काठमाडौं, २६ असार । पदाधिकारी संख्या थप गर्दै नेकपा (एमाले) को जारी नवौँ महाधिवेशनले बुधबार विधान संशोधन प्रस्ताव पारित गरेको छ।
एक सातादेखि राजधानीमा जारी महाधिवेशनमा बुधबार बन्दसत्रले पार्टी पदाधिकारी समावेशी बनाउँदै विधान संशोधनसहित सबै प्रस्ताव पारित गरेको हो। यससँगै पार्टीको निर्वाचन आयोगले बिहीबारबाट नेतृत्व चयन प्रक्रिया अघि बढाउने तयारी थालेको हो।
प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज पारित भएको जानकारी दिँदै बिहीबारबाट निर्वाचन प्रक्रिया सुरु हुने बताए।
राष्ट्रिय सभागृहमा सचिवालय स्थापना गरी निर्वाचन तयारी थालेको आयोगले बिहीबार बिहान ७ बजे मतदाता (महाधिवेशन प्रतिनिधि) नामावली प्रकाशित गर्नेछ।
आयोगले मतदाता नामावलीमाथिको दाबी विरोधका लागि दुई घन्टा समय छुट्ट्याउँदै बिहान १० बजेबाट उम्मेदवारी मनोनयन प्रक्रिया अघि बढाउने एमाले निर्वाचन आयोगका संयोजक सोमनाथ अधिकारीले जानकारी दिए।
‘बिहीबार बिहानबाट निर्वाचन प्रक्रिया सुरु गर्र्छौं,’ अधिकारीले भने, ‘साँझसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने योजना छ।’
आयोगले उम्मेदवारी मनोनयनका लागि चार घन्टा (दुई बजेसम्म) को समय छुट्ट्याएको छ। त्यसपछि उम्मेदवारीमाथि दाबी विरोध र फिर्ताको समय दिनेछ।
आयोगले शुक्रबार बिहान ८ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु गर्ने योजना बनाएको छ। १४ पदाधिकारीसहित १ सय ५८ केन्द्रीय नेताका लागि हुने निर्वाचनमा आयोगले १० घन्टा समय छुट्ट्याएको बताउँदै आयोगका संयोजक अधिकारीले भने, ‘एकजना प्रतिनिधिले २० मिनेटमा मतदान गरिसक्नेछन्।’
आयोगको सचिवालय रहेको स्थान राष्ट्रिय सभागृह निर्वाचनका लागि साँघुरो भएको निष्कर्ष निकाल्दै महाधिवेशनस्थल भृकुटीमण्डपमा नै चुनाव गर्ने तयारी गरेको छ। आयोगले भृकुटीमण्डपको अवलोकनपछि मात्र मतदान कति स्थानमा गर्ने भन्ने टुंगो लाग्ने पनि अधिकारीले बताए।
‘पदाधिकारीका साथै मधेसी, महिला, दलित, जनजाति, खुला सदस्यका लागि छुट्टाछुट्टै रंगको मतपत्र बनाउने तयारीमा छौं,’ अधिकारीले भने, ‘निर्वाचन कार्यक्रमसहित सबै विषय भोलि (बिहीबार) सार्वजनिक गर्नेछौं।’
आयोगले विभिन्न १२ मतदानकेन्द्र र ३० मतपेटिका व्यवस्था गर्नेछ। यसैगरी, निर्वाचनमा आठ किसिमका, आठ रंगका मतदानपत्र प्रयोग हुनेछ। विधानले व्यवस्था गरेअनुसार नयाँ र विभिन्न कोटाका आधारमा मतपत्र प्रकाशित हुनेछ। नागरिक दैनिकबाट













प्रतिक्रिया