काठमाडौं, २० मंसिर । मधेसी मोर्चासँगको शनिबार मध्यराति सक्किएको वार्तामा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनु भएन । अध्यक्ष दाहाल आफू नआइ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पठाउनु भएको थियो ।
शनिबार साँझ साढे सात बजेदेखि सुरु भएको वार्तामा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा मधेसी मोर्चाका नेताहरूको सहभागिता थियो ।
बैठकमा तोकिएको समयमा पुगेका मधेसी मोर्चाका नेताहरूले एकीकृत माओवादीका नेताहरूलाई नदेखेपछि आश्चर्य व्यक्त गरेका थिए ।
सत्तारुढ दलहरूले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् वार्ताका लागि पहल गरिरहनुभएका दाहाल नआएको विषयमा मधेसी मोर्चा सशंकित देखिएको छ ।
दाहाललाई बैठकमा नदेखेपछि मधेसी मोर्चाका नेताहरूले एमाओवादीका नेताहरू खोइ भनेर प्रश्न गरेका थिए । तर केही ढिला बैठकमा पुग्नु भएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष दहाल बिरामी भएकाले आउन नसकेको भनेर जवाफ दिनुभएको थियो । अध्यक्ष दाहाल बिरामी भएको बताए पनि के बिरामी हुनुभएको केही जानकारी दिइएको छैन ।
उपाध्यक्ष श्रेष्ठको जवाफपछि मधेसी मोर्चाका नेताहरूले वार्ताप्रति आशंका जनाएको स्रोतको भनाइ छ ।
वार्तामा प्रधानमन्त्री ओलीले तीन दलले बनाएको साझा धारणा प्रस्तुत गर्नुभएको थियो । ओलीले साझा धारणा राख्दै नाकाबन्दी र आन्दोलनको कार्यक्रम फिर्ता लिन मधेसी मोर्चासँग आग्रह गर्नुभएको स्रोतको भनाइ छ ।
यद्यपि, प्रधानमन्त्रीको आग्रहलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठाडै अस्वीकार गरिदिनुभएको थियो ।
उहाँले आफूहरूले अघि सारेका ११ बुँदे मागका विषयमा सरकारी धारणा नआएको भन्दै नाकाबन्दी र आन्दोलनका कार्यक्रम फिर्ता नहुने जवाफ दिनुभएको थियो ।
‘तपाईहरू सधैँ वार्तामा नाकाबन्दी र आन्दोलन फिर्ता लिनुस् भन्नुहुन्छ’, वार्ताका क्रममा प्रधानमन्त्री ओलीलाई जवाफ दिँदै अध्यक्ष यादवले भन्नुभयो, ‘हाम्रा मागप्रति कुनै सुनुवाई हुँदैन । वार्ताका लागि प्रारम्भीक सर्त पनि पूरा गरिँदैन ? कसरी आन्दोलन फिर्ता लिने ?’
मधेसी मोर्चाका नेताहरूले बैठकमा ११ बुँदे माग र त्यसमा रहेको सीमाङ्कनको विषयलाई उदारोमा सहमति गर्न नसकिने जनाएका थिए ।
बैठकमा एमालेका केही वरिष्ठ नेताहरूले संघीयता खारेज गर्नुपर्छ भनेर सार्वजनिक रुपमा दिएका अभिव्यक्तिको पनि मधेसी मोर्चाका नेतासमेत रहनुभएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले आपत्ति जनाउनुभएको थियो । यादवको अपात्ति पछि एमालेका नेताहरूले सम्वेदनशील विषयमा जथाभावी नबोल्ने आश्वासन दिएका थिए ।
एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा संघीयता नफापेको भन्दै खारेज गर्न केही सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता दिनुभएको थियो ।












प्रतिक्रिया