काठमाडौं, २६ असार । काठमाडौंमा जारी एमालेको नवौं महाधिवशनमा बुधबार साँझदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
निर्वाचन आयोग प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले साँझ साढे ७ बजेदेखि निर्वाचन कार्यक्रम र आचारसंहिता लागू भएको जानकारी दिए । ‘निर्वाचन कार्यक्रम र आचारसंहिता लागू भएको छ,’ उनले भने, ‘अब महाधिवेशनसँग सम्बन्धित सवैलाई आचारसंहिताले छोएको छ ।’
विधान संशोधन प्रस्तावमा सहमति नहुँदा निर्वाचत प्रक्रिया सुरु गर्न ढिला भएको थियो । बुधबार साँझमात्र विधान संशोधनमा सहमति भएसँगै निर्वाचन कार्यक्रम सुरु भएको हो ।
निर्वाचन आयोग प्रमुख अधिकारीका अनुसार बिहीबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । ‘बाँकी निर्वाचन कार्यक्रम भोलि बिहान ७ बजे सार्वजनिक गर्छौं,’ उनले भने ।
निर्वाचन आयोगले बुधबार साँझ नै निर्वाचन समिति र ११ सदस्यीय निर्वाचन अधिकृतको घोषणा गरेको छ ।
आयोगले प्रतिनिधिहरुलाई २५ बुँदे निर्वाचन आचारसंहिता जानकारी गराएको छ ।
आचारसंहिता निर्वाचन आयोगका सदस्य, निर्वाचत अधिकृतसहित, उम्मेदवार, प्रतिनिधि, स्वयंसेवक, उम्मेदवारका प्रतिनिधि, स्वयंसेवक र सुरक्षाकर्मीमा लागू गरिएको अधिकारीले जानकारी दिए ।
आचारसंहिता अनुसार एमालेका मन्त्रीहरुले कुनै पनि उम्मेदवारलाई भोट माग्न र ‘अन्य कुनै पदीय दुरुपयोग’ गर्न पाउने छैनन् । महाधिवेशन निर्वाचन आचारसंहिताको १५ नम्बर बुँदामा लेखिएको छ, ‘मन्त्रीहरु, राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरु, जननिर्वाचित प्रतिनिधिहरुले पदीय दुरुपयोग गर्न पाउने छैनन् ।’
एमाले निर्वाचन आयोगले भृकुटीमण्डपस्थित महाधिवेशन परिसरमा प्रचार सामाग्री बाँड्न, समूहगत नाराबाजी गर्न, टोपी, गञ्जी, ज्याकेट, टिसर्टजस्ता कपडामा उम्मेदवारको प्रचार गर्न पनि रोक लगाएको छ ।
धाकधम्की, अवरोध, भोजभतेर, साँस्कृतिक कार्यक्रम गर्न र एक एर्काविरुद्ध लाञ्छाना लगाउन तथा भाषा, जाति, क्षेत्र र लिंगको मानमर्दन गर्न रोक लगाएको छ । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया