काठमाडौं, २७ असार । नेपालीको प्रतिव्यक्ति वार्षिक आम्दानी ७१ हजार तीन सय पाँच रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय ६२ हजार ६ सय ७७ रुपैयाँ थियो। एक वर्षमा प्रतिव्यक्ति आम्दानी आठ हजार ६ सय २८ रुपैयाँ बढेको हो। यो वृद्धि १३.८ प्रतिशत हो।
अमेरिकी डलरमा हिसाब गर्दा प्रतिव्यक्ति आय सात सय १७ हुन आउँछ। समग्रमा आम्दानीको यो वृद्धिदर मूल्य वृद्धिभन्दा बढी हो। मूल्य वृद्धिदर ८.९ प्रतिशत हाराहारीमा छ।
व्यवस्थापिका संसद्मा बिहीबार आर्थिक सर्वेक्षण टेबुल गर्दै अर्थमन्त्री डा। रामशरण महतले प्रतिव्यक्ति आय बढेको जानकारी दिए। मुलुकको कुल राष्ट्रिय आय १९ खर्ब ६६ अर्ब ७० करोड पुगेको छ। गत आर्थिक वर्षमा अर्थतन्त्रको आकार १७ खर्ब पाँच अर्ब ७० करोड रुपैयाँ थियो।
यो तथ्यांकले समग्र अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको संकेत गर्छ। अर्थतन्त्रको समग्र आकार र प्रतिव्यक्ति आय बढे पनि धनी र गरिबबीचको खाडल भने अझै उच्च छ। गरिबीको रेखामुनि रहेको जनसंख्या २३.८ प्रतिशत छ।
सर्वेक्षणले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५।२ प्रतिशत हासिल भएको देखाएको छ। गत वर्ष आर्थिक वृद्धि ३.५ प्रतिशतमा सीमित थियो। वृद्धिदर ५.२ प्रतिशत पुग्नुमा मौसमी अनुकूलता प्रमुख कारण हो। कृषि उत्पादकत्व पनि बढेको छ। धान उत्पादन बढेको वर्ष आर्थिक वृद्धिदरमा सुधार आउँछ।
सरकारले चालू आर्थिक वर्षमा ५.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। यसले वृद्धिदर लक्ष्यनजिक पुगेको देखाउँछ।
अर्थमन्त्री महतले मौसमी अनुकूलतासँगै मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको तथा समयमा बजेट ल्याउन सकेकाले सकारात्मक प्रभाव आर्थिक वृद्धिमा देखिएको बताए। यस वर्ष कृषि उत्पादन ४.७ प्रतिशत वृद्धि हुने अनुमान छ। अन्नपूर्ण पोष्ट दैनिकबाट














प्रतिक्रिया