३१ आश्विन २०८३, शनिबार

एमाले नेता कार्यकर्ता मधेसमा खटाउन भेलाले पार्टीको धारणा स्पष्ट पार्छ: सचिव भट्टराई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh Bhattaraiचितवन, २२ मङ्सिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले सौराहामा जारी विशेष कार्यकर्ता भेलाले मुलुकले भोगिरहेको वर्तमान समस्याका विषयमा पार्टीले आफ्नो धारणा प्रष्ट पार्दै दुई महिने अभियानको दिशानिर्देश गर्ने बताउनुभएको छ ।

तराई मधेस क्षेत्रमा समस्याहरु देखिएकाले सोही क्षेत्रका प्रतिनिधिहरु मार्फत सुझाव सङ्कलनका लागि कार्यकर्ता भेला आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यकर्ता भेलामा सहभागी भट्टराईले आज सौराहामा संक्षिप्त कुरा गर्दै भेलापछि एमालेले तराईमा २ महिने अभियान चलाउने र उक्त अभियानमा कार्यकर्ताले यही भेलाको निचोड बोकेर हिंड्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार तराईमा कुनै पनि पार्टीको गतिविधि नभएका बेला एमालेले अभियान चलाउँदा भ्रम समाधान हुने अपेक्षा गरिएको छ ।

आज अपरान्ह समूहगत छलफलपछि टोली नेताहरुबाट प्रतिवेदन पेश हुने र त्यसपछि वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतले उठेका कुराहरु जवाफ दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

त्यसलगत्तै कार्यपत्र प्रस्तुतकर्ताहरुको टिप्पणी आउने र अन्तिम बुँदामाथि छलफल गरेर करिव ६ बजेसम्ममा भेला सक्ने तयारी भैरहेको छ । भेलाको निष्कर्ष भोलि सार्वजनिक गरिने बताइएको छ ।

अहिले भेलाका सहभागीहरुले ९ समूहमा विभक्त भई चार वटा कार्यपत्र माथि छलफल गरिरहेका छन् । रासस