काठमाडौ, २२ मंसिर । नयाँ दिल्लीमा राजनीतिक भेटवार्ता गरिरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुले भारतीय विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।
झण्डै एक घण्टा भएको भेटवार्तामा आफूहरुले मधेस आन्दोलन र सरकारसँग भईरहेको बार्ताको विषयमा सबै कुरा राखेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।
महतोले आफूले नेपाल सरकार बार्तामा गंभिर नभएको र नेपालका परराष्ट्रमन्त्रीले प्रस्तुत गरेको तीन बुँदे प्रस्तावको औचित्य नभएको स्पष्ट पारेको बताए ।
उनले भने- ‘यो तीन बुँदे प्रस्तावले समस्या समाधान हुँदैन । त्यो प्रस्तावले बार्तालाई निष्कर्षमा पुर्याउँदैन । मधेसी मोर्चाले प्रस्तुत गरेको ११ बुँदेमा छलफल गरी सीमांकनसहित प्याकेजमा सम्बोधन गर्नुपर्छ । विगतमा भएको आठ बुँदे सहमति र राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन अनुसार हुनुपर्छ ।’
भेटमा विदेश सचिव जयशंकरले आफूहरु संबाद, सहकार्यको पक्षमा रहेको स्पष्ट पार्दै नाकाबन्दी भारतले नगरेको र भारतले नै मधेस आन्दोलन र नाका केन्द्रीत आन्दोलनलाई सहयोग गरेको भन्ने कुरा गलत भएको बताएको नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले जानकारी दिए ।
धमलाका अनुसार विदेशसचिवले भारतले नाकाबन्दी गर्ने कुरा कहिल्यै पनि सोच्न नसक्ने भन्दै मधेसको अधिकार प्राप्तिको आन्दोलनमा सद्भाव ब्यक्त गरेका थिए ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोर्चाका नेताहरुसँग भेटवार्ता गर्न समय दिएका छैनन् । आज भेट्ने सम्भावना रहेको भनिएपनि अहिलेसम्म मोदीले समय दिएनन् । बुधबार मात्रै मोदीले मोर्चाका नेताहरुसँग भेट्न सक्ने बताइएको छ ।













प्रतिक्रिया