काठमाडौं, २६ असार । नेकपा एमालेको जारी नवौं महाधिवेशनमा खानाको जिम्मा लिएको अल्फाबिटा कम्प्लेक्सले उपलब्ध गराएको खाना गुणस्तरहीन भएको पाइएको छ।
सो कम्प्लेक्सले बुधबार बिहान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई खुवाइएको ‘चिकेन’ मरेको कुखुरा सस्तोमा किनेर ल्याएर खुवाएको रहस्यसमेत पत्ता लागेको छ।
बिहान खाना खाएपछि केही महाधिवेशन प्रतिनिधिहरूलाई झाडापखाला भएपछि खाना व्यवस्थापन गर्ने समूहसमक्ष उजुरी गरेका थिए। खाना व्यवस्थापन समूहका संयोजक मुकुन्द न्यौपानेलाई सबै प्रतिनिधिले सोधखोज गरेका थिए।
‘मरेको कुखुरा प्रतिकेजी १ सय रुपियाँमा किनेर ल्याएको थाहा पाएपछि हामीले तीन डेक्ची मासु फालिदियौं’ –ती प्रतिनिधिले भने। एमाले मूल व्यवस्थापन समितिले प्रति दिन प्रति प्रतिनिधि ७ सय ५० रुपियाँमा खाना खुवाउने जिम्मा अल्फाबिटा कम्प्लेक्सलाई दिएको थियो।
दिराज शर्मा सञ्चालक रहेको उक्त कम्प्लेक्सले खानामा समेत घोटला गरेको भन्दै प्रतिनिधिहरूले आज बिहीबारबाट खाना नखाने भन्दै आयोजकहरूको चर्को आलोचना गरेका थिए।
मरेको कुखुराको मासु खाएर झाडापखाला लागेपछि महाधिवेशन प्रतिनिधिलाई उपचारका लागि अस्पताल नै लग्नुपरेको थियो। एमाले महाधिवेशनमा खाना खाने जिम्मा लिएको अल्फाबिटा कम्प्लेक्सले राज्यलाई तिर्नुपर्ने ३ करोड राजस्व नतिरेको भन्दै आन्तरिक राजस्व कार्यालयले केही दिनअघि सार्वजनिक सूचनासमेत प्रकाशित गरेको थियो।
एमाले नेता तथा अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले सोही कम्प्लेक्सलाई आफ्नो निजी सचिवालयका रूपमा प्रयोग गर्दै आउनुभएको थियो। नेपाल समाचार पत्र दैनिकबाट













प्रतिक्रिया