२९ आश्विन २०८३, बिहिबार

सडकमा दुई अर्ब खेर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadak Bhatkaudaiकाठमाडौं, २३ असार । सरकारले एक वर्षअघि मात्र मैतिदेवी–सेतोपुल सडक कालोपत्रे गरेको थियो। तीन सय मिटर लामो उक्त सडकमा तीन करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो। अहिले त्यहाँ दायाँतर्फको दुईलेन खनेर खाल्डैखाल्डा बनाइएको छ।

मेलम्ची खानेपानी आयोजनाले खानेपानी पाइप बिछ्याउन कालोपत्रे सडक धमाधम खनेको हो। काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख श्याम खरेलले सडक र खानेपानीबीच समन्वय नहुँदा कालोपत्रेमा खर्च भएको तीन करोडमध्ये डेढ करोड त्यसै खेर गएको बताए। उनका अनुसार खनेको भाग फेरि कालोपत्रे गर्न झन्डै डेढ करोड लाग्छ।

यही हाल छ, धोबीखोला करिडोरको।

धोबीखोला करिडोरमा ग्राभेल सडक बनाउँदा सरकारी निकायबीच समन्वय अभावले ६३ करोड रुपैयाँ नाश भएको छ। करिडोरमा हालै मात्र ६३ करोड खर्चेर ग्राभेल गरिएको थियो। अहिले ढल बनाउन जम्मै भत्काउनुपर्ने भएको छ। केही ठाउँमा भत्काउने क्रम सुरु भइसक्यो।

यी दुई घटना सहरी विकासमा देखिएका बेथितिका उदाहरण हुन्।

उपत्यकामा हालै विस्तार गरिएका अधिकांश पक्की सडकमा निर्माण पूरा नहुँदै यस्ता बेथिति देखिन थालेका छन्। सरकारले काठमाडौं उपत्यकाको सडक विस्तार क्रममा करिब एक सय किलोमिटर कालोपत्रे गरिसकेको छ। यसका लागि आठ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ। तर, यति ठूलो रकम लगानी गरेर भर्खरै कालोपत्रे गरिएका ती सडक अब भत्किने भएका छन्।

मेलम्ची खानेपानीले काठमाडौं उपत्यकामा खानेपानी पाइप बिछ्याउनेबारे सरकारी निकायबीच बेलैमा समन्वय नहुँदा यस्तो स्थिति आएको हो। पाइप बिछ्याउन नयाँ सबै सडकको झन्डै २५ प्रतिशत चौडाइ भत्काउनुपर्नेछ।

मैतिदेवी–सेतोपुललगायत कतिपय सडक खण्डमा भत्काउने काम सुरु भइसकेको छ। यसले सडक निर्माणमा खर्च भएको ८ अर्बमध्ये २ अर्ब खेर जाने सडक विस्तार आयोजना प्रमुख खरेलले बताए।

‘अहिले निर्माण गरिएका सबै सडक मेलम्ची खानेपानीले पाइप बिछ्याउन भत्काउँदैछ,’ उनले आइतबार भने, ‘बल्लतल्ल निर्माण भएको सडक भत्काउँदा राज्यले खर्च गरेको रकमको २५ प्रतिशत खेर जाने देखिन्छ।’ नागरिक दैनिकबाट