सप्तरी, २४ असार । छोरी जन्मेको झुटो दोषमा घरेलुहिंसा सहन बाध्य सप्तरीको ठेलिया–७ गोरपारकी १८ वर्षीया मनिता कुमारी खङ्गले सोमबार जिल्ला अदालतमा घरेलु हिंसा मुद्दा दर्ता गरेकी छन् ।
मनिताले पति देवनारायण, ससुरा लक्ष्मण, सासू सरस्वती र जेठाजु सुरजा खङ्गबाट घरेलु हिंसा भएको भन्दै मुद्दा दर्ता गरेकी हुन् ।
पीडितको निवेदनमा छोरी जन्मेको दोष दिँदै आरोपितहरुले थप दाइजो मागी गालीगलौज र कुटपिट गर्ने गरेको उल्लेख गरेकी छन् । आरोपित पतिले नागरिकता र विवाह दर्ता बनाई नदिएपछि बालिका छोरीको जन्मदर्ता बनाउन गत असार ७ गते गाविस कार्यालय जाँदा आरोपितहरुले छोरी खोसी घरनिकाला गरेको बताइन् ।
उनले आरोपितमाथि घरेलु हिंसाअन्तर्गत कारबाहीको माग गर्दै दिएको उजुरीमा सात महिनाकी दुधेबालिका छोरी र मासिक रु सात हजार खर्च उपलब्ध गराउन अदालतसमक्ष आग्रह गरेकी छन् । सामाजिक परम्पराअनुसार २०६९ वैशाख १८ गते विवाहित पीडितको सात महिनाकी छोरी हाल देवनारायणसँग छ । घरबाट निकालिएपछि गत असार ७ गतेदेखि पीडित भने लोहजरा–८ स्थित माइतीमा बस्दै आएकी छन् ।
अन्तरधार्मिक विवाह गर्ने महिला अलपत्र
यसैबीच, अन्तरधार्मिक विवाह गरेकी राजविराज नपा–२ बस्ने २१ वर्षीया रुपा देवकोटालाई पतिले अस्वीकार गरेपछि अलपत्र परेकी छन् ।
पतिले हेलोहोचो गर्न थालेपछि रुपाले सोमबार पति ३० वर्षीय मुबारक कवारीसँग नाता कायमका लागि सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छन् ।
फरक धर्मकै कारण ससुरा मनिर कवारीको दबाब र प्रभावमा परी पतिले खानलाउन नदिइ, पत्नी अस्वीकार गर्न थालेकाले अन्यायमा परेको भन्दै पीडितले नाता कायमका लागि उजुरी दर्ता गराएको बताएकी छन् ।
दुई वर्षदेखिको प्रेम सम्बन्धपछि गत चैत २५ गते मुबारकसँग विवाह गरी रुपा धनुषा हरिहरपुर–१ स्थित घरमा बसेकी थिइन् । पीडितलाई अन्य जाति–धर्मको भएको भन्दै ससुरा मनिरले दुःख दिएपछि उनीहरु २०७१ वैशाखदेखि घर छाडेर सप्तरीको राजविराज–२ स्थित प्रवेज मियाँको घरमा डेरा लिएर सँगै बसेका थिए ।
धर्म फरक परेकै कारण ससुराको दबाब र प्रभावमा परी अहिले पतिले पनि खानलाउन नदिइ पत्नीसमेत अस्वीकार गरेकाले अलपत्र परेको पीडितले बताएकी छन् ।
















प्रतिक्रिया