जाजरकोट, २२ असार । जाजरकोट रग्दा गाविस वडा नं ३ घरङ्गाका रामबहादुर रसाइलीको चार जनाको परिवार जेठ पहिलो साता यार्सा खोज्न डोल्पाको सिसोल पुग्नुभएको थियो ।
पत्नी ललिता र दुई नाबालक छोरासहित जानुभएका उहाँ उल्टै रु ३० हजार ऋण बोकेर फर्केको बताउनुहुन्छ । सक्ला गाविस वडा नं ३ का डिल्लीबहादुर सिंह पनि डोल्पाको धो, ताक्सी लेकमा यार्सा नपाएर रु १५ हजार ऋण लागेर रित्तो हात फर्किएको दुखेसो छ ।
यस्तै, रुकुम विजयश्वरी गाविसका वडा नं ९ अम्लाटाकुराका मोहन सुनारको पाँच जनाको परिवार यार्सा नपाउँदा रु ५० हजार गुमाएर फर्केको भनाइ छ । जाजरकोटको पूर्वमा रहेको पैँक गाविस वडा नं २ थानवाडाका रामबहादुर र लालबहादुर सुनार, कालिका र मिनीका तिरुवा तथा ढिमे–९ का राधिका टमटा बिरामी अवस्थामा धौ धौ जीवन बचाएर फर्कनुभयो ।
डोल्पाको लेकमा यार्सा खोज्न गएका जिल्लाका आधा दर्जनले ज्यानै गुमाएका छन् । पैँक – ६ कफल्लाका १६ वर्षीय महेन्द्रबहादुर रोकाय, ढिमे–९ का ३० वर्षीय शेरबहादुर सिंह, रग्दा–४ का २७ वर्षीय नरबहादुर रोकाय, मनिसा विक, रोकायगाउँ–८ का टकबहादुर घर्ती, रमेश रोकायलगायतको मृत्यु भएको डिएसपी चक्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार घर्तीको लुटेराको धारिलो हतियार प्रहारबाट र अन्यको बिरामी तथा हिउँ पहिरोमा परेर मृत्यु भएको हो । डोल्पामा मृत्यु हुनेको सङ्ख्या १३ जना भए पनि अरूको नाम भने खुल्न सकेको छैन ।
दर्जनौँ बिरामीले डोल्पाको कागमारा लेकमा उपचार गर्ने रकमसमेत नपाएको बताएका छन् । यस वर्ष यार्सा खोज्न गएकालाई ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ भनेजस्तै भयो रामबहादुरले भन्नुभयो र कमाउन गएको त उल्टै ऋणको भारी बोकेर र मुस्किलले ज्यान जोगाएर आइयो । लेकबाट फर्केकाहरू अहिले पनि बिरामी नै रहेको उहाँले बताउनुभयो । उहाँहरूलाई टाउको, खुट्टा, छाती दुख्ने, ज्वरो आउने, आँखा पाक्ने र खोकी लाग्ने समस्या छ ।
सक्ला–४ सुवाकोटका धर्मराज थापा लुटपाटमा परेर बेखर्ची बन्नुभयो । यार्साबाट कमाएको रु ८० हजार डाँकाले लुटेको उहाँले बताउनुभयो । उहाँसहित दर्जनभन्दा बढी सङ्कलकले डोल्पाकै नाउर लेकमा यार्सा खोजेर कमाएको सबै गुमाएका हुन् । हतियारधारी समूहले उहाँहरूको रकम लुटेका छन् ।
उच्च हिमाली भेगमा यार्सा खोज्न गएका जाजरकोट र रुकुमका हजारौँ रित्तो हात फर्केका छन् । यार्सा नपाउँदा, पाएको पनि लुटिँदा र बिरामी पर्दा उल्टो ऋण लागेर रित्तो हात फर्कनुपरेको खगेनकोट–६ की हस्तबहादुर परियारले बताउनुभयो ।
















प्रतिक्रिया