भद्रपुर, २० पुस । झापा जिल्ला अदालतले आजदेखि आफ्ना सेवा विस्तार गरेको जनाएको छ । विगतमा तीनवटा इजलास रहेको अदालतमा आजदेखि छवटा इजलास स्थापना गरी आफ्ना सेवा विस्तार गरेको स्रेस्तादार नवराज आचार्यले जानकारी दिनुभयो ।
न्यायिक क्षेत्रमा मुद्दाको चाप बढ्दै गएपछि यसअघि न्यायाधीश रमेशकुमार खत्री, सुदर्शन पाण्डे र मातृकाप्रसाद आचार्यले तीनवटा इजलास सम्हाल्नुभएको थियो । अहिले न्यायाधीश रमेशकुमार खत्रीको सवोच्च अदालतमा स्थानान्तरण भएपछि उहाँको स्थानमा सुदर्शन पाण्डेले सम्हाल्ने र थप तीन इजलासमा न्यायाधीश बाबुकाजी बाँनिया, मनोज केसी र ध्रुवराज त्रिपाठीले सेवा दिने बताइएको छ ।
अत्याधुनिक भौतिक पूर्वाधार रहेको झापा जिल्ला अदालतमा सेवाग्राहीले निवेदन दर्ता, नक्कल लिन, फिरादपत्र दर्ता वा दरपीठ तथा तारिखका काम एक घन्टाभित्रै हुने प्रावधान बनाइएको अदालतका स्रेस्तादार आचार्यले जानकारी दिनु भयो । रासस












प्रतिक्रिया