काठमाडौं, २१ मंसिर । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मधेस आन्दोलनलाई सम्बोधन गर्न तीन दलले तयार पारेको साझा धारणा भारतलाई जानकारी गराइएको बताउनुभएको छ ।
बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै उहाँले प्रतिपक्षी कांग्रेस, सत्तारुढ दल नेकपा एमाले र एमाओवादीबीच भएको तीन बुँदे साझा धारणाबारे सरकारले भारतलाई जानकारी गराएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘तीन बुँदे साझा धारणाबारे जानकारी गरायौं । सकारात्मक पायौं । मधेस आन्दोलन सम्बोधन हुने र भारतसँगको सम्बन्ध सुधारमा समेत सहयोग पुग्ने प्रतिक्रिया भारतले दियो ।’
उहाँले आफूले भारत भ्रमणका क्रममा दिल्लीमा कुनै लिखित मौखिक सहमति नगरेको दाबी गर्नुभयो । यसअघि परराष्ट्रमन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग चारबुँदे लिखित समझदारी गरेको समाचार प्रकाशित भएको थियो ।
उहाँले मधेस आन्दोलनको समाधान तीन दलकै साझा धारणाले हुने बताउनुभयो ।












प्रतिक्रिया