२९ आश्विन २०८३, बिहिबार

‘सभासदलाई ५ करोड दिए द्वन्द्ध’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan Mahatकाठमाडौ, २५ असार । अर्थमन्त्री रामशरण महतलाई पूर्व अर्थमन्त्रीहरुले प्रतिनिर्वाचन क्षेत्र ५ करोड रुपैयाँ दिए द्वन्द्व निम्तिने भन्दै त्यस्तो कार्यक्रम नल्याउन सुझाव दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका पूर्व अर्थमन्त्री बाबुराम भट्टराई, पूर्व अर्थमन्त्रीहरु प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, बर्षमान पुन र शंकर कोइरालाले महतसँग सयुक्त भेटेका थिए ।

भट्टराई र पुनले ५ करोडको व्यवस्था भए बजेटमा असहयोग गर्ने चेतावनी दिए भने एमालेका सुरेन्द्र पाण्डे ५ करोडकै पक्षमा उभिएका छन् । पूर्व ५ अर्थमन्त्रीमध्ये हरेक निर्वाचन क्षेत्रलाई ५ करोड बिनियोजन गर्नुपर्छ भन्ने पक्षमा उभिने उनी एक्ला हुन् ।

लोहनी र कोइरालाले निर्वाचन क्षेत्रमा ५ करोड विनियोजन नगर्न सुझाव दिए । विपक्षमा उभिएका पूर्व अर्थमन्त्रीहरुले निर्वाचन क्षेत्र कार्यक्रममा बजेट विनियोजित हुँदा समानुपातिक सभासद्बाट विरोध आउने र स्थानीय निकायमा अर्को समानान्तर समिति बनेर त्यसले द्वन्द्व निम्त्याउने बताएका थिए ।

उनीहरुले विगतमा सांसदलाई उपलब्ध गराएको १० लाख रुपैयाँ समेत अत्यधिक दुरुपयोग भएको जनाउँदै त्यसको विकल्प सोच्न महतलाई आग्रह गरे । ‘प्रमुख प्रतिपक्षी दल एमाओवादीले यो कार्यक्रम आए समर्थन गर्ने छैन भन्ने कुरा महतलाई जानकारी गराए’, भट्टराईले भने, ‘महत यो कार्यक्रमलाई बढावा दिने सोचमा त देखिनँ, तर पार्टीकै दबाबका कारण मन नलागे पनि छलफल गरिरहनु भएको पाएँ ।’

रकम नबढाउने निर्णय गरे महतलाई साथ दिने बताएको भट्टराईले जनाए । ‘यसमा दृढ हुनुस् भनेका छौ’, उनले भने ।

बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँगको बैठकमा एमाले नेता पाण्डे भने केहीबेर मात्रै उपस्थित भए । ५ करोड बिनियोजन गर्नैपर्ने सुझाव दिंदै उनी बाहिरिएका थिए । ‘पार्टीको व्यस्तातले केही छिन मात्रै बैठकमा उपस्थित भएर निस्किहाले’, पाण्डेले भने, ‘मैले ५ करोड बिनियोजन गर्नुपर्छ भन्ने सल्लाह महतलाई दिएको हुँ ।’ कान्तिपुर दैनिकबाट