काठमाडौं, २४ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका संसद चल्न दिने भएको छ ।
विहीबार अपराह्न सरकार र प्रतिपक्षी दल कांग्रेससँग भएको वार्तामा मोर्चाले संसद अवरुद्ध नगर्ने सहमति जनाएको हो । वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा संसद अवरुद्ध नगर्ने सहमति जनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘वार्तामा संसद खोल्ने विषयमा कुरा भयो । प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्राधिकरण गठन सम्बन्धि विधेयक अगाडि बढाऔं । संसद अवरुद्ध नगर्नुस्, जायज माग पुरा गर्न तयार छु भनेर आग्रह गर्नुभयो । हामीले प्राधिकरण गठन गर्नका लागि संसद अवरुद्ध नगर्ने सहमति जनायौं । हाम्रा ११ बुँदे मागबारे भोलीको बैठकमा विस्तृत छलफल हुन्छ ।’
उहाँले आजको संसद बैठकमा मोर्चाले अवरोध नगर्ने समेत बताउनुभयो । साँझ पाँच बजे संसद बैठक बस्दैछ । यसअघि मोर्चाको आजै बसेको बैठकले प्राधिकरण गठन सम्बन्धि विधेयक पास गर्न सहयोग गर्ने निर्णय गरेको थियो ।
आजको बैठकमा प्राधिकरण विधेयक पास भए भूकम्प पीडितहरुले जाडो छल्न आवास पाउनेछन् भने पुनर्निर्माणको काम फटाफट अगाडि बढ्नेछ ।













प्रतिक्रिया