भक्तपुर, १५ पुस । विनाशकारी भूकम्पले क्षति पु¥याएको आठ महिना बितिसक्दा पनि भक्तपुर नगरपालिकाले अझै भत्किएका घरको भग्नावशेष नहटाइदिँदा भूकम्पपीडितको पालमै बास भएको छ ।
जाडोले पालमा बस्नै नसक्ने अवस्था हुँदा पनि भग्नावशेष नहटाइदिँदा आफ्नै जग्गामा पनि टहरा बनाएर बस्न नपाएको भूकम्पपीडितले गुनासो गरेका छन् ।
भक्तपुर वडा नं २ जेँला बस्ती अहिले पनि खण्डहर नै रहेको छ । भग्नावशेष हटाइएका अन्य क्षेत्रका धेरैजसो भूकम्पपीडितले जाडो छल्न भत्किएकै घरको इँटा, काठ, झ्यालढोकाको प्रयोग गरेर त्यही ठाउँमा एकतलाको टहरा बनाएर बस्न थालेपनि जेँलाका बासिन्दाले आफ्नो जग्गामा बस्नसमेत पाएनन् ।
भूकम्पमा २३ जनाको ज्यान गएको यो क्षेत्रका भूकम्पपीडित भत्किएका घरको भग्नावशेष हटाइदिन माग गर्दै पटक पटक नगरपालिकामा जाँदा पनि सुनुवाइ नभएको गुनासो गर्छन् ।
मानवीय आस्था नेपालले बनाइदिएको जस्ताको टहरामा बस्दै आउनुभएको रुकेश दुवाल टहरामा बूढा बाबु र परिवारको बसाइ कठिन भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –“तुषारो पर्न थालेपछि जस्ताको शिविरमा बस्नै नसकिने भएको छ, अन्त जाने विकल्प छैन, शीत चुहिएर ओछ्याउन चिसै हुन्छ, वृद्धवृद्धा र बच्चालाई शिविरको बसाइ निकै कठिन बनेको छ, नगरपालिकाले भग्नावशेष हटाइदिए त्यहीँ गएर इँटाको छाप्रो हालेर बस्थ्यौँ ।”
स्थानीय लक्ष्मी दुवालको गुनासो पनि उस्तै नै छ । चिसोले बालबच्चा बिरामी पर्न थालेको बताउँदै नगरपालिकालाई छाप्रो हाल्छाँै माटो फालिदेऊभन्दा पनि नटेरेको उहाँको भनाइ छ ।
भूकम्पले जेँलाको घर भत्किएर तल्लो तलामा पुरिएर बाँच्नुभएकी रामलक्ष्मी दुवाल ब्रह्मायणीको टहराले चिसो थेग्नै नसकेको बताउनुहुन्छ । भाडाको जग्गामा जस्ताको टहरा हालेर भक्तपुर नगरपालिका–१ ब्रह्मायणीमा बसेका भूकम्पपीडितलाई पानी, बत्तीको व्यवस्थासमेत नहुँदा निकै कठिन भएको उहाँ बताउनुहुन्छ ।
भक्तपुर नगरपालिकाले भग्नावशेष अझै नहटाइदिँदा उनीहरुले आफ्नै जग्गामा टहरा पनि बनाउन पाएका छैनन् ।












प्रतिक्रिया