२९ आश्विन २०८३, बिहिबार

एकीकरणको विपक्षमा वैद्य माओवादी नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flagकाठमाडौं, २५ असार । मोहन वैद्य नेतृत्व नेकपा माओवादीका अधिकांश नेता एकीकृत नेकपा माओवादीसँग तत्काल एकीकरण गर्न नहुने पक्षमा छन्।

पार्टी मुख्यालय बुद्धनगरमा जारी केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले मुद्दामा आधारित भएर कार्यगत एकता गर्नु ठिकै भए पनि पार्टी एकीकरणका लागि तत्काल पहलकदमी नगर्न नेतृत्वसँग आग्रह गरेका छन्।

एक पोलिब्युरो सदस्यका अनुसार अधिकांश सदस्यले पार्टी एकीकरण आवश्यक परिहाले सतर्कताका साथ मात्र पहलकदमी गर्नुपर्ने राय राखेका छन्। एमाओवादी नेतृत्वमा पार्टी एकीकरण हुन नसक्ने उनीहरूको भनाइ छ। ‘आफ्नै नेतृत्वको वरिपरि मात्रै एकीकरण हुनुपर्नेमा अधिकांशले जोड गरेका छन्,’ ती पोलिटब्युरो सदस्यले भने।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो खोसिएको साख जोगाउन कार्यगत एकता र एकीकरणको प्रस्ताव गरेको अधिकांश सदस्यको निर्क्योल छ।

‘संविधानसभा चुनावअघि वैद्यजीहरू नभए पनि चुनावमा जाऔं केही फरक पर्दैन भन्ने व्यक्ति नै प्रचण्ड (दाहाल) हुन्,’ एक केन्द्रीय सदस्यले भने, ‘तर, चुनावमा अप्रत्याशित हार बेहोरेपछि आत्तिएका प्रचण्ड अहिले पुनः हामीसँग कार्यगत एकता र एकीकरणको प्रस्ताव गरिरहेका छन्।’

अध्यक्ष दाहालले बानेश्वरमा आयोजित एक कार्यक्रममा नेकपा–माओवादी एकीकरणका लागि तयार भए आफू अध्यक्ष छाड्न र वैद्यलाई नेतृत्व सुम्पन्न राजी भएको उल्लेख गरेका थिए।

पार्टी विभाजनको औचित्य पुष्टि नभएसम्म एकीकरणका लागि सोच्न पनि नहुने मुख्य गरी सचिव नेत्रविक्रम चन्द पक्षधर केन्द्रीय नेताको भनाइ छ। ‘हिजो दक्षिणपन्थी संशोधनवादी भनेर हामीले पार्टी विभाजन गरेका हौं, आज के कारणले पार्टी एकीकरण हुनसक्छ, आधार चाहियो भन्दै नेताहरूले बैठकमै प्रश्न गरेका छन्,’ एक केन्द्रीय सदस्यले भने। नागरिक दैनिकबाट