पाठक वर्गले शिर्षकबाट नै आ गर्दा अलंकार बुझ्दछन भन्ने लेखकको ठम्याई छ । पहिले आफ्ना कुनै पनि सन्तानलाई मुग्लान पठाए उतै भासिन्छ भन्ने ठुलो डर हुन्थ्यो । अभिभावकले आफ्ना सन्तानलाई मातृभूमि फर्कन जोड दिन्थे । र मातृभूमि जान्थे । उच्च शिक्षा हासिल गरि देशको सेवा गर्ने भन्ने मुख्य धेय हुन्थ्यो । अब त्यो कुरा परिवर्तन भएको हामीले देखेका छौ ।
अभिभावकको मुख मै स्वदेश फर्कनु भन्ने अमृत बाणी दिन्थे । मातृभूमि फर्के हाम्रो सेवा गरेस भन्ने शुभ आशिक दिन्थे । ईश्वरको कृपाले बडो मुस्किलले पाएको सन्तानले बिदेशमा घरजम गरि उतै बस्छ भन्ने ठूलो चिन्ता हुन्थ्यो ।
झाक्री, धामी, बैद्य, जोखना र चिकित्सकको परामर्शबाट कोखबाट सौभाग्यले जन्मेको एक मात्र सन्तानले बेईमान गर्ला भनि गहभरी आशु झार्थे । त्यो आशुभित्र बेदना लुकेको हुन्थ्यो । बुढेसकालको एक मात्र सहारा परदेशिएपछि बिचल्ली हुन्छ भनि भगवानसंग प्रार्थना गर्दै सन्तानको बुद्धि नबिग्रियोस् भन्ने कामना गर्दथे ।
तर, अब यो कुरा गौण हुदैछ । यसो भन्ने अभिभावकसंग ठाउँ नै हुदैन । मातापिता बिवश छन् । आफुले भोगेको जस्तो कन्त बिजोक आफ्ना पढे लेखेको बिद्धवान, बुद्धिजीवी सन्तानले यस्तो अवस्थाबाट गुज्रिनु नपरोश भन्ने हृदयदेखि नै चाहना राख्दछन । र, मातृभूमि आउने र स्थाई बसोबास गर्ने योजना समेत रहेको छ भने पनि देशको दुर्दशादेखि सन्तानलाई उतै बस भन्ने आग्रह गर्न थालेका छन् ।
नेपालको वर्तमान कहाली लाग्दो अवस्था देखि बुवाआमाका बचनमा केहि परिवर्तन भएको देखिन्छ ।
तर, ब्यबहारमा र अहिलेका पिढी आफ्ना आमा बुवासंग बस्दैनन् । दुई दशक या तीन दशक अगाडि अमेरिका आएका सन्तानलाई पढ्नु, नेपालमा घर बनाउनु, तीन पुस्ते कमाउनु र अन्त्यमा स्वदेश फर्कनु है भनि पटक पटक सम्झाउने गर्थे । र, अमेरिका भासिएकाले न्युनतमले त्यो धर्म निभाएका थिए । अझ पनि मातृभूमिप्रतिको माया बिदेशिएकासंग झन् झाङ्गिएको हुन्छ ।
नेपालमा मै आफ्नो सम्पत्ति जोड्ने र आफ्ना मातापिता सेवा हेतु फर्कने क्रम पनि न्यूनतम हुँदै गइरहेको छ । अब अमेरिकामा जाकिएका नेपालीले मातृभूमि जाने र देश को सेवा गरुला भन्ने सोच्न पनि छोड्ने अवस्था आईसकेको छ । छोराछोरी हुर्के र बढेपछि नेपाल फर्कने सोच राख्ने नेपाली पनि अब मस्तिष्क परिवर्तन भएको छ ।
नेपालीहरुमा कतिको राष्ट्रियता छ भन्ने कुरा पनि बहस को बिषय हुन् गएको छ । राष्ट्रियता र मातृभूमि प्रेम फरक हुन् । अमेरिका आएका नेपाली अब भावनामा बग्ने छैनन् । अमेरिकाका नेपाली देश कहिले सुध्रिन्छ भनि पशुपतिनाथलाई सम्झन्छन । लामो समयदेखि समस्यै समस्यामा जेलिएको राष्ट्र अब थलिन्छ भन्ने सोचाईतर्फ गैइरहेको छ । कुनै निकास देखिदैन भन्ने मानस पटलमा उब्जिन थालेको छ । कसले निकास दिने भन्नेतर्फ मुख एक अर्कामा ताक्ने अवस्थाको सिर्जना भएको देखिन्छ ।
अभिभावकको आवाजमा किन परिवर्तन हुन् थालेको छ त ?
मुलक झन्डै २० बर्षदेखि संक्रमण कालको जस्तै ठूलो मारमा परेको छ । अब यो भन्दा खराब अवस्था हुनै सक्दैन जस्तो लाग्न थालेको छ । १० बर्षे जनयुद्धमा राष्ट्रले ठूलो क्षति बेहोर्नुपर्यो । राष्ट्रको अर्थ उथलपुथल भयो । दोस्रो ठूलो मुलुकको अवगति भनेको झन्डै १० बर्ष सम्म संबिधान लेखनमा खर्चिएको लामो अवधि र अकल्पनीय आर्थिक भार ।
मूलकको अवस्था जर्जर हुन् पुग्यो । यो अवस्थमा राजनीतिक दलको आचरण, राजनैतिक दाउपेच, खिचातानी, कुर्सीको लडाई, सत्ता कब्जा आदि ईत्यादि क्रियाकलापका प्रत्यक्षदर्शी भनेका यिनै अभिभावक भए । उनीहरुले खाईनपाई जोहो गरेर राखेको रकमले जसरी भएपनि अमेरिका पठाउने सपना साकार भएका अभिभावकले यस्तो धमिलिएको वातावरणमा आफ्ना सन्तानलाई कसरी मुलक फर्क भन्लान त ? के खान अमेरिका छोडेर स्वदेश आउनु भन्ने सोच्दछन ?
अमेरिका बसोबास गर्ने नेपालीले किन नेपालको सम्पत्ति बेचबिखन गर्छन ?
नेपाल छाडेर अमेरिकामा घरबार किन्न नेपालको पैसाले घर किन्नु अगाडि केहि रकम दिन सहयोग हुने हुनाले १० जनामा ६ जनाले उता बेचेर यता लगानी गर्ने नेपालीहरु प्रशस्त छन् । २० बर्षदेखि अगाडिको नेपालको राजनीतिक अस्थिरता र अन्यौल वातावरणले नेपालमा जग्गा राखेर काम छैन भनि भटाभट एक मुस्ट रकम अमेरिका ल्याई लगानी गर्न सुरु गरिसकेका छन् ।
अमेरिकामा बस्ने नेपालीले नेपालमा घर र सम्पत्ति जोड्न किन आँट गर्दैनन् ?
अमेरिकामा अहोरात्र काममा खटिई डलर कमाएका नेपालीलाई नेपालमा भन्दा अमेरिकामा लगानी गर्न फाईदा हुन् थालेको छ । अमेरिकाको न्युयोर्कमा मात्र करिब ३ सय जति नेपालीहरु ब्यबसायमा संलग्न छन् । अमेरिकामा हड्ताल र बन्दको कारण लगानी डूबदैन । दिनको ११ घण्टासम्म बिजुली नहुने देशमा कसरी ब्यबसाय चल्दछ भन्ने हामीले आफै अनुमान गर्न सक्दछौ ।
पहिलेको जस्तो अमेरिकामा बस्ने नेपालीले नेपालमा जग्गा खेति र घर किन्ने सोच्दैनन । किनभने त्यहाँ बस्ने अभिभावकले त्यो कुरामा प्रोत्साहन गर्न छोडेका छन् । यता भएका सन्तानले घर घडेरी बेची यता लगानी गर्ने भएकोले नेपालमा सम्पत्ति नभएकोले आफ्ना परिवारलाई अमेरिका ल्याउन थालेका छन् ।
भूकम्पले थच्चक बसेको मुलुकलाई भारतले अघोषित रुपमा लगाएको आर्थिक नाकाबन्दीले मुलुक झन् हरेक समस्याले आक्रान्त पारेको छ । महंगीले आकाश चुमेको छ । कालाबजारी र भ्रष्टाचारले मुलुकको बेहाल छ ।
हड्ताल र बन्दले लाखौ लाख बिद्यालय बन्द हुँदा भबिष्यका कर्णधार भनिएका बिद्यार्थीको भबिश्य अन्धकारमय हुन् पुगेको छ । विगत झन्डै १ सय २० दिनदेखि तराईमा चलेको आन्दोलनको कारण जनजीबन अस्तव्यस्त छ । करिब ३ हजार कलकारखाना बन्द छन् भने २ लाख भन्दा बढी मजदुरहरुले तराईमा रोजगारी गुमाएका छन् । लाखौ बिद्यार्थी यसको मारमा परेका छन् ।
यस्तो वातावरणमा अभिभावकले आफना सन्तानलाई नेपाल फर्कनु कसरि भन्ने आँट गर्लान त ? अभिभावकको मनभित्र चिसो पस्न थालेको छ । भारतले नेपाललाई सिक्किम त बनाउने हैन भनि शंका र उपशंका लिएर बस्न विवश छन । भारतले २०४५ सालमा गरेको आर्थिक नाकाबन्दी फेरी दोहोर्याई दिएको छ ।
कोशी र कर्णालीमा गिद्धे दृष्टि परेकोले यहिकारण कतै सिक्किमीकरण गर्न भारतले कल्पना गरेको बृहत ढाँचा (ग्रान्ड डिजाइन) मा नेपाल रहन्छ कि रहदैन भन्ने पनि सोच आउने गरेको छ । नेपालमा यस्तो तमाशा देख्ने अभिभावकले आफ्ना सन्तान फेरी यस्तो कठिन र जटिल अवस्थामा आएर जीवन ब्यर्थ त बनाउदैनन् भन्ने सोच्न बाध्य पनि छन् ।
आफ्ना सन्तानलाई अभिभावकले किन अमेरिका लिएर जा भन्न थालेका छन् ?
देश चरम समस्याले ग्रसित छ । कति खेर के हुन्छ सबै अन्यौलमा छन् । देशका नेताहरु कुहिरोभित्र हराएका काग जस्तै भएका छन् । चौतर्फी तहस नहस छ । भोलि नेपाललाई सिक्किम बनायो भने के होला भन्ने तर्क बितर्कको आँधी मस्तिष्कमा आईरहेको हुन्छ । अमेरिकामा भाँसिएकाले नेपालमा रहेको सम्पत्तिको भोग चलन अरुले गर्ने हुन् कि भन्ने त्राहिमाम पनि छ ।
अमेरिकामा बसोबास गरेकोले नेपालमा भाडा लगाएर खान मुस्किल छ । आफन्तले अमेरिकामा गएका छन् भनि उनीहरुलाई पैसाको के कमी भनेर भाडा दिन कप्टी गरि दिदा झन् झगडा हुन् गै अमेरिकामा हुनेले घर बेच्न बाध्य हुन्छन । बृद्ध मातापिताका सबै सन्तान अमेरिका र बिदेशमा भै दिँदा बुढेसकालमा कठिन जीवन भोग्नुपर्ने हुन्छ । सबै सन्तान अमेरिका र बिदेशमा जाने गरेकोले आफ्ना बाबुआमा हेर्ने कोहि नहुँदा वृद्धा आश्रममा राख्नुको सट्टा अमेरिका ल्याउने चलन सुरु भैसकेको छ ।
नेपालमा रहेका अभिभावकले नेपालको स्थितिदेखि यता आएर बस्न ठिक छैन भन्न गार्हो मान्न छोडेका छन् । नेपाल पहिलाको जस्तो छैन आदि कुराहरु अभिभावकले खुला रुपले भनि दिन्छन । अमेरिकामा बस्ने मानिसलाई अप्ठ्यारो हुन्छ र यहाँ जीवन गुजारा गर्न कठिन हुन्छ भन्ने कुरामा अभिभावक मौन बस्दैनन् ।
अमेरिकामा अलिक उमेर पुगेका बृद्धलाई अझ हेरचाह हुने र सबै सुबिधा पाइने हुनाले अमेरिका बसेका सन्तानले आमाबुवालाई ल्याउन थालेका छन् । अधिकांश अभिभावक नेपालमै रत्तिएकोले यता मन नगर्ने पनि हुन्छन । पटक पटकको नेपालले भोग्नु परेको र विषम परिस्थितिमा अभिभावकसंग कुनै बिकल्प हुँदैन । र मुखै फोडेर अभिभावकले अमेरिका भाँसिएका सन्तानलाई मातृभूमि फर्कन सल्लाह दिन छाडेका छन् । बरु अभिभावकले अमेरिका हामीलाई पनि लैजाऊ भन्ने आग्रह गर्न थालेका छ । अनगिन्ती बुवाआमा नेपाल छोडी अमेरिका बसी सराई गर्न थालेका छन् । यो क्रम बढ्दो छ ।















प्रतिक्रिया