२९ आश्विन २०८३, बिहिबार

‘अधिकांश उद्धार चाहन्छन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SYRIA-CONFLICTनयाँ दिल्ली, २७ असार । दोलखा, खरिढुंगाकी मञ्जु श्रेष्ठ द्वन्द्वग्रस्त पश्चिम एसियाली मुलुक सिरिया पुगेको चार महिना भयो । राजधानी दमास्कसबाट ‘धेरै टाढा’ बसेको बताउने उनी मध्यरातमा फोन गर्दै गुहार्छिन्, ‘म त यतै मर्छुजस्तो छ, मलाई बाचाउनुहोस् ।’

मानव तस्करको चंगुलमा परी सिरिया पुगेकी ४१ वर्षीया मञ्जुका आफन्तले परराष्ट्र मन्त्रालय, कन्सुलर शाखामार्फत उद्धारको निवेदन दिएको महिनौं भइसक्यो । घरमा चार छोरी र एक छोरा उनकै पखाइमा छन् । द्वन्द्व चर्किरहेको सिरियामा दिनहुँ सयौं नागरिक हताहत भइरहँदा मञ्जुजस्ता थुप्रै नेपाली युवतीको हारगुहार त्यसै हराइरहेको छ ।

दिल्लीको बाटो हुँदै दुबई, लेबनान वा टर्की लैजाने भन्दै यस वर्षमात्रै ४ सयभन्दा बढी युवती दमास्कस आसपास पुर्‍याइएको तथ्यांक सिरिया मामला हेर्ने इजिप्टको कायरोस्थित दूतावाससँग छ । ‘इराकको कुर्दिस्तान लैजाने भन्दै मेरी श्रीमतीलाई दलालले सिरिया पुर्‍याएको पछि थाहा पाएँ,’ खरिढुंगामा आलुखेती गर्ने श्रीमान् राम श्रेष्ठले फोनमा भने, ‘ऊ फोनमा खुलेर कुरा गर्नसमेत सकिरहेकी छैन, कहा कसरी राखिएको छ, त्यो पनि थाहा छैन ।’

झापा घर बताउने सोनु राई, दिल्लीका एजेन्ट दीपक र पोखराकी उषाले मञ्जुलाई विदेश उडाउन आफूबाट झन्डै १ लाख रुपैयाँ लिएको रामले बताए ।

मञ्जुले बितेको ४ महिनामा मालिकबाट पैसा नपाएको र बारम्बार बलात्कार प्रयाससमेत भएकोमा नजिकको प्रहरी चौकी गएर शरण लिनुपरेको बताइन् ।

‘कुर्दिस्तान हो कि तुर्किस्तान लैजाने भनेर दलालले यहाँ ल्याए, म बसेको घर छेउमा सल्लाघारी मात्रै देखिन्छ,’ मञ्जुले भनिन्, ‘दमास्कसबाट कति टाढा हो, मलाई थाहा छैन ।’

मञ्जुले आफूसँगै दोलाखाकै फुट्टी शेर्पा र पोखराकी जानुका माझी काठमाडौंबाट दिल्ली हुँदै सिरिया आइपुगेको, तर उनीहरू अहिले कहाँ कुन हालतमा छन् भन्ने केही थाहा नभएको जानकारी दिइन् ।

नेपाल सरकारले सिरियालाई प्रतिबन्धित रोजगारी गन्तव्यका रूपमा सूचीकृत गरेको भए पनि सिरिया सरकारको आन्तरिक मामिला मन्त्रालयले सन् २०१२ को मार्चदेखि नाइजेरिया, इन्डोनेसिया, बंगलादेश, श्रीलंका, भियतनाम र नेपालका घरेलु कामदारलाई कामको अनुमति दिएको थियो ।

त्यसयता दलालहरूले ४ सय डलरसम्म तलब पाउने भन्दै नेपाली महिला सिरिया पुर्‍याउन थालेका हुन् । तस्करीको यो दिल्ली ‘नेटवर्क’ बारे स्थानीय नेपाली दूतावासलाई जानकारी छ । तर एजेन्टलाई कारबाही गर्न र उद्धारमा सहयोगी बन्न कुनै संयन्त्र नरहेको भन्दै दूतावास पन्छिरहेको छ । कान्तिपुर दैनिकबाट