काठमाडौं, २४ असार । एमाले नवौं महाधिवेशनस्थलको गेटमा पास जाँच्न उभिएकी बारकोड-रिडर मदन भण्डारीकी छोरी हुन् भन्ने थाहा पाउँदा प्रतिनिधिहरू आश्चर्यमा पर्न सक्छन् । उनी एमालेकी निवर्तमान उपाध्यक्ष विद्या भण्डारी र मदनकी जेठी छोरी उषाकिरण हुन् ।
एमालेको मजदुर संगठन जिफन्टको निर्देशनमा खटिएकी यी स्वयंसेवक बिहानदेखि रातिसम्मै प्रतिनिधि र पर्यवेक्षक कमरेडका छातीमा बारकोड रिडिङ मेसिन छुवाउँछिन् । गेटमाथिको स्क्रिनमा जसको अनुहार मिल्यो, त्यो भित्र छिर्न पायो । जसको अनुहार देखिएन, उनी मुस्कानसहित फर्काउँछिन् ।
बहुदलीय प्रजातन्त्रकालका लोकप्रिय तथा जबजका निर्माता भण्डारीकी छोरीलाई लोप्रोफाइलमा बसेर पार्टीको काम गर्नुपर्दा पटक्कै अप्ठ्यारो लागेको छैन । ‘पार्टीले अह्राएको काम इमानदारीसाथ खटेर गर्ने हो’, सुरुमा कुरा गर्न नमाने पनि एकछिनपछि उनले खुलेर भनिन्, ‘बुवा र आमाको हैसियतका आधारमा मैले काम गर्ने होइन । आफैं सक्रिय हुने हो ।’
एमालेको भ्रातृ संगठन युवासंघ नेपालको विदेश विभाग सदस्य रहेकी उषाकिरण जिफन्टमा आबद्ध भएर श्रमिकहरूको विषयमा अनुसन्धान गरिरहेको बताउँछिन् । जवाहरलाल नेहरू विश्वविद्यालयमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उषाकिरणको धारणा छ, ‘अब एक पटक फिल्डमा जमेर काम गर्ने हो । त्यहाँबाट पाएको अनुभवका आधारमा फेरि अध्ययन अघि बढाउने योजना छ ।’
दासढुंगा जिप दुर्घटनामा परी बुवा बित्दा उनी ८ वर्षकी थिइन् । उनी सानै छँदा बुवा एमाले महासचिव भइसकेका थिए । कांग्रेसका प्रधानमन्त्री-प्रत्याशी कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर उनी चर्चित भए ।
एमालेको जनताको बहुदलीय जनवाद (जबज) का कारण उनको चर्चा थप चुलियो । जारी महाधिवेशनको उद्घाटनमा माक्र्स र लेनिनको फोटो छुटाए पनि भण्डारीको फोटो जहिंतहीं देखिनुले पार्टीमा अझैसम्म पनि उनको प्रसिद्धि उत्तिकै देखिन्छ । बुवाको यस्तो हाईहाई देख्दा उषाकिरणलाई कस्तो लाग्छ त ? कान्तिपुर दैनिकबाट














प्रतिक्रिया