काठमाडौं, २४ असार । एमाले महाधिवेशन स्थलमा अन्तर्राष्ट्रिय कम्युनिस्ट नेता माक्र्स, एंगेल्स र लेनिनका तस्बिर दोस्रो दिनमात्र राखिएको छ। विदेशी अतिथि र देशभित्रका विशिष्ट व्यक्ति लाई आमन्त्रण गरिएको उद्घाटन समारोहमा यी कम्युनिस्ट गुरुका तस्बिर थिएनन्।
पूरा नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी(लेनिनवादी) भएको एमालेले अन्तर्राष्ट्रिय नेताका रूपमा कार्ल माक्र्स, फ्रेडरिग एंगेल्स र भ्लादिमिर इलिच लेनिनलाई मान्ने गरेको छ। कम्युनिस्ट दर्शनका प्रतिपादक दार्शनिक माक्र्स, उनका सहकर्मी एंगेल्स र रूसमा अक्टुबर क्रान्ति गरी दर्शन कार्यान्वयन गर्ने कम्युनिस्ट नेता लेनिन हुन्।
एमालेले सोभियत संघका निर्माता जोसेफ स्टालिन र चीनका माओत्सेतुङको फोटो भने २०४८ सालदेखि नै राख्न छाडेको थियो। मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी र मदन भण्डारी नेतृत्वको नेकपा माले एकीकरण भएर २०४७ पुसमा एमाले बनेदेखि ती दुई अन्तर्राष्ट्रिय गुरुको तस्बिर राख्न छाडिएको हो।
एमाले वैकल्पिक पोलिटब्युरो सदस्य बेदुराम भुसालले उद्घाटन समारोहमा नियतवश मञ्च व्यवस्थापन समितिका मान्छेले तस्बिर नराखेको बताए। ‘एमालेभित्रका एकथरी मान्छेहरू माक्र्सवाद नै छाड्नुपर्छ भन्नेमा छन्, उनीहरू पार्टीको नाममा पनि माक्र्सवादी-लेनिनवादी राख्नु हुँदैन भन्छन्’, उनले भने, ‘एमाले गठन भएदेखि हामीले तीनजना नेताको तस्बिर राख्दै आएका छौं।’
उद्घाटनमा उनीहरूका तस्बिर नराखेको विषय भित्रभित्रै गम्भीर रूपमा उठेपछि दोस्रो दिन ल्याएर राखिएको भुसालले बताए। उनले भने, ‘महाधिवेशन उद्घाटन समारोहमा तस्बिर नराख्नु उद्देश्यमूलक हो।’
एमालेले कम्युनिस्ट सिद्धान्त त्यागिसकेको भनेर विदेशीसँग लाभ लिनेहरूले यस्तो जाली व्यवहार गर्ने गरेको भुसालको दाबी छ। भारतीय जनता पार्टीका नेता विजय जोलीसहितका विदेशी अतिथि, नेपालकै अन्य पार्टीका नेता र विशिष्ट अतिथि फर्किसकेपछि आन्तरिक बैठकमा मात्र माक्र्स, एंगेल्स र लेनिनको तस्बिर राखिएको हो।
केही वर्षअघि एमालेले विदेशी राजदूतहरूसँग भेट गर्दा पार्टी केन्द्रीय कार्यालय बल्खुको पुस्तकालयमा रहेका माक्र्स, एंगेल्स र लेनिनका तस्बिर लुकाइएको भन्ने विषयले ठूलो चर्चा पाएको थियो। एमालेले त्यसबेला पुस्तकालय मिलाउँदा ती तस्बिर संयोगले मात्र हटेको स्पष्टीकरण दिएको थियो।
बाहिर प्रचारमा खासै नआए पनि एमाले महाधिवेशन प्रतिनिधिबीच अन्तर्राष्ट्रिय नेताको तस्बिर नराखेको विषयले ठूलै चर्चा पाएको छ। एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने माक्र्स(एंगेल्सका तस्बिर नराख्ने नियत नभई व्यवस्थापन गर्दा हतारोमा छुटेको बताए। अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया