२३ कार्तिक २०८३, सोमबार

मधेसका माग पूरा गराउन अब सुशील कोइरालाले नेतृत्व गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अब मधेसका माग पूरा गराउन आफूले अगुवाइ गर्ने बताउनुभएको छ । उहाँले कांग्रेसको नेतृत्वमा मधेसको समस्या समाधान हुने बताउनुभयो ।

नेपाली कांग्रेस खोटाङ क्षेत्र नं २ ले आज काठमाडौंमा आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीतिक सङ्कट समाधानमा कांग्रेसको भूमिका विषयक अन्तरक्रियाका साथै कोशलराज रेग्मी–जयबहादुर राई स्मृति पुस्तकालयको भवनमा सहयोग गर्ने दातालाई सम्मान कार्यक्रममा सभापति कोइरालाले वार्ता र संवादका माध्यमबाट तराईको समस्या समाधान हुने धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका कोइरालाले आफ्नो सरकारको पालामा बनेको संविधान कार्यान्वयन गर्न आफ्नो दल प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताका लागि नेपाली कांग्रेसले कसैसँग सम्झौता नगर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले संविधानले लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गरेको भन्दै समावेशी र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरिने बताउनुभयो । उहाँले पार्टीको आगामी महाधिवेशनले ६०/४० को भागबन्डा अन्त्य गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।

नेपाली कांग्रेसका कोषाध्यक्ष चित्रलेखा यादवले मधेसका मुद्दालाई समेट्न कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि राजनीतिक एकता आवश्यक रहेको औँल्याउँदै उहाँले भन्नुभयो, ‘बिना राष्ट्रिय एकता संविधान कार्यान्वयन हुन सक्दैन, राष्ट्रिय एकताबिना कुनै पनि निर्वाचन सम्भव छैन, त्यसैले मुलुकलाई अहिले राष्ट्रिय एकता आवश्यक छ ।’

कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले मुलुकमा भएका विभिन्न आन्दोलन नेपाली काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनका लागि पनि काँग्रेसको महत्वपूर्ण भूमिका हुने स्पष्ट पार्नुभयो । उहाँले देशलाई अगाडि बढाउने प्रमुख जिम्मा कांग्रेसको भएको बताउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले संविधान घोषणासँगै मुलुकमा चुनौती थपिएकाले ती चुनौतीको सामना गर्न कांग्रेस अग्रसर हुनुपर्ने बताउँदै हिमाल, पहाड र तराईका जनताको समान हकअधिकार कायम हुनेगरी संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका खोटाङ क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थ भट्टराईले नेपालको राष्ट्रियता हिमाल, पहाड र तराई भएकाले तराईको समस्या समाधान गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । रासस