गोरखा, १६ पुस । गोरखाको विभिन्न २० गाविसका भूकम्पपीडितले नगदको सट्टा खाद्यान्न लिएर पुनःनिर्माणको काम गरेका छन् ।
भूकम्पपछि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को आर्थिक सहयोगमा सप्रोसले ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सुरु गरेपछि भूकम्पपीडितले सडक, गोरेटो बाटो बनाउनुका साथै भूकम्पले अवरुद्ध खानेपानी आयोजनादेखि लघुजलविद्युत् आयोजनाको पनि पुनःनिर्माण गरेका हुन् ।
गाउँको विकास निर्माणको काममा १३ हजार २१ जना जुटेका हुन् । उनीहरुलाई नगदको सट्टा खाद्यान्न वितरण गरिएको सप्रोस गोरखा संयोजक विजय कार्कीले बताउनुभयो । सो कार्यक्रमअन्तर्गत अहिलेसम्म एक हजार ९५३ मेट्रिक टन चामल र ३५१ मेट्रिक टन दाल गरी कुल दुई हजार ३०४ मेट्रिक टन खाद्यान्न वितरण गरिएको संयोजक कार्कीको भनाइ छ ।
भूकम्पपीडितले ७४ गोरेटो बाटो, १२ खानेपानी आयोजना मर्मत, १० काठका पुल, १० वटा विद्यालयको खेल मैदान निर्माण गर्नुका साथै नौ ग्रामीण सडक र तीनओटा लघुजलविद्युत् आयोजनाको मर्मत गरेका छन् । सप्रोसले गोरखामा १२५ वटा योजनामा लगानी गरेको छ । भूकम्पको केन्द्रबिन्दु बारपाक गाउँमा सडक निर्माणका साथै गोरेटो बाटो निर्माण गरेको छ । एक हजार २०९ घरधुरीका भूकम्पपीडितले विकास निर्माणको काममा खटेर २१३ मेट्रिक टन खाद्यान्न बुझिसकेका छन् । खाद्यान्न लिन भूकम्पपीडितले कम्तीमा ४० दिन काम गनुपर्ने र रासन कार्ड बनाएको हुनुपर्छ । स्थानीयवासीसँगको समन्वयमा गाउँका योजना पुनःनिर्माण तथा नवनिर्माण गरिएको सप्रोसले जनाएको छ ।
बिही गाविसका २१८ भूकम्पपीडितले ३८ मेट्रिक टन खाद्यान्न बुझेका छन् । छेकम्पार गाविसका २५३ भूकम्पपीडितले ४४ मेट्रिक टन खाद्यान्न, चुम्चेतका २४१ जनाले ४२ मेट्रिक टन, घ्याच्चोकका ४३९ जनाले ७७ मेट्रिक टन, गुम्दाका ६६० जनाले ११६ मेट्रिक टन, काशीगाउँका ४५० जनाले ७९ मेट्रिक टन र केरौँजाका ८९० जनाले १५७ मेट्रिक टन खाद्यान्न बुझेका सप्रोसका अनुगमन तथा मूल्याङ्कन अधिकृत गगन गुरुङले जानकारी दिनुभयो ।
खरिबोटका ५७८ भूकम्पपीडितले ११० मेट्रिक टन खाद्यान्न लिएका छन् । लाप्राकका ६२३ जनाले ११० मेट्रिक टन, लापुका ५०३ जनाले ८९ मेट्रिक टन, ल्हो गाविसका २८२ जनाले ४९ मेट्रिक टन, मान्वुका एक हजार ६९१ जनाले २९९ मेट्रिक टन, प्रोकका २२७ जनाले ४० मेट्रिक टन, सामागाउँका २०० जनाले ३५ मेट्रिक टन, सिर्दिवासका ६ हजार ३२३ जनाले ११२ मेट्रिक टन खाद्यान्न लिएको गुरुङको भनाइ छ ।
स्वाँराका ८२४ भूकम्पपीडितले १४५ मेट्रिक टन, सौरपानीका एक हजार ४०० जनाले २४७ मेट्रिक टन, थुमीका एक हजार १८० जनाले २०८ मेट्रिक टन र उहियाका ५२० ले ९२ मेट्रिक टन खाद्यान्न बुझेको गुरुङले जानकारी दिनुभयो । मनास्लु पदमार्ग र छेकम्पार जोड्ने चुमभ्याली पर्यटकीय पदमार्गका विभिन्न खण्डमा काठका पुल पुनःनिर्माण गरिएको छ ।
चालीस दिन काम गरेर १५० केजी चामल र २७ केजी दाल पाएपछि बारपाकका भूकम्पपीडित शुक्रराज घलेले खुसी हुनुहुन्छ ।
“भूकम्पले भत्किएका बाटोघाटो बनाउन कसैले सहयोग नगरे पनि गाउँलेले बनाउनुपर्र्छ,” उहाँले भन्नुभयो – “ज्याला लिएर काम गरेको भन्दा खाद्यान्न लिएर काम गर्दा भूकम्पपीडितलाई फाइदा पुग्यो ।” केही भूकम्पपीडितले कामका लागि खाद्यान्न कार्यक्रममा सहभागी हुन नपाएकामा दुखेसो पोखे । सप्रोसले गुणस्तरीय खाद्यान्न वितरण गरेको जनाएको छ । रासस












प्रतिक्रिया