इलाम, २५ मङ्सिर । पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले सीमामा जारी अवरोध चाँडै हट्ने बताउनुभएको छ ।
पश्चिमी इलामको बाँझो–३ स्थित सिङ्गेश्वरी प्राथमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्नुहुँदै पूर्व सभामुख नेम्बाङले नाकाबन्दीका कारण मुलुक सङ्कटतर्फ उन्मुख भइरहेकाले नाकाबन्दी चाँडै अन्त्य हुने बताउनुभएको हो ।
देशकै समस्या देशभित्र नै छलफल र वार्ताको माध्यमबाट समाधान खोज्नुपर्नेमा मधेसवादी दलहरू भारत गएर निकास खोज्नु गलत रहेको टिप्पणी गर्नुहुँदै उहाँले आन्तरिक समस्यामा भारतले कुनै हस्तक्षेप गर्न नहुने विचार व्यक्त गर्नुभयो ।
सत्तापक्ष र आन्दोलनरत दलहरूबीच बारम्बार वार्ता र संवाद भएकाले निकास निस्कने उहाँको भनाइ छ । लामो समयदेखि संविधान निर्माणमा लागिपरेको बताउँदै उहाँले क्षेत्र नं २ को विकास निर्माणमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । रासस












प्रतिक्रिया