२३ कार्तिक २०८३, सोमबार

नेपालमै आएर गोली हानेको एसएसबीले वीरपुरमा ५२ नेपालीलाई नियन्त्रणमा लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

इटहरी, २२ मङ्सिर । पूर्वी नेपालका विभिन्न जिल्लाबाट रोजगारका लागि भारत जाने क्रममा सुनसरीको भन्टाबारी नाका हुँदै भारतको वीरपुर पुगेका ५२ नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ ।

उदयपुर, सप्तरी र दोलखा जिल्लाबाट वीरपुरस्थित भीमनगर पुगेका १९ महिला र ३३ पुरुषलाई एसएसबीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ । सो विषयमा सूचना प्राप्त भइसकेको जानकारी दिँदै सुनसरीका प्रजिअ रविलाल पन्थले एसएसबीले नेपालको प्रहरीलाई जिम्मा लगाएर यथार्थ बुझ्ने काम भइरहेको र ती नेपाली भारतीय भूमिमा नै रहेको बताउनुभयो ।

सुनसरीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाको टोली वीरपुरतर्फ प्रस्थान गरिसकेको छ । उनीहरु के कति कारणले भारतको भूमिमा पुगेका हुन् भन्ने कुराको सत्यतथ्य बुझेर उनीहरुलाई नेपाल ल्याउने वा छाडिदिने भन्ने कुराको छिनोफानो हुने बताइएको छ ।

एसएसबीले भने उनीहरुलाई मानव तस्करी गर्ने गिरोहले प्रलोभनमा पारेर बेचबिखनका लागि भारतीय भूमि ल्याएको हो कि भन्ने आशङ्कामा नियन्त्रणमा लिएको बताएको प्रजिअ पन्थले जानकारी दिनुभयो ।

यसअघि एसएसबीले नेपालमै आएर सुनसरीको भन्टाबारीमा चार नेपालीमाथि गोली हानेको थियो भने झापाको केचनामा हतियारसहित नेपाल प्रवेश गर्दा स्थानीयहरुले नियन्त्रणमा लिएका थिए । रासस