३, बिहिबार

सोँचको निर्माण र मिडिया खेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra Jung Piter– नरेन्द्रजंग पिटर

हामी जे सोची राखेका हुन्छौ, धारणा बनाइरहेका हुन्छौँ, त्यसै अनुसार दैनिक व्यबहार गरिराखेका पनि हुन्छौ । हाम्रा धारणा र मान्यताहरु एकाएक बनेका भने हुँदैनन् । ती सवै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक अनेकौँ कारण र समयावधिले तय गर्छ । अझ बनिसकेका धारणा र मान्यताहरु फेर्नु भनेको चट्टान फोर्नुजस्तै हो । हरेक मान्यतामा हेरफेर आँउनु वैचारिक हस्तक्षेपका कारणले हुनेगर्छ । हाम्रो सोँच निमार्ण र भत्किन, सूचना, समाचार र विचारका मिडिया खेलले प्रभाव पारिरहेको हुन्छ । हाम्रो जीवनमा, धारणा बनाउन के कस्तो प्रभाव पार्‍यो ? अझ पत्रकारितामा हामीले निभाइरहेका भूमिकाले समाजमा के, कस्तो छाप पारिरहेको छ र ब्यबसायिकताभित्र मिडियाकर्मीले कति स्वतन्त्रता उपभोग गर्न पाईरहेका छन् त ! केही छलफल सान्र्दभकि हुन्छ ।

हाम्रो दिमागमा के राम्रो, के नराम्रो ? के सुन्दर– कुरुप ? के नैतिक–अनैतिक भन्ने सोचहरु सिमेण्टेडजस्तै हुन्छन् । त्यसलाई भत्काउन एउटा ठूलो वैचारिक क्रान्तिको आवस्यकता हुन्छ । हामीले पहिल्यै हरेक देश, जाति, समुदाय, धर्म, राजनीति, रंग, स्वाद, आचरणसम्बन्धी सुन्दर र करुपताका मानक तय गरिसकेका हुन्छौ । केलाई राम्रो, केलाई नराम्रो भनेर पहिल्यै धारणा बनाई सकेका हुँदा त्यस्तै जीवन ब्यबहारमा पनि देखिने गर्छ । त्यही आर्दश र सोँच अनुसार नायक र खलनायक छुटिन्छन् पनि । त्यसलाई फेर्न समय लाग्छ, अर्को वैचारिक हस्तक्षेपको आवस्यकता पर्छ ।

अन्धआस्था र रुढीवादी सोचविरुद्ध तर्कवाद र वैज्ञानिक चेत प्रवोधन कालको युरोपेली मानव सभ्यताकालागी उपहार हो । जिज्ञाशाको हल तर्कका कसौटीमा, विज्ञानले प्रमाणित गरेका आधारमा सत्यको नजदिक पुग्नु नै मिडियाचेत हो । अझ मिडिया विशेषज्ञ एवं विश्वग्रामका स्वप्नाकार हरमन म्याकलुहन भन्छन्– मिडिया हरपल नयाँ मान्छे बनाईरहेको हुन्छ । पछिल्लो सूचनाले उस्का अघिल्ला धारणा भत्काई दिएर नयाँ र नौला विश्वास जन्मिन्छन् । सोही अनुसार पहिलाभन्दा भिन्न भूमिका र आचरणमा मान्छे उभिन्छ’ । त्यस्तै माक्र्स भन्छन– प्रविधीले संसार फेरिएको मान्छे आफ्नो स्वभाव पनि फेर्दछ । अझ प्रसिद्ध समाजवादी चिन्तक हेबरमासको भनाई छ –अहिले मास मिडिया नागरिकको जीवनलाई निजिकरण गरिरहेको छ र उपभोक्तामा फेरिरहेको छ’ ।

मिडियाचेत भनेकै ज्ञान, सूचना, प्रोपोगण्डा र विज्ञापनको बीचमा हामी कति भिन्नता पाँउछौ ? भन्ने हो । प्रख्यात भाषाशास्त्री एवं मिडिया विशेषज्ञ नोम चोम्स्कीको भनाईमा प्रोपोगण्डाद्वारा शासकवर्ग जनताको इच्छाशक्तिलाई कमजोर बनाई दिन्छ र राजनीति छान्न सक्ने क्षमताबाट समेत बञ्चित गरिदिन्छ’ ।

सूचना शक्ति हो । त्यसले पुराना विश्वास भत्काएर नित्य नयाँ मान्छे पैदा गरिरहेको हुन्छ । नयाँ सूचनाकै कारण भ्रम हटेर कुनै दिनका आदर्श ब्यक्तित्व, रोल मोडलहरु खलनायकमा फेरिएका पनि हुन्छन् । व्यक्तित्वको मारकेटिङ मिडियाद्वारा छवि निमार्ण र ध्वस्त गराएर भइरहन्छ् । भावना, उत्तेजना, आक्रोस र आदर्शको मात्रै हैन् अन्धआस्था र रुढीवादको पनि मार्केटिङ मिडियाले गरिरहेको हुन्छ । त्यसैले अहिले एकातर्फ मानिस आफूलाई आधुनिक र विज्ञानको उपयोगकर्ता पनि बनिरहेको हुन्छ, अर्कातर्फ चिनो हेराउन, राशीफल नियाल्न, भाग्य चिन्न जोतिषको दर्शनमा हाजिर जनाउन पनि वा शनीग्रह हटाउन पिपलबृक्ष घुमिरहेको पनि हुन्छ । त्यसैको विश्वासमा फलामे औँठी लगाँउछ । मान्छे अहिले अझ अन्धआस्था र ‘धार्मिक’ बन्दो छ, त्यो विज्ञानलाई प्रयोगगर्दै अवैज्ञानिक विचारको मिडिया मार्केटिङ पनि हो ।

अहिले सूचना, कूसूचना, प्रायोजित सूचना घालमेल भइरहेका छन् । हाम्रोजस्तो देशमा एकातर्फ राजनीतिक आग्रहले कलमलाई निर्देशन गरिरहेको त छदैँ छ अर्कोतर्फ मिसन र प्रोफेसन टकराउँदा कन्फुयजन पनि त्यतिनै बढेको छ । मिडिया साक्षरता कम भएको हुँदा समाचार र विचारमा समेत किन र कसरी भन्ने मिडियामा स्यालका सिङ् हुँदै गएर जिज्ञाशाको हत्या पनि भइरहेका छन् । कूसूचना, प्रायोजित सूचना भनेको प्रोपोगण्डा हुन् । त्यस्ले सामूहिक विवेकलाई शक्तिशाली वर्ग वा सत्ता अनुकुल डोर्‍याउने प्रयास गर्छ ।

एडवर्ड लुईस वार्नेसलाई जनसम्र्पक विषयका भीष्म पितामह मानिन्छ् । पहिलो विश्वयुद्धमा अमेरिकी जनताको अवचेतनालाई युद्धोन्माद बनाउने जिम्मा तीनै वार्नेसलाई सुम्पियो । उनी भीड मनोबृतिलाई प्रोपोगण्डाको मातहत काबु राख्नु नै अहम् विषय मान्थे । जान–अन्जानमै करपोरेट मिडियाको आधार पनि तयार पार्दै थिए । उनले आफ्नो आत्मकथा १९६५मा प्रकासित गर्दै हटिलरी जर्मनीको प्रचार मन्त्री गोयवलसले कार्ल विगंदलाई आफ्नो पुस्तकालयमा विगंदको पुस्तक क्रिस्टलाइजिगं पब्लीक ओपिनियनले प्रेरणा पाएको भन्थे अरे । वार्नेसलाई अमेरिकी करपोरेट राजनीतिज्ञहरु हाम्रा समयका यंग माईकावेली भन्थे । अर्थात सामान्य मान्छेले कसरी सोच्नु पर्छ र कसरी मनोदशा तयार गरिन्छ भन्ने कुरा वार्नेसले पहिलो विश्व युद्धताकै सैद्धान्तिकरण गरिसकेका थिए ।

आधुनिक मिडियाबारेमा अर्थात मिडिया चालित समाजमा छवि निमार्ण र ध्वस्त गर्न उद्योग नै चलेका हुन्छन् । कयौ कन्सलटेन्सीले योजनाबद्ध भूमिका पनि निभाइरहेका हुन्छन् । ती वार्नेसका नयाँ अनुहारहरु हुन । त्यसैको पछिल्लो भारतीय उदाहरण हो –राडियामिडिया काण्ड । त्यसैलाई द हिन्दु कि स्तम्भकार वैजन्ती नैननले आधुनिक जनसम्पर्क उद्योगले कसरी करपोेट जगत, राजनीति र मिडियाको सिण्डिकेट बनेर नयाँ राज्यसत्ताको चरित्र निमार्ण गरिहेको छ भन्ने प्रष्ट पारेकी छन् ।

उनको नियमित स्तम्भमा सो लेख प्रकाशित हुँन नसकेपछि आफ्नै द हुट नामक ब्लकमा प्रकासित हुनुपर्‍यो । मिडिया र जनसम्पर्ककासेैद्धान्तिक पुस्तक र विश्व विद्यालयका कोठामा अध्ययन नगराइने नाङ्गो तथ्य राडियामिडिया प्रकरणले जग जाहेर गरायो । टु जी स्प्रेक्टम काण्ड भनिने सो घटना टेलिफोन लाईसेन्स वितरणमा अर्वाै रुपैया घोटाला बी.राजा प्रकरणले मिडिया, करपोरेट हाउस, राजनीतिज्ञहरु र जनसम्पर्क उध्योगको गठजोठले कसरी नयाँ सत्ता सस्कृतिको जन्म गराँउदो रहेछ भनेर उदाङ्गो पार्‍यो ।

कुनैवेला नमस्ते ग्रुपका ब्यबसायी कैलास सिरोहिया र विनोद ज्ञावाली अहिले कान्तिपुर मिडिया ग्रुप र रिपब्लिका हाउसमा देख्न सकिन्छ । करपोरेट मिडियाको अध्ययन सन्दर्भसमाग्री खोज्न अन्यन्त्र जानै पर्दैन ।

टाटा र रिलायन्स घरानाको जनसमपर्क गर्ने नीरा राडिया कसरी राज्य संयन्त्रलाई औँलाले नचाउथिन ? कुन मन्त्रालयमा कस्लाई मन्त्री बनाउथिन र कस्को छवि कसरी निमार्ण गर्ने र ध्वस्त गर्ने भनेर मिडिया कन्टेन्ट निर्धारण गर्थिन भन्ने कुरा बुभ्mन राडियामिडिया प्रकरणमा भारतका नामी मिडिया ब्यक्तित्वहरुको संगलग्नता बुझे हुन्छ ।

कुनै बेला पत्रिका तोप बनेको थियो, भूईमान्छेको आवाज भनिने हुँदा यसलाई राज्यको चौथोअंग पनि भनिन्थ्यो, निर्धाको आवाज र स्वप्नद्रष्टाको मार्गचित्र पनि भनिथ्यो । राज्यसंग पुलिस र न्यायालय हुन्थे भने जनतासंग पत्रिका हुन्थे । पत्रकारहरु तोपविहिन कलमका सिपाही हुन्थे जस्ले राज्यब्यबस्था हल्लिन्थ्यो र एउटै समाचार वा आलेखको धेरै समयसम्म आवाज गुञ्जयमान भईरहन्थ्यो, एउटै समाचारको असरले समाजमा ठूलो प्रभाव परिरहन्थ्यो । अहिले एउटा समाचारको आयु कति लामो हुन्छ ? सोचौँ त । आवाजविहीनहरुको आवाज अर्थात शक्ति हुन्थ्यो, मिडिया । तर अहिले त्यही चौथोअंग मिडिया उद्योग बनेको छ । त्यसैलाई मिडियाको करपोरेट कल्चर भन्न थालिएको हो ।

उध्योगको मूलधर्म भनेको नाफा हो । हरेक उध्योग वा ब्यापार त्यसैमा टिकेको हुन्छ । तव विर्मश सुरु हुन्छ,….के उद्योग बनेको मिडियाले युगको आवाज, भुइँमान्छेका कुरा, समयको आक्रोश र विद्रोहलाई सार्वजनिक स्वर त दिन्छ ? एउटै उद्यमीका अनेकौ उध्योगहरु हुन्छन् । सवैको मूल मर्म नाफा कमाउनु हो । चाहे जग्गा कारोवार, हाउजिङ वा रक्सी उध्योग होस् या मिडिया उध्योग । त्यसले कुनै फरक पार्दैन । त्यसैले यो आलेख मार्फत म गम्भीर पत्रकार मित्रहरु र मिडिया सरोकार राख्ने प्रबुद्ध ब्यक्तित्वसंग संवाद पनि गर्दै छु ।

हामीसंग मिडिया साक्षरता अत्यन्तै न्यून छ । कार्य, कारण र परिणाम खोतल्ने न हामीँलाई जाँगर छ न आवस्यकता नै ठान्दछौँ । बजार हामीमाथी हैकम गर्दै के सोच्नु पर्छ कस्तो भूमिका निवार्हा गर्नु पर्छ निर्देशन गर्छ । बजार अहिले हाम्रो समूहिक विवेक निमार्ण गर्ने र डोर्‍याउने काम गरिरहेको छ जस्लाई करपोरेट संस्कृति पनि भनिन्छ । अर्कोपक्ष पनि त्यतीकै हावी छ….हामीकाहाँ बहसको सृजना अहिले विश्वविद्यालय, प्राज्ञिक समाज र गम्भीर मिडियाकर्मले भन्दा प्रायजसो दात्रीपोषित यनजियोले गर्दैछन् ।

कतिपय मिडियाकर्मी भने आफ्ना मिडियालाई राज्य र आफूलाई त्यस्को शासक पनि सोच्छन् । तर, आफ्नैकर्मलाई अंकुश लगाउने ब्यबस्थापकीय कक्षको तरवार सम्पादकीय कक्षमाथि कति धारिलो भएर बजन्र्छ भन्ने कुरा सार्वजनिक स्वीकार्न भने सक्दैनन् । के विज्ञापनले, ब्यबस्थापकीय राजनीतिक सामिप्यताले सूचना र विचारलाई कति प्रभाव पारिरहेको हुन्छ र आम जनताले के कस्तो मनोदशा तयार गर्नु पर्छ भनेर निर्देशन गर्ने पक्षलाई हामीले कहिल्यै नियाल्ने कोशिस गरेका छौ ! त्यसैले मलाई लाग्छ …जति ठूला मिडिया हुन्छन् त्यस्का सम्पादक त्यतिनै ठूलो दवावमा रहन्छन्, एउटा ठूलो विज्ञापन आँउने वित्तिकै एउटा महत्वपूर्ण समाचार सहिद हुनुपर्छ । अझ विज्ञापनले खाली भएको ठाँउमा मात्र समाचारले स्थान पाउँछन् भन्ने कुरा सामान्य उपभोक्तालाई –(करपोरेट मिडिया कल्चरमा पाठक, श्रोता, दर्शक नभएर समाचारका उपभोक्ता मात्र ठहरिन्छन) पत्तै हुँदैन् ।

मिडिया अर्थनीति पनि अपरम्पार छ । औषत एउटा ब्रोडसिट पत्रिका बजारमा आँउन उत्पादन शुुल्क झण्डै ४० रुपियाँ लाग्छ, । रेडियो र टीभीको उत्पादन शुल्कको त हिसावै नगरौ । पत्रिका संसरामै यस्तो एउटा मात्रै उत्पादन हो, जो उत्पादन मूल्यको चौथाई रकममा उपभोक्ताले पाँउछन् भने टिभी र रेडियो त झण्डै निःशुल्क जस्तै हुन्छ । त्यो ‘परोपकारी’ काम कसरी ? जवसम्म मिडिया अर्थनीति थाहा पाँउन सकिँदैन तबसम्म मिडिया बारे, सूचना बारे, प्रकासित, प्रसारित विचार बारे केही भेउ–पत्तै लाउँन सकिँदैन् । हाम्रो सोँचका कारखानाका गतिविधी जवसम्म थाहा पाँउदैनौ तवसम्म त्यसका उत्पादनले हाम्रो मानसिक खुराक के कस्तो दिइरहन्छ भन्ने खुटयाउन पनि सकिँदैन् ।

करपोरेट जगतले नरेन्द्र मोदीको ब्यक्तित्वको नमोनमः गरिरहेको वेला सम्पन्न भारतीय चुनावमा प्रतिस्प्रधा गरिरहेका वर्तमान प्रधानमन्त्री मोदीले चौथोअंग भनिएको मिडियालाई मिडिया ट्रेडर्स (समाचार विक्रेता)) भने । त्यही बेला उनको समर्थनमा आएको संसारकै दसौ धनाढ्य रिलायन्स कम्पनीका मालिक मुकेस आम्बानीले मिडिया उद्योगमा १८ हजार करोड रुपियाँ निवेस गरेर अनेकौ २७.टिभी.च्यानलको स्वामित्व ग्रहण गरे ।

कुनैवेला नमस्ते ग्रुपका ब्यबसायी कैलास सिरोहिया र विनोद ज्ञावाली अहिले कान्तिपुर मिडिया ग्रुप र रिपब्लिका हाउसमा देख्न सकिन्छ । करपोरेट मिडियाको अध्ययन सन्दर्भसमाग्री खोज्न अन्यन्त्र जानै पर्दैन । विदेशी मुद्रा अपचलनमा परेका मोहनगोपाल खेतानको फोटो र कान्तिपुरको स्वामित्व स्याम गोएन्काबाट नमस्ते ग्रुपमा सर्नु, एलसी काण्ड र प्रकाश टिवडेवाललाई खेदो खनिुन, आईजिपी मोतीलाल बोहरा भर्सेस कान्तिपुर, अच्युतकृष्ण खरेलको आईजिपी बन्ने समय र त्यसमा मिडिया भूमिका, रसेन्द्र भट्टराई प्रकरण कान्तिपुर अध्ययन सामाग्री हुन् ।

अझ डा.भक्तमान अपहरण काण्डमा नागरिक सिण्डिकेटको अभियान नजिरनै बन्यो । जनकपुरकी पत्रकार उमा सिंह हत्यामा नेपाली मिडियामा सिण्डिकेट भूमिका अध्ययन गर्न लायक विषय हो । लोकमान सिंह कार्कीको अख्तियार प्रमुखमा नियुक्ति प्रकरणमा दुई ब्रोडसिटको भिन्न दुईभूमिका नियाल्ने विषय हुँन । हिमाल पत्रिकाका धेरैजसो कभर स्टोरीनै राजनीतिक आग्रह र एउटै राजनीतिज्ञमा कयौपटक केन्द्रितको आसय र कारण खोतल्दा धेरैकुरा सन्दर्भ सामाग्री बन्न सक्छन । अहिले अझ नेपालका करपोरेट ब्यबसायी अजय सुमार्गीको रेडियो, टीभीको लगानी र रामेश्वर थापाको प्रिण्ट र रेडियोको अतिरिक्त लगानी अम्बानीपथ भनेर बुझ्न गारो पर्दैन् ।

मिडिया अर्थनीति पनि अपरम्पार छ । औषत एउटा ब्रोडसिट पत्रिका बजारमा आँउन उत्पादन शुुल्क झण्डै ४० रुपियाँ लाग्छ, । रेडियो र टीभीको उत्पादन शुल्कको त हिसावै नगरौ । पत्रिका संसरामै यस्तो एउटा मात्रै उत्पादन हो, जो उत्पादन मूल्यको चौथाई रकममा उपभोक्ताले पाँउछन् भने टिभी र रेडियो त झण्डै निःशुल्क जस्तै हुन्छ ।

मिडियामा अम्वानीपथ भनेको कसरी मिडियाप्रति मिडियामार्फत राजनीतिलाई नियन्त्रण गर्छ भन्ने कुरा हो । अहिले त्यसका संसारमै रोल मोडल हुँन् मिडिया बादशाह रुपर्ट मार्डोक भने करपोरेट जगत, मिडिया र राजनीतिक सत्ताको गठजोडकी रोल मोडल भनेकी नीरा राडिया हुन् । नेपालमा भने परकाष्टा नै नभए पनि त्यसको अभ्यास भने दुईदशकदेखि हुँदै आएको छ । त्यसलाई मिडिया भाषामै भन्नुपर्दा मिडिया टाईजेसन भनिने गरिन्छ ।

मिडिया अध्ययनको सिद्धान्तमा कसरी अहिले मिडिया राजनीति चलाउँछ भन्ने विषय हो । अजेण्डा सेटिङ सिद्धान्तले कम महत्वको विषयलाई पनि सबभन्दा महत्वको विषय बनाइदिने शक्ति राख्छ तर मिडिया टाईजेसनले भने राजनीतिको दिशा र दशा दुवै मोडिदिने भएकोले हाम्रा सोँच र धारणा हाम्रा मौलिक नहुँन पनि सक्छन् । जस्ले हाम्रो भूमिका निर्धारण गरिरहेको हुन्छ । त्यसैले जति ठूलो पत्रकार वा विचारनिर्माता हुन्छ ऊ त्यतिनै ठूलो एनजीओकर्मी पनि भएर यो संवेदनशील भूगोलमा मनोदशा पनि स्रिजना गरिरहेको हुन सक्छ । (आचारसंहिताबाट साभार)