२८ आश्विन २०८३, बुधबार

किन ज्यानमारा बन्दैछ हृदयाघात ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arun-Maskey

रुकुमका ४० वर्षे मानबहादुर पुन राति खाना खाएर सुते । भोलिपल्ट विहान सुतेको ठाउँबाट उनी नउठेपछि साथीहरुले उठाउन खोज्दा उनको मृत्यु भैसकेको रहेछ । पछि थाहा भयो, उनकोे मृत्यु हृदयाघातले भएको रहेछ । यसैगरी कतारमा महिनामा १३ नेपालीको मृत्यु हुने गरेकोमा धेरैजसोको हृदयाघातले मृत्यु हुने गरेको पाइएको छ । यो समाचार नागरिक दैनिकले असार २८, २०६८ मा प्रथम पृष्ठमा प्रकाशित गरेको समाचार हो । उक्त समाचार अनुसार त्यस वर्ष जनवरीमा ५, फेबु्रवरीमा ५, मार्चमा ६, अप्रिलमा १० र मे महिनामा १३ जना नेपाली कामदारले हृदयाघातका कारण ज्यान गुमाएका थिए ।  कामका सिलसिलामा विदेश गएकाहरुले यसरी अप्रत्याशित रुपमा जीवन गुमाउनु व्यक्तिगत तथा परिवारको मात्र नभई राष्ट्रको लागिसमेत् ठूलो क्षति भएकोले यसबारेमा सबै क्षेत्रका जिम्मेवार व्यक्तिहरु गम्भीर बन्ने समय आइसकेको देखिन्छ ।

हृदयाघात भएका विरामीमध्ये झण्डै ५० प्रतिशतको मृत्यु १ घण्टाभित्रै हुन्छ । हृदयाघातपछि अस्पतालको उपचार पाउने विरामीमध्ये पनि ६ देखि ९ प्रतिशतको मृत्यु हुन्छ । मुटुमा रहेका रक्तनलीहरुमा बोसो जम्दै गएर रक्तनलीमा रक्त प्रवाह कम हुन्छ । बिस्तारै रक्त प्रवाह नै रोकिएपछि मुटुका मांसपेशीको मृत्यु हुन्छ । यसले गर्दा हृदयाघात हुन्छ ।

सरुवा रोग,एचआइभी र दुर्घटनाबाट मृत्यु हुनेको संख्याभन्दा मुटुरोगबाट हुने मृत्युको संख्या बढी छ । यसले गर्दा मुटु रोग विश्वभरी नै मृत्युको प्रमुख कारकको रुपमा देखिएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा प्रतिबर्ष झण्डै २ करोड ३६ लाख मानिसको मृत्यु मुटु रोगबाट हुने अनुमान गरेको छ । मुटुरोगमध्ये हृदयाघात मृत्युको मुख्य कारण बन्ने गरेको छ ।  हाल विकसित राष्ट्रमा हृदयाघातबाट हुने मृत्युमा कमी हुँदै गएको छ भने नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भयावह रुपमा देखा पर्न थालेको छ ।

अमेरिकामा झण्डै १ करोड ७० लाख मानिसमा मुटुको नसा साँघुरिने रोग (कोरोनरि आर्टरी डिजीज) लागेको पाइएको छ । त्यहाँ झण्डै ७० लाख मानिसलाई वर्षेनी हृदयाघात हुन्छ । मुटु रोगबाट अमेरिकामा प्रतिदिन २५ सय जना मर्ने गर्छन् । अर्थात् त्यहाँ प्रत्येक ३५ सेकेण्डमा एक जनाले मुटुरोगकै कारण ज्यान गुमाउनु परेको छ ।

सन् १९८० देखि २००२ सम्ममा अमेरिकामा हृदयाघातबाट हुने मृत्युदर ५० प्रतिशत घटेको छ ।  त्यहाँ सन् १९८० देखि १९८९ को बीचमा हृदयाघातबाट हुने मृत्युदर ६ दशमलव २ प्रतिशत रहेकोमा सन १९८९ देखि २००० सम्म आइपुग्दा सो मृत्युदर २ दशमलव ३ प्रतिशतमा झरेको थियो । छिमेकी राष्ट्र भारतमा हेर्ने हो भने सन् १९९० मा झण्डै ११ लाख मानिसले हृदयाघातसम्बन्धी रोगबाट ज्यान गुमाएका थिए ।  सन् २०१० मा आइपुग्दा भारतमा हृदयघातकै कारण करिब २० लाख जनाले ज्यान गुमाउनुपरेको थियो ।

विकसित राष्ट्रमा हृदयाघात बढ्दो उमेरमा हुने गरेको पाइएको छ भने विकासोन्मुख राष्ट्रमा कम उमेरमै देखिन थालेको छ । विकसित राष्ट्रमा यो रोगबाट ७० वर्षभन्दा कम उमेरका २३ प्रतिशत मानिसले ज्यान गुमाउने गरेका छन् । अर्कोतिर दक्षिणपूर्वी एसियाली राष्ट्रहरुमा ७० वर्षभन्दा कम उमेरका ५२ प्रतिशत मानिस हृदयाघातबाट ज्यान गुमाउछन् । भारतमा मुटुको नसाको रोगको बृद्धिदर ग्रामीण क्षेत्रमा ३ देखि ४ प्रतिशत (४० वर्ष अघिको तुलनामा दोब्बर वृद्धि) पाइएको छ भने शहरी क्षेत्रमा सो दर  ८ देखि १० प्रतिशत (४० वर्ष अघिको तुलनामा ६ गुणा वृद्धि) पाइएको छ ।

नेपालमा कूल जनसंख्याको करिब १५ प्रतिशत अर्थात् करिब ४० लाख मानिसमा मुटुरोग भएको अनुमान गरिएको छ । नेपालकै तथ्यांकलाई हेर्ने हो भने सन् १९४५ मा पहिलो पटक नेपालमा हृदयाघातको पहिचान भएको पाइन्छ । सन् १९६० को दशकदेखि नेपालमा हृदयाघात विस्तारै बढ्दै गइरहेको देखिन्छ । काठमाडौं उपत्यकामा सन् १९६० देखि १९६८ सम्ममा हृदयाघात भई अस्पताल भर्ना भएका विरामीको संख्या १ सय ५० मात्र थियो । सरकारी सेवामा कार्यरत काठमाडौंका कर्मचारीमा मुटुको नसासम्बन्धी रोगको दर ४ दशमलव ८ प्रतिशत रहेको अनुमान छ । सन् २००० को अवधिमा काठमाडौं उपत्यकाका अस्पतालहरुमा हृदयाघातबाट भर्ना भएका विरामीको संख्या ८ सय ६० रहेको पाइन्छ । यसरी काठमाडौंमा वयस्क उमेरका मानिसमा मुटुको नसासम्बन्धी रोगको दर झण्डै ५ प्रतिशत पाइएको छ ।

३० वर्षयता काठमाडौंमा मुटुको नसा साँघुरिने रोगमा ४० गुणा वृद्धि भएको पाइन्छ । काठमाडौं बाहिर धरानको शहरी क्षेत्रमा गरिएको अध्ययनले मुटुको नसा साँघुरिने रोगको दर ५ दशमलव ७ प्रतिशत देखाएको छ । यी सबै तथ्यांकलाई हेर्ने हो भने हृदयाघात नेपालमा भयावह रुपमा  देखिइसकेको छ । विश्व बैंकले सन् २००८ मा ५२ देशमा गरेको अध्ययनले समेत दक्षिण पूर्वी एशियाली राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, पाकिस्तान आदिमा हृदयाघात कम उमेर अर्थात ५३ वर्षमा हुने गरेको देखाएको छ । विकसित राष्ट्रमा भने ५९ वर्षमा पहिलो हृदयाघात हुने गरेको देखिन्छ । अर्थात् दक्षिण पूर्वि एशियाली राष्ट्रहरुमा ६ वर्ष अगाडि नै हृदयाघात हुने गरेको अध्ययनले देखाएको छ ।

दक्षिणपूर्वी एशियाली राष्ट्रहरुमा कम उमेरमै हृदयाघात देखिनुमा खासै कारण किटान गर्न नसकिएता पनि वंशानुगत गुण र परिवर्तित जीवनशैली, खानपिन, उच्च कोलेस्टेरोल, मधुमेह आदि रहेका छन् । दक्षिणपूर्वी एशियाली राष्ट्रहरुको औषत आयु  बढेर ६४ वर्ष पुगेको छ । एकातिर आर्थिक सम्पन्नता, बढ्दो शहरीकरण, परिवर्तित जीवनशैली आदिले हृदयाघात बढ्दै गइरहेको छ भने अर्कोतिर स्वास्थ्य सेवामा पहुँच बढेकोले यसको पहिचान पनि हुन थालेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा हृदयाघात भई भर्ना भएका विरामीमध्ये झण्डै २० प्रतिशत ४५ वर्ष मुनिका छन् । सक्रिय जीवन बाँचेर आफ्नो र  परिवारको लालनपालन गर्नुपर्ने समयमा आफ्नै उपचारमा समय र सम्पत्ति खर्च गर्नुपर्ने वाध्यता छ  ।

हृदयघातका कारक तत्वहरुमा बढ्दो उमेर (पुरुषमा ४५ वर्षमाथि र महिलामा ५५ वर्षमाथि), वंशाणुगत कारण, धूमपान, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपना, आलस्यपना, मानसिक तनाव, चिन्ता आदि हुन् । धूमपान गर्ने व्यक्तिमा हृदयघातको सम्भावना २ देखि ३ गुणाले बढी हुन्छ । चिल्लो, नुनिलो र बोसोयुक्त खाना, शारीरिक व्यायामको कमी तथा मानसिक तनाव पनि हृदयघातका कारक तत्व हुन् । नेपालमा पनि बढ्दो शहरीकरण,आधुनिक रहनसहन, आर्थिक सम्पन्नता र व्यस्तताका कारणले मानिसहरु घरमा भन्दा रेष्टुरेन्टमा फास्टफुड खाने प्रवृत्ति बढ्दै गएको छ ।

यसले गर्दा मोटोपना बढ्दै गएको छ । बढ्दो मानसिक तनावसँगै परिवर्तित बानीले गर्दा धूमपान गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ । यस्ता कारणले  उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल बढ्दै गएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा हृदयाघात भई भर्ना भइरहेका विरामीको तथ्यांक हेर्ने हो भने धूमपान गर्नेमध्ये ५५ प्रतिशतमा उच्च रक्तचाप, ४८ प्रतिशतमा उच्च कोलेस्टेरोल, ४७ प्रतिशतमा मधुमेह पाइएको छ । धरानको शहरी क्षेत्रमा हृदयघातका कारक तत्वबारे गरिएको अध्ययनले धूमपानका कारण  ३९ प्रतिशत, उच्च रक्तचापका कारण ३५ प्रतीशत, मधुमेहका कारण १६ प्रतिशत, उच्च कोलेस्टेरोलका कारण १३ प्रतिशत र  मोटोपनाका कारण ४२ प्रतिशत रहेको पाइएको छ । नेपालमा हृदयाघातसम्बन्धी देशभरकै तथ्याङ्क नभएपनि काठमाडौका अस्पताल र धरानको शहरी क्षेत्रमा गरिएको अध्ययनले हृदयघात भयावह रुपमा देखा परेको पुष्टि गर्छ ।

(बरिष्ठ मुटुरोग विशेषज्ञ, शहीद गंगालाल हृदय केन्द्र)