२९ आश्विन २०८३, बिहिबार

आगो लागेपछि इनार खन्नुको औचित्य छैन !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjeet-lama“……फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।” कवि लेखनाथ पौड्यालको यो भनाई नेपाली राजनैतिक शब्दकोषमा निकै ठूलो महत्व राख्ने शब्दावाली हो । विगतदेखि वर्तमानसम्मको राजनैतिक कालखण्डलाई हेर्ने हो भने संगीन मोडहरुमा यसै शब्दावलीको सम्मुचित(?) प्रयोग भएको छ । राष्ट्रवाद संरक्षणको एकसूत्रीय नाराको विरुद्ध विग्रहकारी दवदवा चलिरहेको यो मोडमा पुनः उही शब्दावलीको प्रयोगले मधेसमा घोषित र भारतमा अघोषितरुपमा जयगानको हल्लीखल्ली मच्चिएको छ । तर यता नेतृत्वपंक्तिहरु आफ्नो राजनैतिक अस्तित्वका लागि आत्मकेन्द्रित एजेन्डाहरु बोकेर दक्षिणतिर लाम लाग्नमै अभ्यस्त देखिन्छन् । यो अहिले टुसाएको देशको समुच्चा नाटक हो, जहाँ सत्ताको उन्मादमा बिभिन्न खाले झुकाइका श्यामश्वयत खेमाहरु बढो नाटकीय पाराले मञ्चन हुँदैछ । उदाहरणको लागि प्रारम्भिक चरणमा मधेस आन्दोलनलाई कुनै न कुनै रुपमा पक्षपोषण गरेको भारत अहिले मध्यस्थकर्ताको रुपमा आफुलाई उभ्याएको छ ।

“आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म नेपालको राष्ट्रियताको रक्षा गर्ने ।” ओलीको बोली कालान्तरमा गोली बनी पड्किने कुराप्रति जनता सशंकित छ । भारतीय विदेशमन्त्री शुष्मा स्वराजको व्यङ्ग्यात्मक शब्दवाणले कुडिएको नेपाली जनमनप्रति कत्तिको सम्बेदनशील छ सरकार ? यस्तो अलमस्त चाललाई देख्दा यस्तो लाग्छ राष्ट्र विभाजन र बिखण्डनको कलंक यिनीहरुकै टाउकोमा आएर थुप्रने छ ।

भारतको विशेष अनुग्रह प्राप्त मधेशप्रति असाध्यै अनुदार मानिने ओली; यस्तो समयमा प्रधानमन्त्री बने जतिबेला भारतविरोधी भावना प्रबल देखिएको थियो । संविधान निर्माणका क्रममा प्रमुख दलहरुको अद्वितीय एकता अनि ओलीको राष्ट्रियता र स्वभिमानी बोली र व्यवहारले एकपछि अर्को धक्का खाएको भारत अन्ततः विजयको कगारमा उभिएको छ । “आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म नेपालको राष्ट्रियताको रक्षा गर्ने ।” ओलीको बोली कालान्तरमा गोली बनी पड्किने कुराप्रति जनता सशंकित छ । सरकार नाकाबन्दीविरुद्ध अन्तर्राष्ट्रिय अभियान चलाउने योजना बनाउँछ तर संकटमोचनकारुपमा उपप्रधान तथा परराष्ट्रमन्त्रीलाई हप्काइ खान पठाउँछ । भारतीय विदेशमन्त्री शुष्मा स्वराजको व्यङ्ग्यात्मक शब्दवाणले कुडिएको नेपाली जनमनप्रति कत्तिको सम्बेदनशील छ सरकार ? यस्तो अलमस्त चाललाई देख्दा यस्तो लाग्छ राष्ट्र विभाजन र बिखण्डनको कलंक यिनीहरुकै टाउकोमा आएर थुप्रने छ ।

जाडोमा हरेक वादका मानिसलाई न्यानो लुगा र तातो घाम नै प्यारो हुन्छ । संसारको हरेक शास्त्रको एउटै सूत्र हो– बहुजन हिताय, बहुजन सुखाय । मानिसलाई वादका नाममा विभक्त त वादीले गर्ने हो वादले हैन । अहिले हामीले कोरेको वाद भनेको सम्प्रदायको लक्ष्मणरेखा हो । यस्तो रेखाले सियोको जस्तो जोड्ने नभएर कैंचीले जस्तो टुक्राउने काम भइरहेको छ । बहूसंख्यक वाद रहँदा रहँदै पनि नेपालमा किन यति धेरै बन्द हड्तालको आयोजना भइरहन्छन् त ? आमहडताल अत्यन्त दुःखदायी र सकसपूर्ण आन्दोलनको बनावट हो । बैशाख १२ गतेको विनाशकारी भूकम्पको बेला नेपालमा पीडाको जुन झड्का थियो, अहिले आन्दोलनको भूकम्प र पराकम्पनहरुले नेपालीलाई त्योभन्दा दोब्बर झट्का दिएको छ । करोडौंंको धन, ५० भन्दा बढी जनकोे मृत्यु र शतकभन्दा बढिको आन्दोलन अवधिले देशलाई अभूतपूर्व संकटमा चोपलेको छ । यस्तैबेला छिमेकीको रस्साकस्सी र नेतृत्वपंक्तिको कुटनीतिक लाचारीले सिङ्गो राज्य कृया र प्रतिकृयाको भूमरीमा फसेको छ । एकतर्फ उग्रराष्ट्रवाद छ भने अर्कोतर्फ उग्रविखण्डनवाद, आज यी दुई नस्लवाद चक्रीय धर्ममा लिप्त भएर हिंसा र द्वेषलाई नै केन्द्र बनाएर घुमिरहेका छन् ।

छाल र बाढी सधैं योग्य माझीहरुकै पक्षमा हुन्छन् भने झैं यसैबेला हो सरकारले आफ्नो प्रभावलाई यथोचित प्रयोग गर्दै, ढुङ्गाको काप फोरेर उम्रेको पीपल जस्तै प्रतापीको रुपमा आफुलाई इतिहासमा स्थापित गर्ने; र जनता जनार्दनको नारालाई बुलन्द गर्ने । तर गलतलाई गलत पनि भन्न नसक्ने यो भीरु सरकारले जनता जनार्दनको नारालाई के साँच्चै बुलन्द गर्ला त ? आम जनताका मनमथिङ्गलमा यही प्रश्न उब्जिएको छ यतिखेर । निरन्तर दक्षिणीपरस्त भुकाव र सुझावकै आकांक्षी यो सरकारको चर्तिकलाप्रति आज विश्वको आँखा अडेको छ । जसले नेपाल रणनीति र कुटनीतिक लविङमा विश्व सामू निम्छरो सावित भएकोे छ ।

इतिहासमा पढिएको बीर गोरखालीको गाथा अहिले सलामी, गुलामी र मलामीभन्दा माथि उठ्न सकेको छैन् । जब-जब भारतीय दमन र प्रभुत्ववाद हावी हुन्छ अनि सरकार आत्मनिर्भरता र स्वाभिमानको रंगीन भाषण दिन थाक्दैन । कालाबाजारीको एजेण्ट र कमिसनतन्त्रको जालोभित्र परेर आँखा र कानबन्दीले देश धर्मरिन्छ, उठ्नै नसक्ने गरी पछारिएपछि उठाउनुको कुचेष्टामा सरकार अलमस्त देखिन्छ । त्यसपछि अलखनामी उच्चारण गर्दै कहिले दक्षिण त, कहिले उत्तर हानिन्छ ।

विश्व मानचित्रमा नेपाल कनिष्ठ छ, रणनीति र कुटनीतिको हिसाबले पनि विश्वसामू खासै महत्ता नराख्ला, तापनि नेपाल एउटा सार्बभौमसत्ता सम्पन्न मूलूक हो । यसका आन्तरिक मामिलामाथि कसैको अनावश्यकारी हस्तक्षेप गैरकानूनी हुने कुरामा दुईमत छैन । कुटनीतिक नियोग मार्फत भारतको अर्घेलो व्यवहारलाई अन्तर्राष्ट्रियकरण गर्न सके नाकठाडे मिजासलाई केही सबक अवश्य मिल्ने थियो । तर यसप्रति सरकारको किन हो चाँसै बढेन । सरकारलाई आम जनताले गरेको यो अभूतपूर्व साथ र समर्थनको ओजलाई सरकारले हलुको रुपमा नबुझेकै भए मनासिब हुने थियो । आफ्नो निष्ठा र देशको स्वाभिमान बन्धकी राखेर झुक्न वा सम्झौता गर्न नहुने आम जनताको चाहनालाई सरकारले किन हो गम्भिरतापूर्बक लिइराखेको छैन ? वर्तमान नाकाबन्दी लम्बिदा ओली सरकार कतै देशभित्रै अलोकप्रिय हुने सन्त्रासले घर बनाइ रहेको त हैन ? सोचनीय छ ।

अहिलेको अवस्थामा सजिलो विकल्प भारतसँग झुक्नु नै हो । भारतलाई चिढ्याएर प्रधानमन्त्री पद धरापमा पार्न न पहिलेका प्रधानमन्त्री नै तयार थिए न अहिलेका, तयार भएकाहरुको भविगत हामीसामू स्पष्ट नै छ । त्यसैले यतिखेर ओलीको तीन महिने अग्नी परीक्षा प्रारम्भ भइसकेको छ । यही परीक्षा अवधिभर नेपाललाई केही सहज तुल्याएपनि मधेश मुद्दामा अनुदार मानिने ओलीलाई आफुले भनेका कुराहरुमा नझुकाएसम्म छुट नदिने भारतीय रबैयाप्रति कत्तिको चनाखो छ सरकार ? अब फेरि “……फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।” भन्ने कवि पौड्यालको यो भनाई पुनरावृत्ति हुने, हालैको राजनैतिक रोडम्यापले छर्लङ्ग पारेको छ ।

उल्लेख गर्नै पर्ने एक प्रसङ्गः राजामहाराजाहरुलाई तत्कालीन समयमा दरबारिया परम्परा अनुसार सवैलाई ‘तिमी’ भन्न सिकाइएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि राजा वीरेन्द्रले नेताहरुलाई यही अभ्यास दोहोर्‍याए । तर समयले खारेको लौहपुरुष गणेशमानले राजाको तिमी पचाएनन् । तत्काल प्रतिवाद गर्दै भने– ‘सरकारको हजुरबा नै हाम्रो साथी भएपछि परिवर्तित सन्दर्भमा तिमी भन्न सुहाउँदैन कि सरकार !’ राजाले तत्काल गल्ती महसूस गरे । घटना सामान्य हो, तर एउटा नेताको साहसले आत्म स्वाभिमान र सम्मानको श्रृंखला शुरु ग¥यो । अहिलेको सन्दर्भमा दक्षिणी राजामहाराजाको ‘तिमी’ लाई प्रतिवाद गर्ने नेपाली राजनैतिक साहसको खाँचो टड्कारो देखिन्छ ।

इतिहासमा पढिएको बीर गोरखालीको गाथा अहिले सलामी, गुलामी र मलामीभन्दा माथि उठ्न सकेको छैन् । जब-जब भारतीय दमन र प्रभुत्ववाद हावी हुन्छ अनि सरकार आत्मनिर्भरता र स्वाभिमानको रंगीन भाषण दिन थाक्दैन । कालाबाजारीको एजेण्ट र कमिसनतन्त्रको जालोभित्र परेर आँखा र कानबन्दीले देश धर्मरिन्छ, उठ्नै नसक्ने गरी पछारिएपछि उठाउनुको कुचेष्टामा सरकार अलमस्त देखिन्छ । त्यसपछि अलखनामी उच्चारण गर्दै कहिले दक्षिण त, कहिले उत्तर हानिन्छ । ए ! सरकार ! आगो लागेपछि इनार खन्नुको कुनै औचित्य छैन । आत्मनिर्भरता र स्वाभिमान भन्ने कुरा अहिलेका अहिले जादुयी पाराले सिद्ध हुने कुरा हैन । सत्ता र शक्ति प्राप्तिको लागि दक्षिणी प्रभूसँग सधैं लम्पसार पर्ने तपाईंहरूको जस्तो दिनचर्या पनि होइन । दास मनोवृत्ति र परजीवीतन्त्रबाट माथि उठ्नोस् ! स्रोतयुक्त प्रचुर सम्भावना बोेकेको नेपाल देश स्वतः सपाट र आत्मनिर्भर बन्ने छ ।

जय देश ! जय जनता !!

(लामा कञ्चनपुरका पत्रकार हुन् । )